च्याम्पियनसिपको फाइनलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै, खेलभन्दा प्रतियोगिताको ढाँचाबारे चर्चा
काठमाडौँ — लर्डसमा अहिले विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको फाइनल भइरहेको छ । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र दक्षिण अफ्रिका उपाधिका लागि भिड्दै छन् । तर, सबैको ध्यान खेलमा भन्दा प्रतियोगिताको ढाँचाको आलोचना गर्नमा बितिरहेको छ ।
विजडनलाई क्रिकेटको बाइबल मानिन्छ । यसैका सम्पादक लरेन्स बुथले प्रतियोगिताको चर्को आलोचनामात्र गरेका छैनन्, यो प्रतियोगिताको स्वरुप नै गलत भएको आरोप लगाएका छन् ।
उनका अनुसार प्रतियोगिताको आयोजना जसरी भएको छ, त्यसमा गम्भीर त्रुटि मात्रै छ । इंग्ल्यान्डका पूर्वकप्तान माइकल आर्थटनलाई पनि प्रतियोगिताको स्वरूपमा चित्त बुझेको छैन । उनले यसको व्याख्या गर्न प्रयोग गरेको शब्द हो, झुट प्रतिस्पर्धा । विश्व क्रिकेटको अहिलेको सबैभन्दा ठूलो समस्या भन्नु नै भारत र पाकिस्तानबीचको राजनीतिक तनाव र खराब सम्बन्ध रहेको छ । यसकै गम्भीर असर टेस्ट क्रिकेटमा पनि परिरहेको छ ।
विश्व क्रिकेटका दुई ठूला देश भारत र पाकिस्तानले सन् २००७ यता एकअर्काविरुद्ध टेस्ट क्रिकेट खेलेका छैनन् । टेस्ट खेल्ने ९ टिममध्ये प्रतियोगिताको फाइनल प्रवेशका लागि सबैले सबैसँग खेल्नुपर्ने नियम नै छैन । त्यतिमात्र नभएर सबैले टिमले समान खेल खेल्नुपर्ने नियम त झन छँदै छैन । नत्र लिग चरणको सबैभन्दा ठूलो नियम भनेकै सबैले सबैसँग खेल्नुमात्र होइन, सबैले समान संख्याको खेल खेल्नुपर्ने पनि हुन्छ ।
सहभागी हुने देशलाई के छुट दिएको छ भने प्रतियोगिताको दुई वर्ष लामो चक्रमा कसले कति संख्यामा टेस्ट खेल्ने हो, त्यो उसैले निर्धारण गरे हुन्छ । विजडनका सम्पादक मान्छन्, यो दुई वर्षको चक्र नै ठीक छैन । हुनुपर्ने त चार वर्षको चक्र हो । यतिबेलासम्म अंकतालिकाको शीर्ष दुईमा रहने टिमबीच फाइनल खेलाउनु ठीक हुनेछ । अझ उनी यो चार वर्षको चक्रमा प्रत्येक टिमले अर्को टिमसँग घर र बाहिर समान संख्यामा खेल्नुपर्ने मान्छन् ।
अझ यस्तो सिरिज कम्तीमा तीन वटा हुनुपर्ने उनको तर्क छ । अहिले भने फाइनल पुग्ने दुई टिमको निर्णयका लागि प्रतिशतको आधार लिइने गरिन्छ, जसमा कसले कति प्रतिशत अंक जितबाट प्राप्त गर्यो भन्ने हुन्छ । अहिलेको चक्रमा फाइनल पुगेको दक्षिण अफ्रिकाले १२ टेस्ट मात्रै खेलेको छ । त्यो पनि सबै दुई टेस्टको सिरिज मात्रै ।
इंग्ल्यान्डले भने यसबीच २२ टेस्ट खेलेको छ । अझ रमाइलो के छ भने दक्षिण अफ्रिकाले यसबीचको समयमा न अस्ट्रेलियाविरुद्ध खेल्नुपरेको छ न त इंग्ल्यान्डविरुद्ध । सबैभन्दा ठूलो समस्या त सन् २०२४ मा न्युजिल्यान्डमा टेस्ट खेल्न निस्केको दक्षिण अफ्रिकी टिमलाई लिएर छ । त्यतिबेला दक्षिण अफ्रिकाले आफ्नो दोस्रो रोजाइका खेलाडीलाई न्युजिल्यान्ड पठाएको थियो । त्यो सिरिजमा टोलीले नराम्रो हार पनि बेहोर्यो ।
त्यतिबेला दक्षिण अफ्रिकामा आफ्नै अलग ट्वान्टी–२० क्रिकेट प्रतियोगिता चलिरहेको थियो । टोलीका सबै राम्रा खेलाडी त्यसमै व्यस्त थिए । दक्षिण अफ्रिकाले टेस्ट क्रिकेटलाई भन्दा ट्वान्टी–२० क्रिकेटबाट पाउने आर्थिक लोभमै बढी जोड दिएको थियो । खासमा दक्षिण अफ्रिकाले सन् २०२५/०२६ का लागि घरमा कुनै टेस्ट सिरिज नै राखेको छैन । यसपल्टको फाइनल पुग्न दक्षिण अफ्रिकाले लगातार ६ टेस्ट भने जितेको थियो ।
दक्षिण अफ्रिकाले सामना गरेका प्रतिद्वन्द्वी टिम सबै कमजोर भएको मान्छन्, आर्थटन । यसलाई पनि आर्थटन ठूलो महत्त्व दिन चाहँदैनन् । उनी भन्छन्, दक्षिण अफ्रिकाले यो जितको शृंखलामा गर्व नगरे हुन्छ । यसमा दक्षिण अफ्रिकी प्रशिक्षक सुक्री कोनार्ड भने विमति राख्छन् । उनका अनुसार दक्षिण अफ्रिकाले तिनै टिमलाई हराएको हो । जसले भारत, अस्ट्रेलिया र इंग्ल्यान्ड जस्ता ठूलो टिमलाई हराएको थियो ।
कोनार्ड भन्छन्, ‘वेस्ट इन्डिजले अस्ट्रेलियालाई उसकै घरमा हराएको हो । यस्तोमा वेस्ट इन्डिजलाई कमजोर टिम मान्नुहुन्न । न्युजिल्यान्डले पनि भारतलाई उसकै भूमिमा पराजित गरेको थियो । मलाई लाग्छ, न्युजिल्यान्ड पनि कमजोर टिम होइन । श्रीलंकाले इंग्ल्यान्ड र न्युजिल्यान्डविरुद्धको सिरिज जितेको थियो । अब श्रीलंकालाई पनि त कमजोर मान्न सकिन्न होला ।’
सेतो बलको क्रिकेटमा राम्रो गर्न नसकेको दक्षिण अफ्रिकाको फाइनल पुगेपछि आलोचना भएको थियो । कोनार्डले यसकै उत्तरमा भनेका थिए, ‘हामी जसरी फाइनल पुगेका छौं, त्यसलाई लिएर मैले कहिले पनि माफी माग्ने छैन । मेरो विचारमा फाइनल पुग्ने भनेको दक्षिण अफ्रिकी क्रिकेटकै लागि सबैभन्दा ठूलो उपलब्धि हो । यसको श्रेय दक्षिण अफ्रिकी टिमलाई दिनुपर्छ ।’
विश्व क्रिकेटमा निकै नजिकबाट संलग्न केहीले भने आफ्नो नाम नबताउने सर्तमा एएफपीलाई भनेका छन्, ‘अहिलेको स्थितिमा यो नै ठीक उपाय भन्ने नै छैन ।’ स्रोतको भनाइ थियो, ‘अहिले जसरी भारत र पाकिस्तानबीच समस्या चलिरहेको छ, त्यसको पृष्ठभूमिमा टिकेर केही पनि गर्न सकिन्न । यो स्थितिमा सबैलाई खुसी पार्न सकिने उपाय नै हुन्न । त्यस्तै विश्व क्रिकेटमा तीन ठूला टिमको एक आपसविरुद्ध पाँच टेस्टको सिरिज खेल्ने योजनाले धेरै गाह्रो हुने गर्छ । यी यस्ता टेस्ट सिरिज हुन्, जसले उनीहरूलाई अत्यधिक आर्थिक लाभ हुने गर्छ । यो तथ्य नकार्न सकिन्न ।’
यी तीन ठूला टिम भनेको भारत, इंग्ल्यान्ड र अस्ट्रेलिया नै हुन् । इंग्ल्यान्डका कप्तान बेन स्टोकलाई आफ्नो टिम फाइनल नपुगेकामा पनि उत्तिकै गुनासो छ । उनी विश्व टेस्ट च्याम्पिनसिपलाई उत्तिकै अन्योलपूर्ण मान्छन् ।
आफ्नो टिम फाइनल पुग्न नसकेकालाई पूर्णतः अस्वीकार्य स्थिति मान्छन् । इंग्ल्यान्डविरुद्ध सुनाइएको ओभर–रेट पेनाल्टीको निर्णयकै कारण आफ्नो फाइनल यात्रा कमजोर बनेको थियो ।
सन् २०२१ र २०२३ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारत पुगेको थियो । तर दुवै अवसरमा पराजित रह्यो । विश्व क्रिकेटको सबैभन्दा ठूलो आर्थिक शक्ति रहेको भारतले कम्तीमा टेस्ट र ट्वान्टी–२० क्रिकेटलाई उत्तिकै महत्त्व दिएको छ । ट्वान्टी–२० क्रिकेटबाट मनग्य कमाइ गरेता पनि भारतले लामो ढाँचाको पारम्परिक क्रिकेटलाई बेवास्ता गरेको छैन । इंग्ल्यान्ड र अस्ट्रेलियामा पनि टेस्ट क्रिकेट उत्तिकै लोकप्रिय छ ।
भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा अहिलेको विश्व क्रिकेटका सबैभन्दा ठूलो नाम विराट कोहलीले रोयल च्यालेन्जर्स बेंगलुरुका लागि इन्डियन प्रिमियर लिग उपाधि जितेयता भनेका थिए, ‘विश्व क्रिकेटमा सम्मान कमाउनु छ भने टेस्ट क्रिकेटलाई बढी महत्त्व र सम्मान दिनु । टेस्ट क्रिकेटमा सक्दो राम्रो खेल्न प्रयास गर्नु ।’ प्रश्न यही हो, के कोहलीले भनेजस्तै विश्व क्रिकेटले टेस्ट क्रिकेटलाई न्याय गर्न सकिरहेको छ त ?
