राष्ट्रपति रनिङ शिल्ड : ताप्लेजुङलाई पहिलो पटक रजत पदक

जेष्ठ ३१, २०८२

आनन्द गौतम

President's Running Shield: First silver medal for Taplejung

ताप्लेजुङ — १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको रजत पदकको उपाधि महेन्द्र मावि फाकुम्वाका विद्यार्थी अमिर लिम्बूले जितेका छन् । राष्ट्रपति रनिङ शिल्डमा जिल्लाले रजत पदक पहिलो पटक जितेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । एउटा स्वर्ण र दुई कांस्य भने यसअघि नै जितेको थियो ।

मैवाखोला गाउँपालिका-५ फाकुम्वाका अमिरले एथलेटिक्सतर्फ तीन हजार मिटर दौडमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै रजत पदक (दोस्रो स्थान) हात पारेका हुन् ।

उनले प्रतिस्पर्धीलाई तीन सेकेन्डले उछिनेका थिए । यसअघि प्रतियोगितामा सहभागी भएर आठराई त्रिवेणी गाउँपालिका-५ चागे नेसुम की चन्द्रकला लाम्गादेले पहिलो उपाधि स्वर्ण पदक जितेकी थिइन् । उनले ज्याब्लीन थ्रो र सर्टफुटमा जिल्लाबाट प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितामा पुगेर उपाध जितेकी थिइन् । लाम्गादेले सार्क र एसियन खेल पनि खेलिन् । हाल नेपाल प्रहरीमा कार्यरत उनले जिल्लामा भित्र्याएको यो पहिलो पदक थियो ।

मेरिङदेन गाउँपालिका-४ थुकिम्बाका निरज केदेमले ज्याब्लीन थ्रो र फक्ताङलुङ गाउँपालिका-३ लिंखिमका मिथुन लिम्बूले सर्टफुटमा यसअघि कांस्य पदक (तेश्रो) उपाधि हासिल गरेका थिए । अमिरले भित्र्याएको रजत पदकसँगै ताप्लेजुङले स्वर्ण, रजत र कांस्य तिनै पदक भित्र्याएको जिल्ला खेलकुद विकास समितिका अधिकृत यज्ञनिधि पौडेल बताउँछन्  । मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय वनेमले खेलकुदमा गरेको लगानीको उपलब्धि यस वर्षको रजतमा प्राप्त भएको बताए । यसवर्षको प्रतियोगिता मैवाखोला गाउँपालिकामा भएको थियो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश माबो केही दिनको तयारी गर्न पाएको भए स्वर्णको आस गर्न सकिनेमा थकथकी लागेको बताउँछन् । यस पटकको प्रतियोगितामा कोशी प्रदेश स्वर्ण पदकविहीन भयो भने समग्रमा सातौं तथा अन्तिम प्रदेश बन्यो । वर्षौंपछि आएको रजत पदकले आफूहरूलाई हर्षित बनाएको र पहिलो खुसी मैवाखोला गाउँपालिका अध्यक्ष वनेमसँग साटेको गणेश बताउँछन् । यस वर्षको प्रदेश स्तरीय प्रतियोगितामा जर्सीको व्यवस्थापनि मैवाखोला गाउँपालिकाले गरिदिएको थियो ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully