प्रचण्ड कप महिला भलिबलको फाइनलमा पुलिस र एपीएफ भिड्ने

जेष्ठ ३०, २०८२

दीपक परियार

Police and APF clash in Prachanda Cup women's volleyball final

पोखरा — प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार पोखरा रंगशालास्थित कभर्डहलमा भएको दुई सेमिफाइनल खेलमा दुबै टोलीले आफ्ना प्रतिस्पर्धीलाई सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पाखा लगायो । खेलको सुरुआतमा केही प्रतिस्पर्धा देखिए पनि एभरेस्टले पुलिसलाई खासै चुनौती दिन सकेन । पहिलो सेटमा एक समय एभरेस्ट १०–९ को अग्रता लिन सफल भए पनि पुलिसले सेट २५–१६ ले जित्यो । दोस्रो सेटमा एभरेस्ट अझ कमजोर देखियो र १३-२५ ले सेट गुमायो । अन्तिम सेटमा पनि पुलिसको एकल दबदबा रह्यो र २५–११ को नतिजासहित सजिलै फाइनलमा स्थान बनायो ।

दोस्रो सेमिफाइनलमा एपीएफ क्लबले न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबलाई पनि ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गर्‍यो । एपीएफले पहिलो सेट २५–१७ ले सहजै जितेको थियो । दोस्रो सेटमा न्यु डायमन्डले प्रतिस्पर्धा गरे पनि एपीएफले २६–२४ ले बाजी मार्‍यो । तेस्रो तथा अन्तिम सेटमा भने एपीएफले न्यु डायमन्डलाई कुनै मौका नदिई २५–१९ ले सेट जित्दै उपाधि भिडन्त पक्का गर्‍यो ।

न्यु डायमन्डले समूह चरणमा गण्डकी प्रदेश र एभरेस्ट क्लबलाई सोझो सेटमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो । तर निर्णायक खेलमा आफ्नो लय दोहोर्‍याउन नसक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

अब उपाधिका लागि शनिबार पुलिस र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully