ओलम्पिक डे-२०२५ तीन दिन मनाइने

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

Olympic Day-2025 will be celebrated for three days

काठमाडौँ — नेपाल ओलम्पिक कमिटी र यससँग आवद्ध विभिन्न संघको आयोजनामा तीन दिन ओलम्पिक डे २०२५ मनाइने भएको छ ।

कमिटीका उपाध्यक्ष तथा ओलम्पिक डे आयोजक समितिका प्रमुख अशोकरत्न वज्राचार्यको अध्यक्षतामा शुक्रबार बसेको बैठकले विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।

त्यसअनुसार जुन २१ देखि २३ सम्म तीन दिन विभिन्न कार्यक्रम आयोजना गरेर ओलम्पिक डे मनाइने भएको हो । बैठकमा विभिन्न खेल संघले आफूले आयोजना गर्ने कार्यक्रम पनि प्रस्तुत गरेका थिए । बैठकमा प्याब्सन र एन–पाब्सनका प्रतिनिधिको पनि उपस्थिति थियो । यी दुई संस्थाले पनि ओलम्पिक डेको अवसरमा विभिन्न कार्यक्रम गर्नेछन् ।

कमिटीको तयारी बैठकमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठको पनि उपस्थिति थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले जुन २३ लाई ओलम्पिक डे मनाउने घोषणा गरे अनुसार विश्वभरी त्यस अवसरमा विभिन्न कार्यक्रम हुने गरेको छ । नेपालमा सन् २०११ देखि ओलम्पिक डे मनाउँदै आएको छ ।

कान्तिपुर

Link copied successfully