काठमाडौँ — अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलको दोस्रो दिन बिहीबार २ सय १८ रनको अग्रता लिएको छ र यो निर्णायक साबित हुन सक्नेछ । दोस्रो दिनको समाप्तिमा अस्ट्रेलियाले आफ्नो दोस्रो इनिङ्स सुरु गर्दै आठ विकेटमा १ सय ४४ रन बनाएको छ ।
त्यसमा नथान लियोन एक र मिचेल स्टार्क १६ रन बनाएर खेलिरहेका छन् । स्टार्कले एलेक्स क्यारीसँग मिलेर आठौं विकेटका लागि महत्त्वपूर्ण ६१ रनको साझेदारी गरे । क्यारीले ४३ रन जोडे । त्यस अगाडि दक्षिण अफ्रिका आफ्नो पहिलो इनिङ्समा १ सय ३८ रनमै रोकिएको थियो ।
प्याट कमिन्सले २८ रनमा छ विकेट लिएपछि दक्षिण अफ्रिका सस्तोमै समेटिएको थियो । डेविड बोडिनघमले ४५ र टेम्बा बभुमाले ३६ रन बनाए । बलर हाबी रहेको खेलमा दुई टिमभित्र अविश्वसनीय ढंगले २८ विकेट खसेका छन् । अस्ट्रेलियाले पहिलो इनिङ्समा २ सय १२ रन बनाएको थियो ।
