राष्ट्रपति पौडेलले गरे राष्ट्रपति रनिङ सिल्डको उद्घाटन

जेष्ठ २८, २०८२

कान्तिपुर संवाददाता

President Paudel inaugurated the Presidential Running Shield

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले दशरथ रंगशालामा बुधबार १५ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदको उद्घाटन गरेका छन् ।

राष्ट्रपति पौडेलले ओलम्पियन जुडोकी देवु थापालाई ओलम्पिक टर्च हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका हुन् । देवु पछि पालैपालो ओलम्पियनहरू भारोत्तोलनका कमलबहादुर अधिकारी, एथलेटिक्सकी सरस्वती चौधरी र पारा तेक्वान्दोका भरतसिंह महताले ओलम्पिक टर्च बोकेर ट्र्याकमा परिक्रमा गरेका थिए ।

राष्ट्रपति पौडेलले खेलकुदको माध्यमबाट खेलाडी उत्पादनको राम्रो माध्यम नै विद्यालय तहबाट खेलाडी छनोट रहेकाले यो प्रतियोगिता धेरै महत्वपूर्ण रहेको बताए । उनले एक असल नागरिक बनाउन खेलकुदले ठूलो मदत गर्ने बताउँदै साहसिक खेलकुदका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेकाले राज्यले लगानी बढाउनुपर्नेमा जोड दिएका थिए ।

उद्घाटनमा सातै प्रदेशका टिम, निर्णायक, विभिन्न भेषभूषा, कला र संस्कृति झल्कने पहिरनसँगै मार्चमास गरिएको थियो । सुदूरपश्चिम प्रदेशकी कबड्डी खेलाडी सृष्टि केसीले खेलाडी र कराते प्रकाशमोहन धौभडेलले निर्णायकको तर्फबाट शपथ लिएका थिए ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रपति रनिङ सिल्ड खेलकुद विद्यालय तहबाट नै खेलाडीलाई प्रोत्साहित गर्ने महत्त्वपूर्ण माध्यम भएकाले यसलाई अझै परिस्कृत रूपमा विकसित आयोजना गरिने बताए ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले ७ सय ५३ वटै स्थानीय तहबाट खेलाडी छनोट गरेर प्रतिभावान खेलाडी उत्पादनको माध्यमका रुपमा राष्ट्रपति रनिङ सिल्ड सुरु भएको बताए । घिसिङको कार्यकालमा यो चौथो राष्ट्रपति रनिङ सिल्ड हो । १२ औं संस्करणदेखि नियमित राष्ट्रपति रनिङ सिल्ड हुँदै आएको छ ।

सात प्रदेशबाट छनोट भएर आएका ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल समावेश छ । प्रतियोगिता शुक्रबारसम्म जारी रहने छ ।

प्रवीण र संगीताको कीर्तिमान

बागमतीका प्रवीण राना मगर र सुदूरपश्चिमकी संगीता बिकले एथलेटिक्समा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । प्रवीणले छात्र १०० मिटर दौड र संगीताले छात्रा ४०० मिटर दौडमा कीर्तिमान बनाए । कीर्तिमाववापत दुवैले १० हजार पुरस्कार पाउनेछन् ।

दशरथ रंगशालामा प्रवीणले निर्धारित दूरी १०.७६ सेकेन्डबाट कीर्तिमानी स्वर्ण जिते । यसअघि आशिष चौधरीको नाममा १०.९० सेकेन्डको कीर्तिमान थियो । उनले त्यो कीर्तिमान २०७० सालमा बनाएका थिए । कोशीका सुजन मण्डल दोस्रो र लुम्बिनीका शुभम बमरेल तेस्रो भए ।

President Paudel inaugurated the Presidential Running Shield

संगीताले निर्धारित दूरी १ मिनेट ०१.१९ सेकेन्डमा पूरा गरी स्वर्ण जितिन् । संगीताले २०७६ सालमा अरुणा रिजालले स्थापित गरेको १ मिनेट ०१.३० सेकेन्डको कीर्तिमान तोडेकी हुन् । बागमतीकी अनिशा थारु दोस्रो र कर्णालीकी कृष्णा राना तेस्रो बने ।

छात्रा १०० मिटर दौडमा बागमतीकी दिना गोपाली विजेता भइन् । दिनाले १२.८१ सेकेन्ड लगाइन् । लुम्बिनीकी आरुशी भट्टराई दोस्रो र गण्डकी प्रदेशकी अनुष्का अधिकारी तेस्रो भए ।

छात्र ४०० मिटर दौडमा कर्णालीका धीरेन्द्र बिकले स्वर्ण जिते । उनले ५१.८९ सेकेन्ड खर्चे । गण्डकीका प्रकाश महतोले रजत र सुदूरपश्चिमका विक्रम विष्टले कांस्य जिते ।

छात्र हाइजम्पमा बागमतीका अविनाश सुनार पहिलो भए । उनले १.६८ मिटर जम्प गरे । सुदूरपश्चिमका उज्ज्वलकुमार बिक दोस्रो र गण्डकीका विवेक महतो तेस्रो स्थानमा रहे । छात्रामा १.३८ मिटर जम्प गर्दै सुदूरपश्चिमकी सुस्मिता चौधरी पहिलो भइन् । गण्डकीकी सविता खातुन मिया दोस्रो र कर्णालीकी हीरा बुढा तेस्रो बने ।

सटपुटको छात्रमा सुदूरपश्चिमका विवेक चौधरी पहिलो भए । उनले १३.६१ मिटर टाढा फाले । लुम्बिनीका राजन भण्डारी दोस्रो र कर्णालीका केशव विक तेस्रो भए । छात्रामा बागमतीकी एलिना बिकले ८.६९ मिटर टाढा फाल्दै स्वर्ण जितिन् । सुदूरपश्चिमकी पूजा साउदले रजत र लुम्बिनीकी सम्झना चौधरीले कांस्य जिते ।

छात्रा १५ सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी पहिलो भइन् । नारायणीले ५ मिनेट ०३.९ सेकेन्डमा दूरी तय गरिन् । बागमतीकी भगवती खड्का दोस्रो र सुदूरपश्चिमकी देवकी धामी तेस्रो भए ।

कान्तिपुर

Link copied successfully