पदकधारी खेलाडी निश्चल र उमेश सम्मानित

जेष्ठ २७, २०८२

कान्तिपुर संवाददाता

Medalist players Nischal and Umesh honored

काठमाडौँ — मार्सल आर्ट्स अर्गनाइजेसन नेपालले अन्तर्राष्ट्रिय पदक विजेता निश्चल तामाङ र उमेश महर्जनलाई मंगलबार नगदसहित सम्मान गरेको छ । मार्सल आर्ट अर्गनाइजेसन नेपालको निमन्त्रणमा सेल्फ डिफेन्स प्रशिक्षण दिन नेपाल आएका जर्मनीका प्रशिक्षक ग्रान्ड मास्टर हान्स होहन, मास्टर जोर्ग टिम र क्याथ्रिना श्रेङको बिदाइ कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल र एनआरएनएका सल्लाहकार देवकाजी डंगोलले दुवैलाई जनही १ सय अमेरिकी डलर र प्रशंसापत्र प्रदान गरे ।

निश्चलले सिक्किममा भएको उसु प्रो फाइटमा स्वर्ण र  उमेशले इन्डोनेसियामा भएको भोभीनाम च्याम्पियनसिपमा कांस्य जितेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्बाट उमेर हदका कारण अवकाश पाएका उसु प्रशिक्षक रामगोपाल महर्जनलाई पनि सम्मान गरिएको थियो ।

एक साता नेपाल बसाइ क्रममा जर्मनीका प्रशिक्षकले नेपालका विभिन्न उसु क्वानमा सञ्चालन गरेको सेल्फ डिफेन्स प्रशिक्षणमा करिब १ सय ६५ प्रशिक्षार्थीले भाग लिएको मार्सल आर्ट्स आर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले जनाए ।

जर्मनीका प्रशिक्षक हान्सले आफूले अनुगमन र प्रशिक्षण गराएका उसु र कुङफु क्वानका रमेश सुवाल (बाल विकास स्कुल), नीराजन आले मगर (निन्जा उसु क्वान), विशाल सिन्जाली (बुद्ध प्रकाश उसु क्वान), सुकमान लामा –बूढानीलकण्ठ कुङफु क्वान), राजु नेपाली (स्वयम्भू कुङफु क्वान), विश्वनाथ पाठक (बागमती प्रदेश उसु प्रशिक्षक, हेटौंडा) र राम बम्जन (क्योकुसिन कराते प्रशिक्षक) लाई क्लबको लोगो अंकित मायाको चिनो प्रदान गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully