कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्डबाट ताप्लेजुङका चार खेलाडि राष्ट्रिय प्रतियोगिताका लागि छानिए 

एक स्वर्णसहित ताप्लेजुङले भित्र्यायो ११ पदक, भोलिदेखि ३० गतेसम्म काठमाडौंमा राष्ट्रिय प्रतियोगिता हुने

जेष्ठ २७, २०८२

आनन्द गौतम

Four players from Taplejung were selected for the national tournament from the Koshi state level president's running shield

ताप्लेजुङ — विराटनगरमा सम्पन्न कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताबाट ताप्लेजुङका चार खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् । 

जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अनुसार एथलेटिक्स तर्फको तीन हजार मिटर र आठ सय मिटर दौड तथा कबड्डी र भलिबल प्रतियोगिताका लागि छनोट भएका हुन् ।

छनोट हुनेमा मैवाखोला गाउँपालिकाका दुई, फुङलिङ नगरपालिका र मेरिङदेन गाउँपालिकाका एक एकजना खेलाडी रहेको जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्र मावो गणेशले जानकारी दिए ।

मावोका अनुसार तीन हजार मिटर दौडमा मैवाखोलाका समिरले कोशी प्रदेश स्तरीय प्रतियोगितामा स्वर्ण जिते भने उनै समिरले १५ सय मिटरमा भने रजत पदकमा चिक्त बुझाउनुपर्‍यो । राष्ट्रिय प्रतियोगिताको  तीन हजार मिटर दौडका लागि उनी कोशी प्रदेशबाट छनोट भए । 

कवड्डी प्रतियोगिताका लागि पनि मैवाखोलाकै मनिता तामाङ राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएकी छन् । आठसय र चार सय मिटर गरी दुई विधामा रजत पदक जितेका फुङलिङ नगरपालिकाका सविन विश्वकर्मा पनि राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् । 

उनले राष्ट्रिय प्रतियोगितामा एउटा विधावाट प्रतिस्पर्धा गर्न सक्ने अध्यक्ष मावो बताउँछन् । भलिबल प्रतियोगिताका लागि मेरिङदेन गाउपालिकाका कैलाश लिम्बू छनोट भएका छन् । 

कैलाश लिब्रो खेलाडी हुन् । राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका खेलाडीलाई विराटनगरबाटै काठमाडौं पठाइएको र बाँकी खेलाडी जिल्ला फर्किएको जिल्ला खेलकुद विकास समितिका अधिकृत यज्ञनिधि पौडेल बताउँछन् । राष्ट्रिय प्रतियोगिता जेठ २८ देखि ३० गतेसम्म काठमाण्डौंमा हुँदै छ ।

छ वटा विधामा प्रतिस्पर्धा गरेको ताप्लेजुङले एक स्वर्ण, छ रजत र चार कास्यसहित ११ पदक जितेर फर्किएको छ । अध्यक्ष मावोका अनुसार एथलेटिक्स तर्फको स्वर्ण समिरले जितेका हुन् भने १५ सय मिटरको रजत पनि उनैले जितेर दुई पदक भित्र्याए । सविनले चार सय र आठ सय मिटर दौडमा दुईवटा रजत जिते ।  

त्रिपलजंगमा राजन विश्वकर्मा, तेक्वान्दो ५२ केजीमा मिङमा फुटि शेर्पा, उसु ४२ केजी सान्सोमा मौषम लिम्बूले ताप्लेजुङका लागि रजत पदक भित्र्याए । कास्य पदक जित्नेमा तेक्वान्दो पुन्से अन्तगर्त भेनाइन शेर्पा, सितेरियो कराते कातामा सुहाङ लिम्बू, ४५ केजी उसुमा सरोज लिम्बू र दावा शेर्पा रहेको खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिता जेठ २४ देखि २६ गतेसम्म विराटनगरमा भएको थियो ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully