पाल्पा — फुटबल प्रशिक्षणमा अवसर खोज्नेहरूका लागि पाल्पा जिल्ला फुटबल संघले तानसेनमा सामुदायिकस्तरमा दिइने फुटबल प्रशिक्षक तालिम सम्पन्न गरेको छ । चार दिनसम्म चलेको प्रशिक्षक तालिम पाल्पामै पहिलो पटक आयोजना गरेको हो ।
अखिल नेपाल फुटबल संघको प्राविधिक तथा तानसेन नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न प्रशिक्षणमा ११ जिल्लाका ४४ जना खेलाडीको सहभागिता रहेको थियो । प्रशिक्षणमा सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको आयोजकले जनाए । काभ्रेपलाञ्चोक, ललितपुर, गुल्मी, कैलाली, पाल्पा, चितवन, बारा, काठमाडौँ, नवलपरासी, दाङ, रुपन्देही जिल्लाबाट प्रशिक्षणमा सहभागी थिए ।
अखिल नेपाल फुटबल संघका आधारभूतस्तरको खेलकुद शिक्षा विभागीय प्रमुख पंकज शाही र एन्फाका तालिम तथा शिक्षा कार्यक्रमका प्रमुख प्रशिक्षक संजित सिंहले प्रशिक्षण दिएका हुन् । प्रशिक्षार्थीहरूलाई फुटबल प्रशिक्षकको नैतिक, प्राविधिक, व्यवहारिक, सैद्धान्तिक र महत्त्वपूर्ण प्राविधिक विषयमा प्रशिक्षण दिएका थिए । चार दिनसम्म सिकेको सीपको सैद्धान्तिक साथै व्यवहारिक अभ्यासका साथै लिखित परीक्षासमेत लिइएको पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीरजंग राणाले बताए ।
कुशल प्रशिक्षक बन्न चाहनेहरूका लागि पहिलो खुड्किलोका रूपमा सामुदायिकस्तरमा आधारभूत तहको प्रशिक्षक तालिम आयोजना गरिएको हो । तालिममा सिकेका र जानेका विषयलाई मैदानसम्म पुगेर सही रूपमा व्यवहारमा उतार्न प्रशिक्षार्थीहरूलाई तालिममा सहभागिता प्रमाणपत्र प्रदान गर्दै नगरप्रमुख सन्तोषलाल श्रेष्ठले आग्रह गरे ।
एन्फाका तालिम तथा शिक्षा कार्यक्रमका प्रमुख प्रशिक्षक संजित सिंहले यस्तो प्रशिक्षण नेपालमा सम्पन्न भएको ५० औं कोच कोर्स भएको बताए । बाहिर जिल्लाबाट सहभागिता जनाएका प्रशिक्षकहरूले आ–आफ्नो स्थानबाट खेलाडी उत्पादनमा महत्त्वपूर्ण योगदान दिनुपर्ने बताए ।
प्रशिक्षणमा सहभागी तेजेन्द्रकुमार थापाले पहिलो पटक ‘डि’ लेबलको तालिम भएको र आगामी दिनमा ‘सी’, ‘बी’ लेबलको समेत तालिम आवश्यक रहेको बताए । प्रशिक्षणमा सिकेको ज्ञान, सीप र दक्षतालाई व्यवहारमा उतार्दै नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने सहभागी प्रशिक्षार्थी कृष्ण सारुले बताए ।
फुटबल प्रशिक्षण सम्बन्धी कतिपय नजानेका विषयको जानकारी लिने अवसर मिलेको कार्यक्रम संयोजक तथा पाल्पा जिल्ला फुटबल संघका उपाध्यक्ष प्रज्जवल उदयले बताए । जिल्लामा राखेको यस किसिमका कोर्सले खेलाडी तथा प्रशिक्षकहरूमा फुटबलप्रति अझ आकर्षण बढ्ने प्रचार संयोजक करण चित्रकारले बताए ।
