नेपालसामु पीडा भुलाउने अवसर

स्कटल्यान्डसँग खेल्दाका सकारात्मक पक्ष नेदरल्यान्ड्सविरुद्ध हुने खेलमा काम लाग्ने

जेष्ठ २७, २०८२

विनोद पाण्डे

An opportunity to forget the pain before Nepal

डन्डी, स्कटल्यान्ड — पछाडि फर्केर हेर्दा कहिलेकाहीं असाध्यै पीडा हुने गर्छ । नेपाली क्रिकेटका लागि अझ स्कटल्यान्डविरुद्ध आइतबार खेलको खेल सम्झिने मात्र हो भने मन कटक्क खान्छ । किनभने विश्वकप क्रिकेट लिग–२ मा स्कटल्यान्डले नेपाललाई अन्तिम बलसम्मको प्रतिस्पर्धामा २ रनले पराजित गरेको थियो ।

३ सय २४ रनको विशाल लक्ष्य पाएको नेपाल डन्डीको फोर्टहिलमा पूरा ५० ओभर खेलेर ३ सय २१ रनमा अलआउट भयो । माथिल्लोक्रमका ब्याटर भीम सार्की उक्त पीडा सुनाउँदै नेपालले उक्त खेलबाट धेरै सकारात्मक कुरा लिन सक्ने बताउँछन् । उनले त्यो खेलमा नेपालका लागि सर्वाधिक ७३ रन बनाएका थिए । 

‘यति नजिक पुगेर हार्नु दुखद हो तर अर्को खेलका लागि यो सकारात्मक सन्देश हो, विदेशी भूमिमा आएर हामीले विजय लक्ष्यका लागि यति ठूलो रन बनाउन सकेका छौं । सिक्नुपर्ने पक्षहरू यो खेलले दिएको छ,’ भीमले स्कटल्यान्डसँग अन्तिम बलमा पाएको पीडापछि भने । 

उनले देखेको यो सकारात्मक पक्ष नेपाललाई मंगलबार नेदरल्यान्ड्सविरुद्ध हुने खेलमा काम लाग्न सक्छ । स्कटल्यान्ड यात्राको लिग २ मा नेपालको यो अन्तिम खेल हो । नेपालले पहिलो दुई खेलमा क्रमशः स्कटल्यान्डलाई १ विकेट र नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो । स्कटल्यान्डसँग दोस्रो खेलमा आइतबार २ रनको हारेपछि नेपालको लगातार विजय यात्रा रोकिएको थियो । 

उच्च नतिजासहित नेपालले यस लिग २ को शृंखला टुंग्याउने हो भने माथिल्लो क्रमको ब्याटिङ र बलिङमा धेरै सुधार गर्नुपर्ने हुन्छ । स्कटल्यान्डसँगका दुवै खेलमा नेपाली बलरहरू लयभन्दा धेरै बाहिर देखिए । तीन खेल खेलिसक्दा ब्याटिङमा आसिफ शेख र कप्तान रोहित पौडेलले अझै ठूलो इनिङ्स खेल्न बाँकी छ । 

नेदरल्यान्ड्स टोलीमा कप्तान स्कट इडवार्डस फर्किन सक्छन् । नेपालविरुद्धको खेलमा ब्याटिङका क्रममा उनी घाइते भएका थिए । उनले उक्त खेलमा ७१ बलमा ४६ रन बनाएका थिए । तर, घाइते भएको अवस्थामा उनको विकेटकिपिङ जिम्मेवारी नोह क्रोजले लिएका थिए । इड्वार्डसले त्यसपछि स्कटल्यान्डसँगको खेल पनि गुमाएका थिए । 

इडवार्डसको स्थानमा डच टोलीको कप्तानी गरिरहेका म्याक्स ओ’डड आफ्नो टोलीले कन्डिसनमा चाँडो घुलमिल गर्न नसक्दा राम्रो खेल्न नसकेको बताउँछन् । स्कटल्यान्डविरुद्ध राम्रो गर्न नसकेको नेपालले उत्कृष्ट बलिङ गर्दै नेदरल्यान्ड्सलाई ४९.१ ओभरमा २५ रनमा अलआउट गरेको थियो । आरिफ शेखले ७८ रन बनाएपछि नेपालले ७८.१ ओभरमा लक्ष्य पूरा गरेको थियो । 

स्कटल्यान्ड आउनुअघि लिग २ को पुछारमा रहे पनि नेपाल बलियो टोली भएको म्याक्स बताउँछन् । अलराउन्डर बास डे लिड काउन्टी क्रिकेट टोली डरहमसँग अनुबन्ध रहेका कारण स्कटल्यान्ड भ्रमणमा उपलब्ध नहुँदा नेदरल्यान्ड्स कमजोर बनेको छ । 

सन् २०१४ को विश्वकप छनोटयता नेदरल्यान्ड्स नतिजाको हिसाबमा सबैभन्दा कमजोर बनेको छ । नेदरल्यान्ड्सले उक्त विश्वकप छनोट सातौं स्थानमा रहेर टुंग्याएपछि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता गुमाएको थियो । नेपाल उक्त यात्रामा नवौं भएको थियो । 

यद्यपि लिग २ मा नेदरल्यान्ड्स २२ खेलमा २६ अंक जोड्दै दोस्रो स्थानमा छ । १४ खेलमा नेपालले १० अंक जोडेको छ । आठ राष्ट्र सहभागी लिग २ को शीर्ष चार टोली विश्वकप छनोटमा पुग्ने छन् ।

...

स्कटल्यान्ड र नेपालबीच ‘क्लोज इनकाउन्टर’

An opportunity to forget the pain before Nepal

नेपाल र स्कटल्यान्डबीचको प्रतिस्पर्धा एसोसिएट क्रिकेटमा पछिल्लो समय निकै उच्च हुन थालेको छ । अधिकांश खेलहरू अन्तिम ओभर हुँदै अन्तिम बलसम्म पुगेर झिनो अन्तरमा टुंगिने गरेको छ । यसले एसोसिएट क्रिकेट साखलाई अझ उच्च बनाएको विश्लेषण गर्नेहरू पनि धेरै छन् । 

स्कटल्यान्डमा भ्रमणमा रहेको नेपालले विश्वकप क्रिकेट लिग–२ शृंखलामा घरेलु टोलीविरुद्ध खेलेको खेल तीव्र प्रतिस्पर्धाको उचाइमा थियो । डन्डीमा अन्तिम बलको प्रतिस्पर्धामा एक खेलमा नेपाल र अर्को खेलमा स्कटल्यान्डले नतिजा पल्टाउन सफल भए । नेपालले पहिलो खेल अन्तिम बलमा १ विकेटले जितेको थियो भने दोस्रो खेलमा २ रनको हार बेहोरेको थियो । नेपाल र स्कटल्यान्डबीच भएका केही तीव्र प्रतिस्पर्धा यस्ता छन् :

नेपाललाई अन्तिम बलको पीडा

डन्डी, ८ जुन २०२५

कप्तान रिची बेरिङ्टनले १ सय २ रन बनाएपछि टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाई ३ सय २३ रन बनायो । स्कटल्यान्ड यो स्कोरमा पुग्न उनको सानदार ब्याटिङसँगै नेपालको कमजोर फिल्डिङ पनि उत्तिकै जिम्मेवार रह्यो । साथै डेथ ओभरमा नेपालको बलिङ निकै फितलो बनेको थियो । स्कटल्यान्डले अन्तिम १० ओभरमा १ विकेटमात्र गुमाएर १ सय २३ रन जोडेको थियो । माइकल लिस्क १४ रनमा हुँदा सोमपाल कामीले सामान्य क्याच छाडेका थिए । उनै लिस्कले ६२ बलमा ९६ रन बनाउनेक्रममा १२ चौका र ३ चौका प्रहार गरे । 

भीम सार्की, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीको अर्धशतकमा नेपालले ४९ ओभरमा ३ सय १७ रन बनाइसकेको थियो । यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा उच्च स्कोर बनाएको हो । अन्तिम ओभरमा नेपाललाई जितनिम्ति ७ रन आवश्यक थियो, क्रिजमा करण केसी र सन्दीप लामिछाने थिए । बलिङमा थिए ‘लोकल ब्वाइ’ साफ्यान सरिफ । उनी आफ्नो पहिलो ४ ओभरमा ३५ रन दिएर निकै महँगा बनिसकेका थिए । तर यहाँको विकेटलाई राम्रोसँग बुझ्ने भएर होला सायद स्कटल्यान्डले उनलाई अन्तिम ओभर बलिङ दिएको थियो । अन्तिम ओभरको पहिलो बलमा करणले २ रन लिए पनि तेस्रो बलमा ठूलो शट हान्दा आउट भए । अन्तिम बलमा नेपाललाई जितनिम्ति ३ रन चाहिँदा सरिफले ललित राजवंशीलाई बोल्ड गरी नाटकीय हिसाबमा स्कटल्यान्डलाई २ रनको जित दिलाए । 

करणको इनिङ्स र अविश्वसनीय जित

डन्डी, २ जुन २०२५

स्कटल्यान्डले लिग २ को प्रतिस्पर्धामा पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ९६ रन बनाएको थियो । चार्ली टिएर ७२ बलमा ८० र फिन्ले म्याकक्रिएथले ६७ बलमा ५५ रन बनाएपछि स्कटल्यान्डले नेपालले विशाल लक्ष्य तेर्स्याएको थियो । 

करण केसीले असाधारण ब्याटिङ प्रदर्शन गर्दै ४१ बलमा ३ चौका र ४ छक्का प्रहार गरी अविजित ६५ रन बनाएपछि नेपाल अन्तिम बलमा लक्ष्य पूरा गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो विजय लक्ष्य पछ्याउन सफल भयो । करणले अन्तिम ओभरको चौथो र पाँचौं बलमा २–२ रन जोडेपछि नेपाललाई अन्तिम बलमा १ रन बनाउनुपर्ने समीकरण बनेको थियो । अन्तिम बलमा स्ट्राइक एन्डमा रिजन ढकाललाई लेग अम्पायरले रनआउट दिए पनि मुख्य अम्पायरले लेग साइडमा गएको त्यो बललाई वाइड दिएपछि नेपाल अविश्वसनीय हिसाबमा खेल जित्न सफल भयो । 

नेपालको पहिलो ‘क्लिन स्विप’

कीर्तिपुर, फेब्रुअरी २१, २०२३

स्कटल्यान्ड लिग २ को विजेता बनिसकेको थियो । शृंखलाको अन्तिम खेलमा जर्ज मुन्सीले ५० बलमा ६० रन बनाए पनि टोली ४६.१ ओभरमा २ सय १२ रनमा अलआउट भयो । नेपाली बलरहरूले आफ्नो जिम्मेवारी पूरा गरिसकेको अवस्थामा अब पालो ब्याटिङको थियो । 

तर ३२ औं ओभरमा नेपालले १ सय ३८ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो । रोहित पौडेलले यहींबाट आफ्नो परिपक्व भूमिका देखाए । उनले १ सय १ बलमा अविजित ९५ रन बनाएपछि नेपालले ४४.१ ओभरमा लक्ष्य पूरा गर्दै लिग २ को शृंखला पहिलो पटक ‘क्लिन स्विप’ गरेको थियो । 

साफ्यान सरिफको बलमा विजयी चौका प्रहार गरेपछि रोहितले आफ्नो मसल्स देखाउँदै गर्जिएर सेलेब्रेसन गरेका थिए । रोहितले यसलाई आफ्नो खेलजीवनको उत्कृष्ट इनिङ्स मान्दै आएका छन् । रोहितले करण केसीसँग नवौं विकेटमा ७५ रनको अविजित साझेदारी गरेका थिए । बलिङमा ३ विकेट लिएका करणले ब्याटिङमा पुनः अर्को उपयोगी इनिङ्स खेले । करणले ३७ बलमा २ चौका र १ छक्कासहित ३१ रन बनाए । 

अन्तिम ओभरको हार

ऐर, जुलाई २९, २०१५

स्कटल्यान्ड र उत्तरी आयरल्यान्डमा भएको ट्वान्टी–२० विश्वकप छनोटको निराशाजनक प्रदर्शनपछि नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा स्कटल्यान्डविरुद्ध दुई खेल खेलेको थियो । स्थानीय स्कटिस कन्डिसनमा खेल्न नेपालका लागि त्यति सजिलो थिएन । वर्षाका कारण ३६ ओभरमा छोट्याइएको खेलमा स्कटल्यान्डले कप्तान प्रेस्टन मोमसेनको ७८ रनमा ७ विकेट गुमाई २ सय ३५ रन बनायो । कोन डी ल्याङ्गेले ४१ बलमा ४ चौका र २ छक्कासहित अविजित ५५ रन बनाएपछि स्कटल्यान्ड मजबुत बनेको थियो । 

महेश क्षेत्रीलाई २१ र ज्ञानेन्द्र मल्ललाई १८ रनमा गुमाए पनि अनिल मण्डल र कप्तान पारस खड्काको अविश्वसनीय ब्याटिङपछि नेपाल विजय नजिक पुगेको थियो । पारसले ५५ बलमा ४ चौका र २ छक्कासहित ७० रन बनाए । उनी र शरद भेषावकर लगातार बलमा आउट भए । अनिलले १ सय रन बनाए । त्यसका लागि उनले ९३ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरे । तर अन्तिम २ ओभरमा २५ रन बनाउन नसक्दा नेपालले ३ रनको हार बेहोर्नुपर्‍यो । अन्तिम ओभरमा नेपालले विजयनिम्ति १७ रन बनाउनुपर्ने थियो । सो ओभरको पहिलो बलमै अनिललाई आउट गरेका साफ्यान सरिफले १३ रनमात्र खर्चेपछि नेपालले ५ विकेट गुमाई २ सय ३२ रनमात्र बनाउन सक्यो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully