नेपालले डन्डीको फोर्टहिलमा निर्धारित ५० ओभर खेलेर ९ विकेट गुमाई २ सय ३६ रन जोडेको छ
(डन्डी, स्कटल्यान्ड) — आरिफ शेखको अर्धशतक मद्दतमा नेपालले विश्वकप क्रिकेट लिग–२ मा नेदरल्यान्ड्सलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ । नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डसले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपालले डन्डीको फोर्टहिलमा निर्धारित ५० ओभर खेलेर ९ विकेट गुमाई २ सय ३६ रन जोडेको हो ।
तर आरिफ खेल दौरान डेन्जर जोनमा दुई पटक दौडिएका कारण अन फिल्ड अम्पायरहरुले नेपाललाई १० पेनाल्टी रन लगाएका छन् । नेदरल्यान्ड्सले ब्याटिङ सुरु गर्दा टोलीको खातामा सिधै १० रन हुनेछ ।
एकदिवसीय अन्तर्राष्ट्रियमा आरिफको यो व्यक्तिगत उच्च स्कोर पनि हो । स्कटल्यान्डमा भइरहेको शृंखलामा आरिफले दोस्रो अर्धशतक बनाएका हुन् । नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा नेपालले विजय हात पार्दा आरिफले ७८ रन बनाएका थिए, जुन यसअघि उनको व्यक्तिगत उच्च स्कोर थियो ।
आरिफले ८४ बल खेली ७ चौका र २ छक्का प्रहार गरी ८२ रन बनाए । डेब्यु गरिरहेका नन्दन यादव १२ बलमा १० रन बनाई अविजित रहे । सन्दीप लामिछाने इनिङ्सको अन्तिम बलमा २ रन लिने चक्करमा २ रनमा रनआउट भए ।
नेपाली टोलीको सुरुआत राम्रो हुन सकेन । दुई चौका प्रहार गरेका कुशल भुर्तेल १९ बलमा १८ रन बनाई पाउल भान मिकेरेनको बलमा इन साइड एज लागि बोल्ड भए । आसिफ शेखको स्थानमा ल्याइएका अनिल साहले १६ बल खेलि २ रनमात्र बनाउन सके ।
भीम सार्की र कप्तान रोहित पौडेलले तेस्रो विकेटमा ५९ रनको साझेदारी गरे । त्यसपछि खेलमा पाँचौ बलरको रुपमा आएका मध्यमगतिका बलर माइकल लेभिट हावी भएका थिए । उनले भीम र रोहित दुवैलाई ३५ रनमा आउट गरे । भीमले ३८ बल खेलि ३ चौका र रोहितले ६० बल खेलि १ छक्का प्रहार गरे ।
लेभिटले दीपेन्द्रसिंह ऐरीको पनि विकेट लिए । दीपेन्द्रले २४ बल खेली १ चौकासहित १६ रन बनाए । बसिर अहमद र करण केसी दुवै समान ११ रनमा आउट भए ।
नेपाली टोलीमा तीन परिवर्तन गरिएको थियो । चोटका कारण सोमपाल कामी र गुलसन झा खेलिरहेका छैनन् । सोमपाललाई स्कटल्यान्डविरुद्धको खेलमा ब्याटिङका क्रममा बाउन्सर बलले कुहिनामा चोट लागेको थियो । गुलसनलाई तिघ्रामा चोट लागेको छ । यी दुवैले अर्को साता ग्लास्गोमा सुरु हुने तीनदेशीय ट्वान्टी २० शृंखला समेत गुमाउनेछन् । सोमपाल र गुलशनको स्थानमा नन्दन र बसिरलाई खेलाइएको थियो ।
नेदरल्यान्ड्सका कप्तान इडवार्डस टोलीमा फर्किएका हुन् । नेपालविरुद्धको पहिलो खेलमा उनी ब्याटिङका क्रममा घाइते भएका थिए । उनले विक्रमजित सिंहको स्थान लिनेछन् । नेपालले पहिलो खेलमा आरिफ शेखको ७८ रनमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो ।
यस शृंखलाका ३ खेलमा नेपालले २ मा विजय हात पारेको छ । स्कटल्यान्डको यस लिग-२ मा दुवै खेल हारेको नेदरल्यान्ड्स लगातार तेस्रो खेलमा पराजित भइसकेको छ ।
लिग-२ मा नेदरल्यान्ड्स २२ खेलमा २६ अंक जोडी दोस्रो स्थानमा छ । १४ खेलमा नेपालले १० अंक जोडेको छ । आठ राष्ट्र सहभागी लिग-२ को शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछन् ।
