काठमाडौँ — सुनापति शैलुङ अल्ट्रा म्याराथन दौड समितिले शनिबार तेस्रो शैलुङ अल्ट्रा रेस आयोजना गर्ने भएको छ । रामेछापमा हुने प्रतियोगितामा महिला/पुरुष खुला ५५ किमि र ५ किमि दूरीको दौड हुनेछ । एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा हुने दौडले सुनापति, खाँडादेवी र दारेम्भा शैलुङ गरी तीन गाउँपालिकालाई छुनेछ ।
५५ किमिका महिला र पुरुषले समान पुरस्कारका रूपमा विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रोले २५ हजार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष लालबहादुर मगरले बताए । चौथोले १० र पाँचौंले ५ हजार तथा छैटौंदेखि १०औं स्थानमा दौड पूरा गर्नेले जनही १ हजार पाउनेछन् । ५ किमि विजेताले १२ हजार, उपविजेताले ८ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । चौथो र पाँचौं स्थानका विजेताले क्रमशः ३ र २ हजार तथा छैटौंदेखि १०औं स्थानमा रहनेले जनही १ हजार पाउनेछन् ।
प्रतियोगितामा राष्ट्रिय स्तरका अल्ट्रा धावकले भाग लिने एथलेटिक्स परिवारका अध्यक्ष राजन खत्रीले बताए ।
दौड सुनापति–३ सादी डाँडाबाट सुरु भई सुनापति डाँडा, लहरे माने, भागे डाँडा, खाँडादेवी मन्दिर, गाल्पा भन्ज्याङ, अग्लेश्वर डाँडा, दोरम्बा बजार, सहिद पार्क, डाँडा कटेरी, घले डाँडा, दोरम्बा शैलुङमा पुगेर टुंगिनेछ ।
प्रतियोगितामा सहभागिताका लागि स्थानीयले २ सय तथा बाहिरबाट जानेले १ हजार रुपैयाँ तिरेर नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ । प्रतियोगितामा विदेशीसहित करिब १ सय ५० खेलाडी सहभागी हुने जनाइएको छ ।
