स्कटल्यान्डविरुद्ध उच्च मनोबलसहित फेरि उत्रँदै नेपाल

विजय हात पारेमा नेपाल विदेशी भूमिमा पहिलो पटक शृंखला ‘क्लिन स्विप’ तर्फ अगाडि बढ्ने

जेष्ठ २५, २०८२

विनोद पाण्डे

Nepal coming out again with high morale against Scotland

डन्डी, स्कटल्यान्ड — स्कटल्यान्डविरुद्ध नेपाली क्रिकेट टोली उच्च मनोबलसाथ मैदानमा उत्रने छ । नेपालले विश्वकप क्रिकेट लिग–२ मा आइतबार घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्दै छ । डन्डीमा पहिलो दुई खेलमा उच्च नतिजा निकालेका कारण नेपाल फेरि अर्को त्यस्तै नतिजा ल्याउनेमा विश्वस्त छ ।

फोर्टहिलमा नेपालले खेल्न लागेको यो तेस्रो खेल हो । नेपालले सोमबार यस शृंखलाको आफ्नो पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेटको अविश्वसनीय जित हात पारेको थियो । करण केसीले अविजित ६५ रन बनाएपछि नेपालले २ सय ९७ रनको लक्ष्य अन्तिम बलमा पूरा गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य पार गरेको थियो ।

नेपालको जोसिलो प्रदर्शन यतिमै सीमित रहेन । नेपालले बुधबार आरिफ शेखको ७८ रनमा नेदरल्यान्ड्समाथि ५ विकेटको जित निकाल्यो । नेपाली टोली लिग-२ का दुई शीर्षस्थ टोलीलाई स्तब्ध पार्दै लगातार दोस्रो जित निकाल्न सफल भयो । ‘डबल हेडर’ मा स्कटल्यान्डविरुद्ध नेपालले पुनः खेल्न लागेको हो । नेपालका प्रशिक्षक स्टुवार्ट लले आफ्नो टोलीको लक्ष्य उच्च रहेको र नतिजा पनि उच्च ल्याउने बताइसकेका छन् । 

Nepal coming out again with high morale against Scotland

स्कटल्यान्ड आउनुअघि ६ अंकसहित लिग-२ को पुछारमा रहेको नेपाल दुई जितपछि सातौं स्थानमा उक्लेको छ । १४ खेलमा नेपालले १० अंक जोडेको छ । शुक्रबार नेदरल्यान्ड्समाथि विजय हात पारेपछि स्कटल्यान्डले १८ खेलबाट २२ अंक पुर्‍याएको छ । अमेरिका २८, नेदरल्यान्ड्स २६ र ओमान २४ अंकसहित शीर्ष तीन स्थानमा छ । आठ राष्ट्र सहभागी लिग-२ को शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछ ।

यस शृंखलाको ४ खेलमा कम्तीमा ३ खेल जितेर स्कटल्यान्ड अंकतालिकाको शीर्षस्थानमा पुग्ने दाउमा थियो । तर, नेपालसँगको पहिलो खेलमै स्कटल्यान्डले नराम्रो झट्का बेहोर्नुपर्‍यो । नेपाललाई पराजित गरेमा स्कटल्यान्ड रनरेटमा ओमानलाई उछिन्दै तेस्रो स्थानमा उक्लने छ । स्कटल्यान्डले नेपाल र नेदरल्यान्ड्सविरुद्धको बाँकी दुई खेल जितेमा अझै शीर्षस्थानमा पुग्ने छ । नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्धका बाँकी २ खेल जितेमा नामिबियालाई उछिन्दै छैटौं स्थानमा पुग्ने छ । नामिबियाको १४ अंक छ । 

विजय हात पारेमा विदेशी भूमिमा पहिलो पटक शृंखला ‘क्लिन स्विप’ तर्फ नेपाली टोली अगाडि बढ्ने छ । लिग- २ को अंकतालिकामा संघर्षरत रहे पनि स्कटल्यान्डविरुद्ध नेपालको पछिल्ला प्रदर्शनहरू निकै गहकिलो रहेको छ । ब्रिटिस टोलीविरुद्ध नेपाल पछिल्लो ५ खेलमा अपराजित छ । नेपालले स्कटल्यान्डविरुद्ध ५ खेलमध्ये ४ मा विजय हात पारेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो । 

Nepal coming out again with high morale against Scotland

नेपालबाट कुशल भुर्तेल, करण र आरिफले अर्धशतक बनाइसकेका छन् । नेपालको उच्च लयलाई निरन्तर राख्न ओपनर आसिफ शेख, भीम शार्की र कप्तान रोहित पौडेलले ठूलो स्कोर बनाउन जरुरी छ । यहाँ आसिफ क्रमशः २० र १९, भीम ४० र ११ तथा रोहित ३७ र २३ रनमा आउट भएका थिए । मध्यक्रममा दीपेन्द्रसिंह ऐरी र गुलशन झाले फिनिसरको राम्रो भूमिका निभाइरहेका छन् । कप्तान रोहित प्रत्येक खेलसँगै आफ्नो टिम अगाडि बढ्ने बताउँछन् । 

स्कटल्यान्डले शुक्रबार नेदरल्यान्ड्समाथि संघर्षपूर्ण विजय हात पारेको थियो । पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ९७ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो । मार्क वाट र साफ्यान सरिफले नवौं विकेटमा ९१ रनको साझेदारी गरेपछि स्कटल्यान्डले २६२–९ को स्कोर बनायो । जबाफमा आएको डच टोली ४५ ओभरमा २ सय १८ रनमै अलआउट भयो । 

नेदरल्यान्ड्सविरुद्ध देव्रेहाते स्पिनर ललित राजवंशी प्लेयिङ ११ मा फर्किएपछि नेपाली टोलीको बलिङ मजबुत बनेको छ । ललितले आफ्नो पहिलो बलमै नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डसलाई आउट गरेका थिए । उनले ज्याक लियोन क्याचेटको पनि विकेट लिए । नेपालविरुद्धको खेलमा ब्याटिङका क्रममा घाइते भएका इडवार्डसबिना खेलेको नेदरल्यान्ड्सको ब्याटिङ स्कटल्यान्डसँग फितलो बनेको थियो । 

नेपालले मंगलबार नेदरल्यान्ड्सविरुद्ध खेलेर यस लिग-२ को यात्रा टुंग्याउने छ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully