ओपन जुडोमा मनिता र दिलकुमारी विजयी

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

Manita and Dilkumari win Open Judo

काठमाडौँ — सञ्जित डंगोल, प्रमोद मण्डल, मनिता श्रेष्ठ प्रधान र दिलकुमारी छन्त्यालले ओपन जुडो च्याम्पियनसिपमा बेस्ट अफ दी बेस्टमा उपाधि जितेका छन् ।

बहुउद्देश्यीय मार्सल आर्ट्स सेन्टरमा भएको प्रतियोगितामा नेपालका उत्कृष्ट ९ टिम एपीएफ, क्लोज प्रोटेक्सन जुडो डोजो (सीपीजे), एमएमएसी, नेपाल पुलिस क्लब, प्रिजनर्स असिस्टेन्स मिसन (प्याम), प्राइम जुडो डोजो (पीजेडी), पारा जुडो डोजो (नेपाल सेना), त्रिभुवन आर्मी क्लब र रसुवासहित दुई विदेशी त्रि–फोर्स जुडो क्लब (भुटान) र जुडो क्लब रिज्मोन्ड जुडो (नेदरल्यान्ड्स) को पनि सहभागिता थियो ।

महिला ५७ केजीमुनि तौल समूहमा पुलिसकी मनिताले प्राइम जुडोकी पेमा याङ्जी शेर्पालाई हराएर पहिलो स्थान हासिल गरिन् । पुलिसकी प्रतिभा पुलामी मगर र एपीएफकी रत्ना तामाङ संयुक्त तेस्रो भए ।

महिला ७८ केजीमुनि तौल समूहमा दिलकुमारीले आर्मीकी निर्मला घर्ती मगरलाई हराइन् । पुलिसकी निशा चौधरी र आर्मीकी सविना श्रेष्ठ तेस्रो भए ।

पुरुष ७३ केजीमुनि तौलमा एपीएफकी प्रमोदले स्वर्ण जिते । उनले रसुवाका सुनिल नगरकोटीलाई हराए । धीरेन्द्र थारु र भुटानका तान्दिन वाङचुक तेस्रो भए ।

एक सय केजीमुनि तौल समूहमा शीर्ष दुई स्थानमा पुलिसका सञ्जित र मधु रोका मगर रहे । पुलिसका धनबहादुर आले र आर्मीका राजेश चौधरी तेस्रो भए ।

विजेता खेलाडीलाई नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेवाल र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले पुरस्कृत गरे ।

Manita and Dilkumari win Open Judo

कान्तिपुर संवाददाता

Link copied successfully