नेपाली क्रिकेटमा स्टुवार्ट युगको सुरुआत

मोन्टी देशाइको ‘ह्याप्पी ड्रेसिङ रुम’ बाट नेपाली क्रिकेट टोली ‘शान्त ड्रेसिङ रुम’ मा रूपान्तरित हुँदै

जेष्ठ २४, २०८२

विनोद पाण्डे

The beginning of the Stuart era in Nepali cricket

डन्डी, स्कटल्यान्ड — भारतमा सन् १९९६ को विश्वकप क्रिकेट चलिरहेको थियो । न्युजिल्यान्डविरुद्धको क्वाटरफाइनलमा स्टिभ वा सँगै फ्रेन्चकट दाह्रीका साथ स्टुवार्ट ल ब्याटिङमा आएर अस्ट्रेलियालाई सेमिफाइनलमा डोर्‍याएका थिए । उनै स्टुवार्ट अहिले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक हुन् ।

स्कटल्यान्डमा नेपाली समुदायमा क्रियाशील समाजसेवी काशीराम भण्डारीले बिहीबार आमन्त्रण गरेको नेपाली टोलीको सम्मानमा स्टुवार्ट मुस्कुराउँदै भन्दै थिए, ‘अहिले त त्यस्तो स्टाइल केही बाँकी छैन, दाह्री सफाचट छ ।’

उनकै प्रशिक्षणमा खेलिहरेको नेपालले स्कटल्यान्डमा विश्वकप क्रिकेट लिग–२ को पहिलो दुई खेलमा सनसनीपूर्ण नतिजा निकालेको छ । डन्डीस्थित फोर्थहिलमा नेपालले पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेटको अविश्वसनीय जित निकालेको थियो भने अर्को खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो । स्कटल्यान्ड र नेदरल्यान्ड्सका लागि यो स्तब्धपूर्ण नतिजा जस्तै रह्यो । 

धेरैले यसलाई नेपाली क्रिकेटमा स्टुवार्ट ल युगको सुरुआत भनेका छन् । नहोस् पनि कसरी । स्कटल्यान्डको यात्रा नेपाली क्रिकेटको सबैभन्दा कठिन मानिएको थियो । कन्डिसन, विकेट र प्रतिद्वन्द्वी हेर्ने हो भने नेपाललाई निकै कठिन हुने अड्कल काटिएको थियो । तर, पहिलो दुई खेल जितेर नेपाल लिग २ को पुछार अर्थात् आठौंबाट सातौं स्थानमा उक्लिसकेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने आशालाई कायमै राखेको छ । 

The beginning of the Stuart era in Nepali cricket

‘नेपालले अहिलेसम्मकै सबैभन्दा कठिन शृंखला खेलिरहेको छ, तर त्यसमा अहिलेसम्म राम्रो भइरहेको छ । हाम्रो लक्ष्य उच्च छ, हामी उच्च नतिजासाथ यात्रा टुंग्याउन चाहन्छौं,’ एक महिनाअघि नेपालको मुख्य प्रशिक्षक बनेका स्टुवार्टले भने । उनको प्रशिक्षणमा नेपाली क्रिकेट टोली पुनः ब्युँतिएको छ र पुनः उच्च लयमा फर्किने विश्वासको वातावरण बन्दै गएको छ । 

उनका लागि एसोसिएट क्षेत्रको क्रिकेटमा यसखाले नतिजा निकाल्नु कुनै नौलो होइन । उनकै प्रशिक्षणमा अमेरिका गत वर्ष घरेलु भूमिमा भएको ट्वान्टी–२० विश्वकपमा पाकिस्तान र आयरल्यान्डलाई उछिन्दै समूह चरणबाट सुपर ‘एट’ मा पुगेको थियो । अमेरिकाले पाकिस्तानलाई समूह चरणको खेलमा सुपर ओभरमा पराजित गरेको थियो । स्कटल्यान्डमा नेपाललाई राम्रो खेल्न मैदानमा आएर हौस्याइरहेका दर्शकबाट उनी अझ प्रभावित छन् । गत वर्ष विश्वकपमा नेपालले अमेरिकामा नेदरल्यान्ड्सविरुद्ध डालासमा खेल्दा ८ हजार दर्शकमध्ये ७ हजारभन्दा बढी दर्शक नेपाली देखेका थिए, जुन उनलाई अविश्वसनीय लागेको थियो । उनीसँग इंग्लिस कन्डिसनको पनि अनुभव छ । उनी एक समय इंग्लिस काउन्टी टोली मिडलसेक्सको पनि प्रशिक्षक थिए । नेपालले यस यात्राको लिग २ मा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग १–१ खेल खेल्न बाँकी छ । यी दुई खेल आइतबार र मंगलबार हुनेछ । सन् २०२३ मा नेपालको प्रशिक्षक भएर मोन्टी देसाइ आएपछि नेपालले १२ मध्ये ११ खेल जितेको थियो । स्टुवार्ट पनि यही पथमा लम्किरहेका छन् । 

The beginning of the Stuart era in Nepali cricket

‘अहिलेसम्म राम्रै भइरहेको छ, २ खेलमा राम्रो नतिजा आएको छ । तर यो यात्रा यहीं सकिएको छैन । अब हामी अर्को दुई खेलको तयारी गरिरहेका छौं, त्यसमा पनि हामी लक्ष्यमा पुग्न सक्छौं र पहिलो दुई खेलकै नतिजालाई दोहोर्‍याउन सक्छौं,’ उनी भन्छन्, ‘हाम्रो खेलाडीहरूले राम्रो खेलिरहेका छन् । स्कटल्यान्ड र नेदरल्यान्ड्सले पनि नतिजा आफ्नो पक्षमा ल्याउन अवश्य निकै मिहिनेत गर्नेछन् ।’ 

सन् २००९ मा स्टुवार्ट श्रीलंका राष्ट्रिय टोलीको सहायक प्रशिक्षक थिए । त्यसपछि उनी २०११–१२ मा बंगलादेशको मुख्य प्रशिक्षक भए । २०१८ देखि उनी वेस्ट इन्डिजको मुख्य प्रशिक्षक थिए । एउटा शृंखलाका लागि उनी २०२२ मा अफगानिस्तानको पनि प्रशिक्षक बनेका थिए । 

The beginning of the Stuart era in Nepali cricket

स्टुवार्ट ल र मोन्टी देशाइ दबाबमा नआत्तिने लगभग एउटै स्वभावको भएको कप्तान रोहित पौडेल जनाउँछन् । उनले भने, ‘लले डगआउटलाई शान्त राख्नुभएको छ, प्रायः सवै प्रशिक्षकको सायद यही नै मन्त्र हुन्छ होला । नतिजा आउँदा सवैले राम्रो भन्ने गर्छन् । तर डगआउटमा कसरी शान्त राख्ने उहाँको भिजन फरकखाले छ । नतिजा कहिले आउँछ कहिले आउँदैन, तर आफ्नो कर्म कायम राख्न उहाँ प्रेरित गर्नुहुन्छ ।’ 

स्टुवार्टले वर्तमान टोलीमा रहेका कुनै पनि खेलाडीको शैलीमा कुनै परिवर्तन नगरेको रोहित बताउँछन् । ‘हामीले कसरी क्रिकेट खेल्छौं, त्यहीअनुसार खेल भन्नुहुन्छ । त्यसमा मेरो सहयोग हुनेछ, त्यो गर्छु भनेर भन्नुहुन्छ । उहाँको सामान्य योजना नै त्यही हो, केही पनि जटिल बनाउनुभएको छैन,’ कप्तान रोहितले भने, ‘मेरो ब्याटिङ यो एक सातामा केही परिवर्तन हुदैंन । किनभने म पछिल्लो ७–८ वर्ष देखि यसरी नै खेलिरहेको छु । उहाँले पनि त्यही भन्नु हुन्छ, जसरी खेलिरहेको छ, त्यसै गरि नै खेल भनेर ।’ 

The beginning of the Stuart era in Nepali cricket

नेदरल्यान्ड्समाथिको विजयमा मध्यपंक्तिका ब्याटर आरिफले ७८ रन बनाएका थिए । उनी प्रशिक्षकले दिएको भूमिकाअनुसार खेल्दै आएको जनाउँछन् । ‘जुन खेल्ने शैली हाम्रो छ, त्यसलाई उहाँ सहयोग गर्नुहुन्छ । हाम्रो गेम परिवर्तन गर्ने उहाँको केही उद्देश्य छैन,’ आरिफले भने, ‘यसले हामीलाई निकै सहयोग भइरहेको छ । प्रशिक्षकले हामीले प्रोत्साहित गरिरहनुभएको छ, त्यसले हाम्रो टिमको मनोबल पनि उच्च छ ।’

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully