काठमाडौँ — एक प्रकारले प्रशिक्षक प्याट्रिक डे वाइल्ड भाग्यमानी रहे । उनी भर्खर नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अब उनकै नेतृत्वमा नेपालले महिलाको एक सय अन्तर्राष्ट्रिय खेल खेल्नेछ । एसिया कप छनोटको समूह ‘एफ’ मा लाओसविरुद्धको खेल नेपालको कोसेढुंगाको रूपमा सय खेल हुनेछ । यो नै एक कारण नेपाली खेलाडीलाई उत्साही बनाउन पुग्नेछ । यत्तिमा त उनी पनि सहमत हुनेछन् । मुख्य प्रशिक्षक नियुक्त भएयता उनको भनाइ रह्यो, ‘आशावादी र सकारात्मक रहौं ।’
नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सका लागि प्रशिक्षक रहेका ६१ वर्षीय डे वाइल्ड प्राविधिक रूपमा उच्च र अनुभवमा खारिएको मानिन्छ । अब उनले शनिबार नै टिमको पहिलो अभ्यास सत्र राखेका छन् र सबै स्थिति बुझ्न प्रयास गर्नेछन् । त्यसअघि उनले नेपाली राष्ट्रिय टिमले खेलेका मुख्य खेलहरू भने हेरिसकेका छन् र एक खाले सोच बनाएका छन् । यो सोचले भन्छ, ‘हामीलाई जित्नु नै छ ।’
अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनीसँग एक वर्षको अनुबन्ध गरेको छ । डे वाइल्डले भने, ‘म चुनौती स्वीकारेर नै नेपाल आएको छु । एनएसएलका लागि नेपाल छँदा मैले यहाँको फुटबल महासुस गरेको हो । एक प्रकारको सम्बन्ध बनेको छ । त्यसैले मलाई अहिलेको नयाँ चुनौतीसम्म डोहोर्याएको छ ।’
तीन सातापछि नै उज्वेकिस्तानमा एसिया कप सुरु हुनेछ । त्यसमा आयोजक उज्वेकिस्तानसहित लाओस र श्रीलंका छन् । यो समूहबाट एकै टिममात्र एसिया कपमा प्रवेश गर्नेछ, दोस्रो हुने टिमसामु केही पनि हात पर्ने छैन । यस्तोमा नेपालको एकमात्र लक्ष्य समूह जित्ने नै हुनेछ । सम्भवतः नेपालका लागि लाओस र श्रीलंका ठूलो चुनौती हुने छैन । चुनौती भनेकै उज्वेकिस्तान हुनेछ । यो नेपालका लागि उच्च प्रतिद्वन्द्वी हो । के नेपाली महिला टोली उज्वेकिस्तानलाई पराजित गर्न सक्षम छ त ? ‘आशावादी रहौं । फुटबलमा सबै प्रकारको सम्भावना कायम हुन्छ,’ उनले भने, ‘यो ठूलो प्रतियोगिता हो र यसले पस्कने चुनौती पनि ठूलै हुने गर्छ । नेपाली राष्ट्रिय टिमको जिम्मेवारी सम्हालेको छु, यो पनि आफैमा ठूलो छ ।’
भलै, उनले एकै वर्षको मात्र अनुबन्ध गरेका छन् । उनको ध्यान भने अल्पकालीनभन्दा दीर्घकालीन योजनामा छ । उनी चाहन्छन्, धेरैभन्दा धेरै नेपाली महिला खेलाडीले विदेशमा खेलोस्, त्यसमा पनि युरोपमा । ‘माथिल्लो स्तरको लिगमा खेलेका खेलाडी टिमका लागि असाध्यै धेरै महत्त्वपूर्ण हुन्छ । धेरैभन्दा धेरै खेलाडीले विदेशमा खेल्नुपर्छ, मैले यसका लागि पनि प्रयास गर्नेछु ।’ उनी के मान्छन् भने नेपाली खेलाडी माथिल्लो स्तरको फुटबलका लागि तयार छन् अनि सक्षम पनि छन् ।
नेपालले महिलाको अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको सन् १९८६ यता हो । यस्तोमा नेपाली महिला अन्तर्राष्ट्रिय फुटबल चार दशकको समयमा प्रवेश गर्दै छ । त्यसमाथि अबको नेपालले खेल्ने खेल सय हुनेछ । तर नेपालले यसबीच कुनै पनि उपाधि जित्न सकेको छैन । उनी नेपाली महिला टिम सम्हाल्ने दोस्रो विदेशी प्रशिक्षक हुनेछन्, अस्ट्रेलियाली ग्यारी फिलिप्सपछि । समग्रमा भने महिला टिमको १२औं प्रशिक्षक । खेम गुरुङबाट सुरु भएको यो क्रममा उमेश प्रधान, ध्रुव केसी र किशोर केसी अनि कुमार कटुवाल, कुमार थापा, हरि खड्का, फिलिप्स, अनन्त थापा, बालगोपाल महर्जन र राजेन्द्र तामाङ छन् । डे वाइल्डले त्यो काम गर्नुपर्नेछ, जुन अहिलेसम्म यसअघिका कुनैले गर्न सकेका छैनन् । त्यो उपाधि जित्ने नै हुनेछ । डे वाइल्ड अब च्याम्पियन टिम बनाउन चाहन्छन् । खेलाडीमा च्याम्पियन हुने सोच तयार पार्न चाहन्छन् । ‘मलाई धेरै काम गर्नु छ, त्यसमा जित्ने काम पनि पर्नेछ, भोलिदेखि नै काम सुरु गर्छुं,’ उनी मान्छन् ।
डे वाइल्डले आफ्नो सहयोगी टिम पनि बनाएका छन् । उनका दुई सहयोगी हुनेछन् राजेन्द्र तामाङ र भगवती थापा । तामाङ यसअघि नेपाली टिमकै मुख्य प्रशिक्षक थिए, अब उनले सहायकको भूमिका निभाउने छन् । अन्त्यमा वाइल्डको भनाइ थियो, ‘म राम्रो नतिजाका लागि बलियो टिम चाहन्छु, त्यसैले टिममा केही परिवर्तन हुनसक्छ ।’ प्रशिक्षकको प्रो–लाइसेन्स रहेका वाइल्डले बाक्लो अनुभवले के नेपाली महिला फुटबललाई परिवर्तन गर्नेछ त ? हामी पनि आशावादी र सकारात्मक रहनुपर्नेछ ।
