काठमाडौँ — फ्रेन्च ओपन २०२५ को महिला एकल फाइनलमा विश्व नम्बर एक आरयना सबलेन्का र कोका गउफ भिड्ने भएका छन् । सबलेन्काले सेमिफाइनलमा चार पल्टकी च्याम्पियन इगा स्वाटिकलाई ७–६ (७/१), ४–६ र ६–० ले पराजित गरिन् ।
तीन पल्टकी ग्रान्ड स्लाम विजेता बेलारुसकी खेलाडी फ्रेन्च ओपनको फाइनल पुगेको यो पहिलो पटक हो । उनले जितेका तीनै ग्रान्ड स्लाम उपाधि हार्ड कोर्टका हुन् । ‘यो जितमा असाध्यै खुसी छ, तर जिम्मेवारी अझै सकिएको छैन,’ सबलेन्काले प्रतिक्रिया दिएकी छिन् ।
सन् २०२२ की उप विजेता गउफले भने अर्को खेलमा लोइस बोइसनलाई सजिलै ६–१ र ६–२ ले हराइन् । विश्व वरीयताको ३६१ औं स्थानमा रहेकी बोइसनको यस हारसँगै सनसनीपूर्ण यात्रामा पूर्णविराम लागेको छ ।
