काठमाडौँ — नेपालका व्यावसायिक टेनिस खेलाडी अभिषेक बास्तोला किंग्स गुआम वर्ल्ड टेनिस टुरका लागि वाइल्ड कार्ड पाएका छन् ।
उनले आईटीएफ मेन्स वर्ल्ड टेनिस टुरअन्तर्गत हुने प्रतियोगिताको मुख्य ‘ड्र’ का लागि वाइल्डकार्ड पाएका हुन् ।
यस स्तरमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली पुरुष खेलाडी बनेका अभिषेकको आईटीएफ प्रो सर्किटको मुख्य ‘ड्र’ दोस्रो सहभागिता हुनेछ ।
टेनिसको अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न आफूलाई गौरव महसुस भएको जनाउँदै २७ वर्षे अभिषेकले सक्दो राम्रो प्रदर्शन गर्ने बताएका छन् ।
प्रतियोगिता गुआम नेसनल टेनिस सेन्टरमा जुन ९ देखि १५ सम्म हुनेछ । हार्ड कोर्टमा हुने प्रतियोगिताको पुरस्कार राशि १५ हजार डलर रहेको छ । हाल अभिषेक अध्ययनसँग अमेरिकामा रहेर टेनिस करियर अगाडि बढाइरहेका छन् ।
