नेपालले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा हङकङको सामना गर्दै

जेष्ठ २२, २०८२

कान्तिपुर संवाददाता

Nepal faces Hong Kong in a friendly international football match

काठमाडौँ — अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि हङकङ त्यस्तो प्रतिद्वन्द्वी रहेको छ, जसको सामना गर्ने अवसर विरलै मात्र जुरेको छ । नेपालले अहिलेसम्म एकै पल्ट मात्र यो टिमविरुद्ध खेलेको छ र यो पनि सन् १९८८ मा । एसियाकप छनोटको काठमाडौंमा भएको त्यो खेल गोलरहित बराबरीमा टुंगेको थियो ।

लगभग ३७ वर्षपछि नेपालले आज बिहीबार यही हङकङविरुद्ध खेल्दैछ, यसपल्ट भने उसकै भूमिमा । अहिले नेपाल मुख्य प्रशिक्षक म्याट रसको नेतृत्वमा एसियाकप छनोट खेल्ने तयारीमा छ र त्यस अगाडि हङकङविरुद्धको खेल नेपाली टिम कहाँनिर छ भन्ने जाँच गर्ने अवसर हुनेछ । यो खेललाई लिएर प्रशिक्षक म्याट र कप्तान किरण लिम्बू दुवै उत्साहित छन् ।

खेल अगाडि आयोजित प्रि–म्याच कन्फ्रेन्समा रसले भनेका छन्, ‘हामीले हङकङलाई नजिकबाट हेरेका छौं । यो बलियो टिम हो, तर हामीले यसबारे राम्रो अध्ययन पनि गरेका छौं ।’ सो कोन पोस्थित हङकङ रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ पौने छ बजे सुरु हुनेछ । यो खेलपछि नेपालको ध्यान लाओसविरुद्ध हुने छनोट खेलमा हुनेछ ।

‘हङकङविरुद्धको खेलमा देखिन सक्ने कमजोरीलाई सच्याएर हामी लाओसको समना गर्नेर्छौं,’ रसले भनेका छन् । कप्तान लिम्बूले पनि लाओसको सामना गर्न अगाडि हङकङविरुद्धको खेल राम्रो अभ्यासका रूपमा रहने बताएका छन् । उनले भनेका छन्, ‘हामी हङकङ टिमको सम्मान गर्छौं ।’ नेपाली टिमले बुधबार अबेर हङकङ रंगशाला अभ्यास पनि गरेको थियो ।

हङकङले पनि पछिल्लो साता इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग अभ्यास खेल खेलेको थियो र त्यसमा टिम ३–१ ले पराजित रहेको थियो । फिफा वरीयतामा हङकङ नेपाल भन्दा २२ स्थान माथि रहेको छ । यही खेलमा नेपाली फरवार्ड अञ्जन विष्टले सर्वाधिक गोलको कीर्तिमान पनि बनाउन सक्ने छन् । 

कान्तिपुर

Link copied successfully