अहमदाबाद — विराट कोहली र रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जित्यो पन्जाब किंग्समाथि ६ रनको रोमाञ्चक जित हात पार्दै । साँच्चै कस्तो रह्यो त १८ औं संस्करणको आईपीएल ?
एएफपीले तयार पारेको प्रमुख विशेषता यस्ता छन् :
अन्ततः कोहली च्याम्पियन
दुईपल्टको विश्वकप विजेता कोहलीको खेलजीवन आफैंमा उत्कृष्ट थियो । तर, त्यसमा एउटै कमी थियो आर्ईपीएल उपाधि । अब त्यो पनि पूरा भएको छ । उनी रोए, हाँसे, अनि पहिलो पटक आईपीएल उपाधि उचाले । लगातार १८ औं पटक प्रतियोगिता खेलेर कोहलीले यो सफलता पाएका हुन् । संयोग के भने उनको जर्सी नम्बर नै १८ छ । बेंगलुरुले पहिले ब्याटिङ गर्दै ९ विकेटमा बनाएको १ सय ९० रनमा कोहली ४३ रनसहित व्यक्तिगत उच्च रनकर्ता रहे ।
श्रेयसको कप्तानी प्रदर्शन
पन्जाबका लागि सबैभन्दा राम्रो खेल्ने खेलाडीमा रहे, कप्तान श्रेयस ऐर । टिमलाई दोस्रोपल्ट आईपीएलको फाइनल पुर्याउन उनले निर्णायक प्रदर्शन गरे । उनको ब्याटिङका लागि खेलाडी लिलामीमा पन्जाबले चर्को मूल्य तिरेको थियो । श्रेयसमाथि सबैभन्दा बढी विश्वास देखाउनेमा थिए प्रशिक्षक रिकी पोन्टिङ । श्रेयसले यसपल्ट ६ सय ४ रन बनाए । त्यसमा मुम्बई इन्डियन्सविरुद्ध इलिमिनेटर सनसनीपूर्ण अविजित ८७ रन थियो ।
किशोर खेलाडीको सनसनी
राजस्थान रोयल्सका १४ वर्षे वैभव सूर्यवंशी यसपल्ट आक्रामक ब्याटिङ गर्दै विश्व क्रिकेटको ध्यान आफूतिर तान्न सफल रहे । उनले आईपीएल डेब्युमै पहिलो बलमा छक्का प्रहार गरे लखनउ सुपर जायन्ट्सविरुद्ध । सूर्यवंशीले पछि गुजरातविरुद्ध शतक बनाए । उनले ३५ बलमै शतक बनाए । त्यसमा सामेल थियो ११ छक्का र ७ चौका । चेन्नई सुपर किंग्सविरुद्धको आफ्नो अन्तिम खेलमा पनि उनले ५७ रन बनाए ।
असफल पन्त
लखनउ जायन्ट्सले ऋषभ पन्तका लागि कीर्तिमानी रकम खर्चेको थियो । तर, भारतीय विकेटकिपर/ब्याटर त्यसअनुसार प्रदर्शन देखाउन असफल रहे । उनको खास परिचय नै आक्रामक ब्याटिङ थियो तर त्यसको छनक नै दिन सकेनन् । यस्तोमा लखनउ लिग चरणका दुई खेलअगाडि नै प्लेअफ समीकरणबाट बाहिरियो । लखनउको अन्तिम खेलमा उनले आरसीबीविरुद्ध भने शतक बनाए ।
तनावबीच प्रतियोगिता
भारत र पाकिस्तानबीचको तनावबीच यसपालिको आईपीएल मे ९ मा रोकिएको थियो । त्यतिबेला धर्मशालामा पन्जाब र दिल्ली क्यापिटल्सबीच खेल चलिरहेको थियो । धर्मशालाभन्दा २०० किलोमिटर परको जम्मूमा विष्फोटको आवाज आएपछि खेल रोकिएको थियो । पछि खेलाडी र खेल पदाधिकारीलाई विशेष ट्रेनबाट नयाँ दिल्ली ल्याइएको थियो । मे १७ बाट प्रतियोगिता फेरि सुरु भयो ।
