बाँसबारी माविले जित्यो चेयरम्यान कप चेस

जेष्ठ २२, २०८२

कान्तिपुर संवाददाता

Bansbari Mavi won the Chairman's Cup Chess

काठमाडौँ — बाँसबारी माविले चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप जितेको छ । बालुवाटारमा बिहीबार भएको प्रतियोगितामा सर्वाधिक ७६ अंक जोड्दै बाँसबारी विजेता बन्यो ।

हिमालयन चेस एकेडेमीको व्यवस्थापनमा काठमाडौं महानगरपालिका ४ ले आयोजना गरेको र्‍यापिड चेस प्रतियोगिताका ६ स्पर्धामा २० विद्यालयका ३ सय १९ खेलाडीले भाग लिएका थिए । प्रत्येक स्पर्धामा शीर्ष १० खेलाडीलाई दिइएको अंकका आधारमा बाँसबारी च्याम्पियन भएको हो । नेसनल क्रियटिभ को–एडुकेसनल स्कुल (एनसीसीएस) ५३ अंकसहित उपविजेता बन्यो । महेन्द्र राष्ट्रिय मावि ३२ अंक जोड्दै तेस्रो भयो ।

व्यक्तिगत स्पर्धामा बाँसबारीकी सिमरन कार्की ४ अंक बटुल्दै कक्षा १–४ गर्ल्समा विजेता भइन् । बाँसबारीकै सुप्रिया मोक्तान, धुम्रबाराही माविकी सन्ध्याकुमारी शाह र महेन्द्र राष्ट्रियकी आशिका लोप्चनले ३–३ अंक जोडे पनि टाइब्रेकका आधारमा सुप्रिया दोस्रो र सन्ध्या तेस्रो भए ।

ब्वाइजतर्फ मेरिडियन स्कुलका आयम सुवेदी ५ खेल जिेतर विजेता भए । एनसीसीएसका अर्णव मानन्धरले समान ४ अंक जोडेका आफ्नै स्कुलका श्रेयांश सापकोटालाई टाइब्रेकमा उछिन्दै दोस्रो स्थान हात पारे ।

कक्षा ५–८ गर्ल्समा एनसीसीएसकी आराध्य गुप्ता ५ अंक जोड्दै विजेता भइन् । धुम्रबाराहीकी समिक्षा नेपाल (४.५ अंक) दोस्रो र बाँसबारीकी अप्सरा खत्री (४) तेस्रो भए । ब्वाइजतर्फ पञ्चकन्या आधारभूत विद्यालयका अतिश महर्जन ६.५ अंकसहित विजेता भए । समान ६ अंक जोडेका बाँसबारीका शिशिर ढकाल दोस्रो र सुमिर तामाङ तेस्रो स्थानमा रहे ।

कक्षा ९–१२ गर्ल्समा बागमती बोर्डिङकी देवयानी गुरागाईंले ५ अंक जोडेर पहिलो स्थान हासिल गरिन् । बागमतीकै मायुमी राई ४ अंकसहित दोस्रो भइन् । टाइब्रेकरमा पछाडि परेपछि एनसीसीएसकी आँचल चौधरी तेस्रो भइन् । ब्वाइजतर्फ न्युटनका सोहन प्रजापतिले ६.५ अंक जोड्दै पहिलो स्थान हासिल गरे । बृहस्पति विद्यासदनका प्रेमविक्रम अधिकारीले समान ६ अंक बनाएका बागमतीका आयुष बस्नेतलाई टाइब्रेकमा हराएर दोस्रो स्थान हात पारे ।

विजेतालाई आयोजक वडा ४ का वडाध्यक्ष दिनेश महर्जन, हिमालयन चेसकी मोनालिशा खम्बूलगायतले ट्रफी प्रदान गरे ।

कान्तिपुर

Link copied successfully