कर्मचारी खेलकुद बुधबारदेखि हुने

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

Staff sports will be held from Wednesday

काठमाडौँ — कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) ले १४ औं कर्मचारी खेलकुद प्रतियोगिता यही जेठ २१ देखि २८ गतेसम्म आयोजना गर्ने भएको छ ।

खेलकुदमा फुटसल, ब्याडमिन्टन र टेबलटेनिसको प्रतियोगिता गरिनेछ । प्रतियोगितामा नेपाल सरकारका पूर्ण र आंशिक स्वामित्वमा रहेका सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, दूरसञ्चार सेवा प्रदायक कम्पनी र वायुसेवा कम्पनीहरूले भाग लिने पाउनेछ ।

फुटसलमा ४ महिला र १५ पुरुष टोलीको सहभागिता रहनेछ । ब्याडमिन्टनमा महिला तथा पुरुष सिंगल/डबल्स, भेट्रान्स सिंगल/डबल्स (४५ वर्षमाथि) एक्जुकेटिभ डबल्स (तह ९ वा प्रथम श्रेणी र त्यसभन्दा माथिल्लो तहका कर्मचारी समावेश) मा प्रतिस्पिर्धा हुनेछ ।

टेबलटेनिसमा महिला तथा पुरुष सिंगल/डबल्स, मिक्स डबल्स र एक्जुकेटिभ सिंगल (तह ९ वा प्रथम श्रेणी र सो भन्दा माथिल्लो तहका कर्मचारी) को स्पर्धा समावेश गरिएको संघका अध्यक्ष रामविनय श्रेष्ठले जानकारी गराए ।

प्रतियोगितामा राष्ट्रिय वाणिज्य बैंक, नेपाल नागरिक उड्डयन प्राधिकरण, कृषि विकास बैंक, नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल बैंक, नेपाल वायुसेवा निगम, जनक शिक्षा सामग्री केन्द्र, नागरिक लगानी कोष, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल वन निगम, राष्ट्रिय जीवन बिमा कम्पनी, सार्वजनिक सेवा प्रशारण केन्द्र, कृषि सामग्री कम्पनी, दुग्ध विकास संस्थान र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग आबद्ध कर्मचारी र खेलाडीको सहभागिता रहनेछ ।

ब्याडमिन्टन हात्तीगौडास्थित र्‍याकेट एन्ड रोल ब्याडमिन्टन हल, टेबलटेनिस लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्र र फुटसल टोखास्थित ग्रान्डी स्पोर्ट्स सेन्टरमा हुनेछ ।

फुटसल विजेताले ५५ हजार, उपविजेताले ३३ हजार, तेस्रो हुने टिमले २२ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विधागत शीर्ष तीन स्थानका विजेताले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

कान्तिपुर

Link copied successfully