आईपीएल फाइनल २०२५ : पानी परे के हुनेछ ?

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

IPL Final 2025: What will happen if it rains?

काठमाडौँ — इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनल आज हुँदैछ र उपाधिको यो भिडन्तमा पानी पर्ने सम्भावना उत्तिकै रहेको मानिएको छ ।

अहमदावादको नरेन्द्र मोदी रंगशालामा हुने फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरु र पंजाव किंग्स भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ७.४५ मा सुरु हुनेछ ।

त्यतिबेला हल्का वर्षा हुने अनुमान गरिएको छ । साँच्चै त्यस्तै भए के हुनेछ त ? खेल केही समयका लागि वर्षाले प्रभावित रहेमा केही समस्या हुने छैन । किनभने आईपीएलमा यसपल्ट १ सय २० मिनेटको अतिरिक्त समय राखिएको छ । त्यसको अर्थ के भने वर्षाले प्रभावित हुँदा पनि खेल मध्यरातमा टुंगिन सक्छ ।

खेल पूर्णतः वर्षाले प्रभावित रह्यो भने एक दिन पछाडि सर्नेछ, त्यो भनेको बुधबार । जुन ४ लाई फाइनलको ‘रिजर्भ डे’ का रूपमा राखिएको छ । त्यो दिन पनि खेल हुन सकेन् भने के हुनेछ त ? त्यसको उत्तर हो, उपाधि त्यही टिमले जित्नेछ, जसको लिग चरणमा प्रदर्शन सबैभन्दा राम्रो थियो ।

त्यतिबेला फाइदा पञ्जाबलाई हुनेछ, किनभने यो टिम लिग चरणको समाप्तिमा अंक तालिकाको शीर्षमा रहेको थियो । यो पल्टको आईपीएललाई वर्षाले दुःख नै दिएको छ । तर १ सय २० मिनेटको अतिरिक्त समयको नियमका कारण वर्षाले व्यवधान पुर्‍याएको खण्डमा पनि खेलको निर्णय भने आउन सक्नेछ ।

कान्तिपुर

Link copied successfully