बर्दिया — बारबर्दिया नगरपालिकाको साढे ४ करोड लागतमा निर्माण भएको ब्याडमिन्टन कभर्डहल ‘गुणस्तरहीन’ भएको आरोप लगाइएको छ । उद्घाटन भएको तीन महिनामा करोड लागतमा बनेको कभर्डहलको अवस्था जर्जर बनेको छ ।
बारबर्दिया नगरपालिका–६ धामपुरस्थित निर्माण भएको कभर्डहलको छतबाट पानी चुहिन थालेको छ । फागुन दोस्रो साता कभर्डहलको उद्घाटन भएको थियो । ठूलो लगानीमा निर्माण भएको कभर्डहलमा समस्या देखिएपछि कमसल काम भएकोमा स्थानीय आक्रोशित बनेका छन् ।
अघिल्लो साताको वर्षातमा कभर्डहलभित्र पानी पस्नुका साथै चुहिएको भिडियो सामाजिक सन्जालमा सार्वजनिक हुँदा पालिकाको बजेट बालुवामा खन्याएजस्तै भएको टीकाटिप्पणी भइरहेको छ । निर्माण व्यवसायीले मापदण्डअनुसार म्याट नलगाएको खेलाडीहरूको अर्को आरोप छ ।
पालिकाको लगानीमा बनेको कभर्डहलबाट आफूहरू खुसी नभएको खेलाडीको गुनासो थियो । ‘तीन महिना नपुग्दै ह्वाल ह्वाल्ती पानी पसेको देख्दा र मापदण्डअनुसार म्याट नहुँदा हामी दुःखी भयौं,’ ती खेलाडीले भने, ‘निर्माण व्यवसायीको लापरवाहीले कमसल काम भएको छ, तर पनि सम्बन्धित निकाय मौन बसेको छ ।’ कभर्डहलमा देखिएको समस्याबारेमा नगरपालिकालाई जानकारी गराइसकेको बारबर्दिया ब्याडमिन्टन क्लबका उपाध्यक्ष झलकबहादुर गिरीले बताए ।
बारबर्दिया नगरपालिकाको साढे ४ करोड अनुदान बजेटबाट कभर्डहल निर्माण भएको नगर प्रमुख छविलाल थारुले बताए । ‘भेन्टिलेसन लुज भएकाले वर्षातको पानी हलभित्र पस्यो,’ उनले भने, ‘कमीकमजोरी सुधार्न निर्माण व्यवसायीहरूलाई पत्राचार गरिसकेका छौं ।’निर्माण व्यवसायीहरूको ५ प्रतिशत रकम राखेर पहिला नै भुक्तानी भइसकेको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाईंले बताए । ‘निर्माण व्यवसायीले म्याट पनि गुणस्तरहीन प्रयोग गरेको गुनासो आएको छ,’ उनले भने, ‘त्यो पनि परिर्वतन गर्न निर्माण व्यवसायीलाई पत्राचार गरिएको छ ।’ निर्माण व्यवसायीले नगरे पालिकामा राखेको ५ प्रतिशत रकमबाट कमीकमजोरी सुधार गर्ने प्रशासकीय अधिकृत गोसाईंको भनाइ छ ।
तलको स्ट्रक्चर र माथिको ट्रस्टको काम सुर्खेती खड्का निर्माण सेवाले गरेको थियो भने म्याट लगाउने र फिनिसिङको काम दीपक बिल्डर कोहलपुरले गरेको बारबर्दिया नगरपालिकाका योजना तथा अनुगमन शाखाका अधिकृत गोविन्द पुरीले बताए ।
‘कुन निर्माण व्यवसायीले कति बजेटमा काम गरेको विवरण हेर्न कम्प्युटर खोल्नुपर्छ,’ उनले भने, ‘आज विद्युतलाइन छैन, कार्यालयमा ब्याकअफ नभएकोले कम्प्युटर खुल्दैन ।’ आइतबार मात्र विवरण दिने अधिकृत पुरीले जनाए ।
ट्रस्टको काम आफूहरूले नगरेको दीपक बिल्डर कोहलपुरका विशाल खड्काले बताए । ‘चाइनाबाट मगाएर मापदण्डअनुसारको कभर्डहलमा म्याट लगाएको हो,’ उनले भने, ‘अलि अलि खुइलिएको देखिए पनि गुणस्तरीय म्याट हो ।’ गुणस्तरको कभर्डहल निर्माण गरी मंसिरमा पालिकालाई हस्तारन्तरण गरेको खड्काको दाबी छ ।
