प्रिमियर लिग करातेमा एरिकाले जितिन् कांस्य पदक

जेष्ठ १९, २०८२

ध्रुव तुलाधर

Erika wins bronze medal in Premier League Karate

काठमाडौँ — नेपाली कराते खेलाडी एरिका गुरुङले प्रतिष्ठित प्रतियोगिता कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी छन् । हिमालयन वारियर एरिकाले आइतबार राति मोरक्कोको राजधानी रावतमा प्रिमियर लिगमा महिला ६८ केजीमाथि तौल समूहमा उक्त सफलता पाएकी हुन् । कांस्य पदकको प्रतिस्पर्धामा एरिकाले फ्रान्सेली खेलाडी क्लेमेन्स पिईलाई ६–२ अंकले पराजित गरेकी थिइन् ।

स्पेनिस मारिया गार्सिया टोरेससँग पराजित भएपछि उनी कांस्य भिडन्तमा पुगेकी हुन् । मारियासँग ५–५ अंकको बराबरी खेलेपछि सेन्सुका आधारमा एरिका पराजित भएकी थिइन् । त्यसपछि उनी कांस्यको भिडन्तमा पुगेकी थिइन् ।  

नेपाली करातेका लागि ऐतिहासिक उपलब्धि हासिल गर्दै आएकी एरिकाले विश्वका शीर्ष खेलाडीले मात्र प्रिमियर लिगको पहिलो सहभागितामै पदक जितेकी हुन् ।

समूह चरणमा एरिका पोल ६ मा परेकी थिइन् । टर्की, इटाली र साइप्रसको खेलाडी रहेको पोलबाट शीर्षस्थानमा रहँदै अगाडि बढेकी थिइन् ।

नकआउट चरणमा एरिकाले इजिप्टकी महगुब हादीलाई ८–२ ले पराजित गरी सेमिफाइनल पुगेकी थिए, जहाँ उनी स्पेनकी मारियासँग सेन्सुमा हारेकी थिइन् । मोरियाले इंग्ल्यान्डकी रोचेल्स वाल्टर्सलाई ४–२ ले हराएर उक्त तौलको स्वर्ण जितिन् ।

Erika wins bronze medal in Premier League Karate

यस प्रिमियर लिगमा नेपालबाट एरिकाको मात्र सहभागिता रहेको थियो । उनी उज्वेकिस्तानको ताजकन्दमा भएको २१ औं एसियन सियिनर कराते च्याम्पियनसिप खेलेर सिधै प्रिमियर लिग खेल्न रावत गएकी हुन् । एसियन च्याम्पियनसिपको २० औं संस्करणमा रजत जितेकी एरिका यसपालि पदकविहीन भएकी थिइन् ।

कराते लिगमा एरिकाका लागि मोरक्कोमा जितेको पदक दोस्रो हो । यसअघि फेब्रुअरीमा एरिकाले यूएईमा भएको कराते युथ लिग के–वानमा रजत पदक जितेकी छन् । उनले युएईको फुजैराहमा भएको युथ लिमा भारत, काजकिस्तान र टर्कीका खेलाडीमाथि सफलता पाएकी थिइन् ।

पछिल्लो दुई वर्षको अवधिमा एरिकाले नेपाली करातेलाई ऐतिहासिक पदकहरू दिलाएकी छन् । १९ औं एसियाली खेलकुदमा रजत पदक जितेपछि नेपाली करातेको सान बनेकी धादिङकी खेलाडी एरिकाले एसियन च्याम्पियनसिपको रजतसहित इन्डोनेसियाको जकार्तामा १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, अमेरिकाको टेक्ससमा यूएस ओपन कराते च्याम्पियनसिपमा स्वर्ण र रजत तथा भुटानको थिम्पूमा आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण, अस्ट्र्र्रेलियन ओपनमा स्वर्ण, सिंगापुरको १६ औं एपीएसकेएफ कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् ।

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully