स्कटल्यान्डका प्रमुख पाँच खेलाडी विश्वकप लिग २ को यस शृंखला खेलिरहेका छैनन्
डन्डी — नेपालका लागि स्कटल्यान्ड निकै अब्बल प्रतिद्वन्द्वी हो । विगतका नतिजा हेर्ने हो भने नेपालले थोरै खेलमा मात्र स्कटल्यान्डविरुद्ध चुनौती पस्कन सकेको छ । तर, धेरै खेलमा निराशाजनक परिणाम नै भोगेको छ । विश्वकप क्रिकेट लिग–२ को एउटा नयाँ शृंखला सोमबार डन्डीमा सुरु हुँदा नेपाललाई स्कटल्यान्डविरुद्ध हाबी हुने मौका छ ।
यसको एउटै कारण हो स्कटल्यान्ड टोली । घरेलु टोली स्कटल्यान्डका ५ प्रमुख खेलाडी यस लिग २ को शृंखलामा खेलिरहेका छैनन् । सन् २०२३ को विश्वकप छनोटमा नेदरल्यान्ड्सका प्रमुख ७ खेलाडी थिएनन्, तर टोली छनोट चरण पार गर्दै विश्वकपमा पुगेको थियो ।
नेदरल्यान्ड्स जस्तै स्कटल्यान्डको पनि घरेलु संरचना राम्रो छ । त्यसैले प्रमुख खेलाडीबिना पनि स्कटल्यान्डको प्रभावशाली प्रदर्शन गर्न सक्ने क्षमता छ । विशेषगरी आफ्नो मौका कुरिरहेका स्कटिस खेलाडीका लागि ‘ब्रेक थ्रु’ गर्ने मौका हो भने अन्य केहीलाई राष्ट्रिय टोलीमा स्थापित गर्ने यो उत्कृष्ट अवसर छ ।
स्कटल्यान्डले हालै गरेको नेदरल्यान्ड्स भ्रमणको लिग २ मा ब्राड करीले ३ खेलमा १० विकेट लिएका थिए । नेदरल्यान्ड्सविरुद्धको एक खेलमा उनले ५२ रन खर्चेर ४ विकेट लिएका थिए, एकदिवसीय अन्तराष्ट्रियमा यो उनको दोस्रो उत्कृष्ट बलिङ प्रदर्शन हो । १२ खेलमा २६ विकेट लिइसकेका यी २६ वर्षे देव्रेहाते तीव्र गतिका बलर यसपालि नेपाल र नेदरल्यान्ड्सविरुद्ध खेल्दा छैनन् ।
करी इंग्लिस काउन्टीको टोली ससेक्सबाट सेतो बलमा रमाइरहेका छन् । उनको ‘ब्रेड एन्ड बट्टर’ ससेक्सले नै धानिदिएको छ । त्यही भएर उनको रोजाइ स्कटल्यान्डको राष्ट्रिय टोलीभन्दा पनि ससेक्स हुन पुग्यो । सरेको दोस्रो टोलीबाट उनी ट्वान्टी–२० खेलिरहेका छन् । स्कटल्यान्ड क्रिकेटले लिग २ का लागि आफ्नो टोलीको घोषणा गर्नेक्रममा धेरै खेलाडी काउन्टी क्रिकेटको प्रतिबद्धतासहित जागिर र व्यक्तिगत कारण उपलब्ध हुन नसकेको जनाएको छ ।
करीमात्र होइनन्, ब्राड ह्विल, एन्ड्रयु उमिद, जोस डेभ, माइकल जोन्स पनि काउन्टी टोलीसँगको सम्झौताका कारण स्कटल्यान्ड टोलीमा छैनन् । नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सबाट खेलिसकेका क्रिस सोलले व्यक्तिगत कारण देखाई स्कटिस टोलीबाट नाम फिर्ता लिएका छन् ।
तर जर्ज मुन्सी, ब्रान्डन म्याकमुलेन, कप्तान रिची बेरिङ्टन, म्याथ्यु क्रसको उपस्थितिमा स्कटल्यान्डको ब्याटिङ निकै मजबुत देखिन्छ । ठीक एक महिनाअघि नेदरल्यान्ड्सविरुद्धको अन्तिम खेलमा म्याकमुलेन र बेरिङ्टनले शतक बनाए भने मुन्सीले ५६ बलमा ८० रन बनाएका थिए ।
साफयान सरिफ, मार्क वाट, ज्याक जर्भिस र माइकल लिस्कले स्कटल्यान्डको बलिङ मोर्चा सम्हाल्ने छन् । जर्भिसले दुई वर्षअघि कीर्तिपुरमा नेपालविरुद्धको खेलबाट एकदिवसीय अन्तराष्ट्रियमा ‘डेब्यु’ गरेका थिए । चार्ली क्यासेल टोलीका प्रमुख बलर हुन् । गत वर्ष उनले डन्डीमै आफ्नो ‘डेब्यु’ मा ओमानविरुद्ध ५.४ ओभरमा २१ रन खर्चेर ७ विकेट लिए, जुन कुनै पनि खेलाडीको एकदिवसीय अन्तराष्ट्रिय ‘डेब्यु’ मा उत्कृष्ट बलिङ प्रदर्शन हो ।
तर, स्कटल्यान्डलाई पराजित गर्ने हो भने नेपालले आफ्नै ब्याटिङमा ठूलो सुधार ल्याउनुपर्ने हुन्छ । स्कटल्यान्डलाई विदेशी भूमिमा दुई पटक पराजित गर्दा शेख दाजुभाइ आरिफ र आसिफले प्लेयर अफ द म्याच प्रदर्शन गरेका थिए । स्कटल्यान्ड ‘ए’ सँग शनिबार अभ्यास खेलमा दाजुभाइ नै ‘डकआउट’ भएका थिए । नेपाली टोलीमा हालै उपकप्तानमा पुनः बढुवा भएका दीपेन्द्रसिंह ऐरी स्कटल्यान्ड ‘ए’ सँग खाता नखोली आउट हुने तेस्रो ब्याटर थिए ।
त्यस बावजुत भीम सार्की, कप्तान रोहित पौडेल र गुलशन झाको अर्धशतकमा नेपालले ४५ ओभरमा ९ विकेट गुमाई २ सय ५३ रन बनाएको थियो । आसिफका ओपनिङ जोडी कुशल भुर्तेलले पनि ठूलो इनिङ्स खेल्न संघर्ष गर्दै आएका छन् । राम्रो सुरुआत गरेका उनी ४४ बलमा ५ चौकासहित ३१ रनमा आउट भए । स्कटल्यान्ड ‘ए’ सँग पहिलो अभ्यास खेलमा नेपाल २९.४ ओभरमै १ सय १८ रनमा अलआउट भएपछि १ सय २ रनमा पराजित भएको थियो । स्कटल्यान्ड ‘ए’ ले १३ ओभरमा ३ विकेट गुमाई ६४ रन बनाएको अवस्थामा खेल वर्षाले बिथोलेपछि पुनः हुन सकेन । डन्डी आउनुअघि नेपालले इंग्ल्यान्ड र वेल्समा ५ अभ्यास खेल खेलेको थियो । सबै खेलमा जित हात पारेको नेपाल ब्रिटिस कन्डिसनमा भिज्न अभ्यस्त थियो ।
स्कटल्यान्डसँग सोमबार फोर्थहिलमा यस लिग २ शृंखलाको पहिलो खेल खेल्दा नेपालले अभ्यासमा गरेका गल्तीहरू सुधार्ने छ । सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकालसामु नेपालको तीव्र गतिको बलिङलाई तिखार्नुपर्ने चुनौती छ । स्पिनमा सन्दीप लामिछाने र ललित राजवंशी छन् । दीपेन्द्रको अफ स्पिन पनि प्रभावकारी हुने भएकाले नेपालले सिमिङ कन्डिसनको हिसाबले दुई प्रमुखमध्ये एक स्पिनरमात्र खेलाउन सक्नेछ ।
एकदिवसीय अन्तराष्ट्रिय र लिग २ मा नेपालको प्रदर्शन पछिल्लो समय निकै कमजोर छ । तर, स्कटल्यान्डसँगको नेपालको प्रदर्शन ठीक उल्टो छ । नेपालले पछिल्ला ४ खेलमा ३ मा विजय हात पारेको छ भने ड्यालसमा पछिल्लो खेल वर्षाका कारण रद्द भएको थियो । अस्ट्रेलियाका स्टुवार्ट लको प्रशिक्षणमा नेपालले पहिलो आधिकारिक खेल खेल्न लागेको हो । उनी पहिलो खेलबाटै नतिजामा हाबी हुने दाउमा छन् । तर उनले पनि बुझेकै हुनुपर्छ, स्कटल्यान्डविरुद्ध उसकै घरमा खेल्न सजिलो हुने छैन ।
