१३ औं कान्तिपुर हाफ म्याराथनमा खडकबहादुर खडका र सन्तोषी श्रेष्ठ पहिलो पटक च्याम्पियन
काठमाडौँ — ‘कान्तिपुरको टाइटल जित्नु मेरो ड्रिम थियो । अरू धेरै ड्रिम पूरा भएपछि यो ड्रिम पनि पूरा भएको छ । त्यसैले एकदमै उत्साही छु ।’
शनिबार १३ औं संस्करणको कान्तिपुर हाफ म्याराथन जितेपछि ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले भनिन् । उनले १ घण्टा २३ मिनेट २८ सेकेन्डमा दौड पूरा गर्दै पहिलो पटक कान्तिपुर हाफ म्याराथनको ट्रफी उचालेकी हुन् ।
‘मेरो दाइ, गुरु, परिवार सबैलाई एकचोटि कान्तिपुरको टाइटल जितोस् भन्ने चाहना थियो । तर कहिले अफ्रिका, कहिले ओलम्पिकको तयारी अनि त्यस्तैत्यस्तै कारणले अवसर मलाई मिलिरहेको थिएनँ । अहिले मौका जुर्यो, पहिलो नै भएँ ।
मलाई टाइनिङ, आफ्नो उत्कृष्ट प्रदर्शन, त्यो केही मतलब थिएन, मात्र टाइटल जित्नु थियो, जितें,’ सन्तोषीले आफ्नो कान्तिपुरको उपाधि जित्ने सपनालाई यसरी सुनाइन् ।
महिला हाफ म्याराथन उपविजेता पूर्णलक्ष्मी न्यौपानेलाई केएमजीका सीईओ महेश स्वाँर र ग्लोबल आईएमई बैंकका डेपुटी सीईओ सुमन पोखरेल (दायाँ) ।
लन्डन म्याराथन खेलेर गत साता मात्र फर्केकी सन्तोषीको प्रतिद्वन्द्वीमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने थिइन् । पूर्णलक्ष्मीले १ घन्टा २५ मिनेट ५७ सेकेन्डबाट दोस्रो स्थान ओगटिन् । गत वर्ष उनी चौथोमा थिइन् । एपीएफकी पुष्पा भण्डारी तेस्रो भइन् । उनले १ घन्टा २६ मिनेट ४३ सेकेन्ड लगाइन् । गत वर्ष पुष्पा दोस्रो स्थानमा थिइन् ।
व्यक्तिगत तेस्रो प्रयासमा यो हाफ म्याराथनको विजेता बनेकी सन्तोषीले ५ किमितर्फ चार पटक उपाधि जितेकी थिइन् । सन्तोषी हाफ म्याराथनमा दुईपटक उपविजेता रहिन् । जतिबेला उनी मध्यम दूरीमा दौड्ने गर्थिन् । उनले स्मरण गरिन्, ‘१३ औं सागअघिको समयमा जतिबेला म मध्यम दूरीमा दौडिने गर्थें, त्यतिबेला भाग लिएर दोस्रो भएको थिएँ, जबकि म जुनियरै थिएँ । लाग्थ्यो, एक पटक पहिलो हुन्छु । त्यो सोच अहिले सार्थक पारेको छु ।’
सागमा १० हजार मिटर दौडमा स्वर्ण जितेर ‘गोल्डेन गर्ल’ को पहिचान बनाएकी धादिङकी सन्तोषीले पेरिस ओलम्पिक, एसियाली खेलकुदलगायत थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागिता जनाएकी छन् ।
सन्तोषीजस्तै १३ औं कान्तिपुर हाफ म्याराथनको पुरुषतर्फ आर्मीका धावक खडकबहादुर खडका पनि पहिलो पटक उपाधि जित्न सफल भए । उनले १ घण्टा ०६ मिनेट ४७ सेकेन्डमा दौड पूरा गरेका थिए । खडकले दोस्रो सहभागितामा उपाधि जितेका हुन् ।
उनलाई केन्याका प्रतिद्वन्द्वी जुलियस मुरिउकीले कडा टक्कर दिएका थिए । माइतीघर मण्डलाको मोडबाट जुलियसलाई उछिनेर खडकले उपाधिमा बाजी मारे । जुलियसको टाइमिङ १ घण्टा ०६ मिनेट ५६ सेकेन्ड थियो ।
हाफ म्याराथन उपविजेता केन्याका जुलियसलाई पुरस्कृत गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र कान्तिपुरका प्रधान सम्पादक उमेश चौहान ।
‘प्रशिक्षण गरिरहेका आधारमा यसपालि जित्छु भन्ने लागिराथ्यो । किनकि प्रशिक्षणसँगै गर्ने तिनै खेलाडीहरू नै प्रतिद्वन्द्वी थिए । विदेशी प्रो धावक (जुलियस) पनि रहेकाले अलि डर भने थियो । हामी सँगसँगै थियौं, माइतीघरबाट मैले उसलाई उछिनेपछि स्पिड बढाएँ र उपाधि जितें,’ खडकले जितपछि सुनाए ।
उनी मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको प्रशिक्षण रहेका धावक हुन् । वैशाख १ मा पहिलो सहभागितामै धनगढी हाफ म्याराथन जितेका खडक उमेरले ४० पुगिसके । जाजरकोटका उनी खासमा म्याराथन धावक हुन् । म्याराथन तयारीलाई अझ मजबुत पार्न पछिल्लो समय उनी हाफ म्याराथन दौडिरहेका छन् । खडकसँग अन्तर्राष्ट्रिय पदकमा बंगबन्धु ढाका म्याराथनको कांस्य छ । उनको हाफ म्याराथनको उत्कृष्ट समय १ घण्टा ३ मिनेट ३१ सेकेन्डको हो । यसपालि पनि तेस्रो स्थानमा एपीएफका धावकका गोपीचन्द्र पार्की विजयी भए । उनले १ घण्टा ०८ मिनेट ४८ सेकेन्डमा दूरी पार गरेका थिए । गत वर्ष पनि गोपीचन्द्र सोही स्थानमै थिए । कान्तिपुर हाफ म्याराथनका नियमित प्रतिस्पर्धी गोपीचन्द्रले दुई पटक उपाधि जितिसकेका छन् । एक संस्करणबाहेक सबैमा उनको सहभागिता छ ।
नियमित प्रतिस्पर्धी उनले कान्तिपुर हाफ म्याराथनको व्यवस्थापनको सबै पक्ष राम्रो भइरहेको बताउँदै आयोजकलाई ‘स्टार्ट टाइमिङ एकुरेसी’ गर्न सुझाए । ‘हाफ म्याराथन, म्याराथनजस्ता दौडहरू जुन समय तोकिएको हो, त्यसमा सुरु हुनुपर्छ । यो अन्तर्राष्ट्रिय मान्यता हो । नत्र सुरुआत ढिला हुँदा व्यावसायिक खेलाडीको टाइमिङमा असर गर्छ । यो अन्तर्राष्ट्रिय रूपमा लाइभ भइरहेको इभेन्ट हो, त्यसले राम्रो सन्देश जाँदैन,’ पूर्व विजेता गोपीचन्द्रले भने, ‘हाम्रो मान्यता भनेको यो उत्कृष्ट प्रतियोगिता बन्नुपर्छ ।’ प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । उनको आगमनमा ढिलाइ हुँदा बिहान ७ बजे तय भएको दौड २० पछाडि धकेलिएको थियो ।
पुरुषतर्फ आर्मीका धावक राजन रोकाय चौथो, सञ्जय श्रेष्ठ पाँचौं र रामजी बस्नेत छैटौं भए । राजनले १ घण्टा ०९ मिनेट ४५ सेकेन्ड, सञ्जयले १ घन्टा १० मिनेट ३२ सेकेन्ड र रामजीले १ घण्टा १० मिनेट ५२ सेकेन्डमा दौड पूरा गरे । महिलातर्फ आर्मीकी सिर्जना पाण्ड्ये (१ घण्टा ३० मिनेट ५७ सेकेन्ड), भारतकी आशा टीपी (१ घण्टा ३४ मिनेट ०१) र सिन्धुलीकी मञ्जु सुनुवार (१ घण्टा ५१ मिनेट ४८) क्रमशः चौथोदेखि छैटौं स्थानमा विजयी भए । मञ्जु गत वर्ष कलेज रनमा तेस्रो भएकी थिइन् ।
हाफ म्याराथनका पुरुष र महिला विजेताले जनही १ लाख ५० रुपैयाँ पुरस्कार जितेका छन् । दोस्रोदेखि छैटौं हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार पुरस्कार पाए । यो गत वर्षभन्दा बढेको पुरस्कार राशि हो ।
ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा ‘लेट्स रन फर ग्रिनर टुमरो’ थियो । आयोजक कान्तिपुर पब्लिकेशन्स लिमिटेडको कार्यायल थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क अगाडिबाट हाफ म्याराथन सुरु भएको थियो । ७ किमि कलेज रनको ब्वाइजतर्फ अजय पाण्डे (२१ मिनेट २४.२२ सेकेन्ड), अमृत विश्वकर्मा (२१ मिनेट ३१.२५ सेकेन्ड), विश्वराम कुँवर (२१ मिनेट ५६.५७ सेकेन्ड) ले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे । विश्वराम अघिल्लो वर्ष दोस्रो भएका थिए ।
कलेज रन गर्ल्सतर्फ सुसन कार्की लगातार दोस्रो वर्ष पनि विजेता भइन् । उनले २९ मिनेट ०७ सेकेन्डमा दूरी पूरा गरिन् । उनले गत वर्ष पनि २९ः५५ मिनेटमा दौड जितेकी थिइन् । आयुष्मा आचार्य (३० मिनेट ०९ सेकेन्ड) दोस्रो र मनीषा थापा (३० मिनेट ३६ सेकेन्ड) तेस्रो भए ।
५ किमि कर्पोरेट तथा सेलेब रनमा पुरुषतर्फ विकेश घिमिरे १८ मिनेट ३८ सेकेन्डबाट पहिलो भए । उनी गत वर्षका पनि विजेता हुन् । रेवत दाहाल (१९ मिनेट १६ सेकेन्ड) दोस्रो र शेरबहादुर थारु (१९ मिनेट २२ सेकेन्ड) तेस्रो भए ।
कर्पोरेट रनकी विजेता रेजिना दुवाललाई गिफ्ट ह्याम्पर प्रदान गर्दै केएफसीका फाइनान्स प्रमुख ऋतुराज शाह र केटीभीका सीओओ सुरजसिंह ठकुरी । तस्बिरहरू : दीपक केसी, हेमन्त श्रेष्ठ,महेश प्रधान/कान्तिपुर
कर्पोरेटको महिलातर्फ रेजिना दुलालले उपाधि जितिन् । उनले २४ मिनेट १० सेकेन्डमा ५ किमि दौड पूरा गरिन् । बालिका केसीले २४ मिनेट ३८ सेकेन्डबाट दोस्रो र कल्पना महर्जन २६ मिनेट २२ सेकेन्डबाट तेस्रो भए । कलेज र कर्पोरेट रनका विजेताले गिफ्ट ह्याम्परहरू पुरस्कार पाए ।
...
३ किमि ह्विलचेयर विधामा प्रेम विक र ऐश्वर्यकुमारी कुमाल विजेता भएका छन् । उक्त रेसमा प्रेमले पहिलो पटक उपाधि जित्दा ऐश्वर्य लगातार तेस्रो पटक च्याम्पियन भइन् । पुरुषतर्फ रामकाजी मिजार दोस्रो र साविक विजेता रमेश खत्री तेस्रो भए । प्रेमले ४ मिनेट ५७ः१० सेकेन्ड, रामकाजीले ५ मिनेट ०९ः३० सेकेन्ड र रमेशले ५ मिनेट १६ः८९ सेकेन्डमा दौड पूरा गरेका थिए ।
ह्विलचेयर रेसका विजेता ऐश्वर्यकुमारी कुमाल र प्रेम विकलाई पुरस्कारको चेक प्रदान गरिँदै ।
महिलातर्फ ऐश्वर्यले यामीकुमारी झाँक्रीमगर र रजनी राईलाई पछाडि पारिन् । ऐश्वर्यले ५ मिनेट १९ः२३ सेकेन्डको टाइमिङमा आफूलाई विजेता बनाइन् । यामी दोस्रो र रजनी तेस्रो भए । गत वर्ष पनि यामी र रजनी सोही स्थानमा विजयी भएका थिए । यामी पाँच पटककी विजेता हुन् । यामीले ५ मिनेट ४३ः७४ सेकेन्ड र रजनीले ५ मिनेट २९ः११ सेकेन्डमा रेस पूरा गरे । ह्विलचेयर रेस विजेताले ३५ हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ पुरस्कार जिते ।
