विश्वकप क्रिकेट लिग २ : नेपालसामु चुनौतीका चाङ

स्कटल्यान्डको ‘कन्डिसन’ र विकेट नेपालका लागि तगारो

जेष्ठ १७, २०८२

विनोद पाण्डे

World Cup Cricket League 2: Chang's challenge to Nepal

लन्डन — नेपालको प्रमुख प्रशिक्षक बनेर काठमाडौं ओर्लिएलगत्तै स्टुवार्ट लको प्रतिक्रिया थियो, ‘मलाई हार्न मनपर्दैन, हारप्रति घृणा छ ।’ नेपालले स्कटल्यान्डको डन्डीमा विश्वकप क्रिकेट लिग–२ को शृंखलामा घरेलु टोली र नेदरल्यान्ड्सको सामना गर्दा उनको यो भनाइ उनीसामु ठूलो चुनौती बनेर आउने छ ।

विगतका नतिजा र प्रदर्शनका आधारमा हेर्ने हो भने नेपालले खेल्न लागेको यो सबैभन्दा कठिन शृंखला हो । नेपाल लिग–२ को पुछारमा छ भने अमेरिका शीर्षमा । दोस्रो स्थानमा नेदरल्यान्ड्स, तेस्रोमा ओमान र चौथोमा स्कटल्यान्ड छन् । शीर्ष तीनमा रहेका टोलीले २० खेल खेलिसकेका छन् । नेदरल्यान्ड्सको तुलनामा स्कटल्यान्डले ४ खेल कम खेलेको छ । नेदरल्यान्ड्सभन्दा नेपाल २० र स्कटल्यान्डभन्दा १४ अंकले पछाडि छ । 

स्कटल्यान्ड लिग–२ को डिफेन्डिङ च्याम्पियन हो भने नेदरल्यान्ड्स एकदिवसीय अन्तर्राष्ट्रियको सुपर लिगबाट आएको टोली हो । स्कटल्यान्ड र नेदरल्यान्ड्स भर्खरै नेदरल्यान्ड्समा लिग–२ को शृंखला खेलेर आएका हुन् । यूएई समावेश सो शृंखलाबाट नेदरल्यान्ड्सले ३ र स्कटल्यान्डले २ खेल जितेको थियो । अन्तिम दुई खेलमा यी दुई टोली एक आपसमा सामना गर्दा स्कटल्यान्डले नेदरल्यान्ड्सविरुद्ध ३ सय ८० रन प्रहार गरेको थियो । 

नेपालको चुनौती बलियो र शीर्षस्थ टोलीविरुद्ध खेल्नु मात्र छैन, कन्डिसन र विकेटको हिसाबमा पनि स्कटल्यान्डमा खेल्नु नेपालसामु अर्को ठूलो चुनौती हो । नेपालको फ्ल्याट विकेटको तुलनामा स्कटल्यान्डको घाँसे र बाउन्सी विकेट हुनेछ, जुन नेपाललाई सहज हुने छैन । शर्ट बलमा अझै नेपाली ब्याटर आत्मविश्वासी हुन नसकेको अवस्थामा स्कटल्यान्डको विकेट नेपालको लक्ष्यमा बाधक बन्न सक्ने छ । नेपालको कमजोरी पक्ष पत्ता लगाएर विपक्षीहरूले फ्ल्याट पिचमा पनि शर्ट बल तेर्स्याउँदै आएका छन् । डन्डीमा नेपाललाई यो झेल्न निकै कठिन हुन सक्नेछ । काठमाडौंको उच्च गर्मीको प्रशिक्षणबाट निखारिएर नेपाली टोली लन्डन आएको हो । वेल्सको कार्डिफमा एक तथा लन्डनमा तीन अभ्यास खेल खेल्नेक्रममा चिसोमा नेपाली खेलाडीहरूले स्वेटर र जम्पर लगाएर खेलेका थिए । हिल सिटी डन्डीमा अझ चिसो हावा लाग्ने गर्दछ । विशेष गरी स्पिनरहरूलाई बल ग्रिप गर्न यसले अझ कठिन बनाउँछ भने ब्याटरलाई त्यसै गाह्रो हुने नै छ । 

बिहीबारमात्र डन्डीमा स्कटल्यान्ड ‘ए’ विरुद्ध अभ्यास खेल खेल्दा नेपालले यो भोगाइ आत्मसात गरिसकेको छ । स्कटल्यान्ड ‘ए’ सँगको पहिलो अभ्यास खेलमा नेपाल १ सय २ रनले पराजित भयो । पहिला ब्याटिङ गरेको घरेलु टोलीले ४० ओभरमा ९ विकेट गुमाई २ सय २० रन बनाएको थियो । जबाफमा नेपाली टिम २९.४ ओभरमा १ सय १८ रनमै अलआउट भयो । आरिफ शेखले ४४ रन बनाउनु बाहेक नेपालबाट अन्यले खासै गतिलो योगदान दिन सकेनन् ।

सोमबार लिग–२ का खेल सुरु हुनुअघि नेपालले शनिबार स्कटल्यान्ड ‘ए’ सँग अर्को अभ्यास खेल खेल्नेछ । बेलायत भ्रमणबाटै प्रशिक्षक लले नेपालको प्रशिक्षण यात्रा औपचारिक रूपमा सुरु गरेका छन् । उनलाई साथ दिन दक्षिण अफ्रिकाका पूर्व विकेटकिपर निक पोथास नेपाली टोलीमा समावेश भएका छन् । श्रीलंका, वेस्ट इन्डिज, बंगलादेशको टोलीमा रहिसकेका पोथासलाई नेपाली टोलीमा कन्सल्ट्यान्ट प्रशिक्षकको भूमिकामा नियुक्त गरिएको छ । 

अस्ट्रेलियाबाट सन् १९९६ को विश्वकप खेलिसकेका लले एसोसिएट क्षेत्रमा आफूलाई प्रमाणित गरिसकेका छन् । उनकै प्रशिक्षणमा अमेरिका गत वर्ष घरेलु भूमिमा भएको ट्वान्टी–२० विश्वकपमा पाकिस्तान र आयरल्यान्डलाई उछिन्दै सुपर ‘एट’ मा पुगेको थियो । त्यस क्रममा अमेरिकाले समूह चरणको खेलमा पाकिस्तानलाई सुपर ओभरमा हराएको थियो । सन् २००९ मा उनी श्रीलंका राष्ट्रिय टोलीको सहायक प्रशिक्षक थिए । त्यसपछि ल २०११–१२ मा बंगलादेशको मुख्य प्रशिक्षक भए । २०१८ देखि उनी वेस्ट इन्डिजको मुख्य प्रशिक्षक थिए । एउटा शृंखलाका लागि उनी २०२२ मा अफगानिस्तानको पनि प्रशिक्षक बने । त्यसबाहेक उनी इंग्लिस काउन्टी टोली मिडलसेक्सको पनि प्रशिक्षक भए ।

प्रशिक्षणमा लामो अनुभव भए पनि ल कुनै जादुको छडी बोकेर नेपाल आएका होइनन् । १२ खेल खेलेको नेपाल केवल ६ अंक जोडेर पुछारमा छ । यसले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता रक्षा गर्ने अभियानमा ठूलो प्रश्नचिन्ह लगाइदिएको छ । घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँगको शृंखलाबाट नेपालले २०२४–२७ सर्कलको लिग–२ को यात्रा थालेको थियो । तर नेपालले त्यो शृंखलाको ४ खेलमा एकमात्र विजय हात पार्न सक्यो । नेपालको यात्रा यहींबाट धर्मराउन सुरु गरेको थियो । 

नेपालले २०१९–२३ सर्कलको लिग–२ मा अन्तिम १२ मध्ये ११ खेल जितर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतामात्र जोगाएन, सोझै विश्वकप छनोटमा पुगेको थियो । त्यसका ११ मध्ये घरेलु मैदानमा खेलेका सबै ८ खेल जितेको थियो । नेपालले उक्त सर्कलमा घरेलु मैदानमा खेलेको १२ मध्ये १० खेल जितेको हो । 

लिग–२ को शीर्ष चार टोली विश्वकप छनोटमा पुग्ने छन् भने बाँकी तलको चार टोलीले बढुवा भएर आउने टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनका लागि खेल्ने छन् । नेपालको दुई खेल वर्षाले रद्द भएको छ भने दुई खेल जितेको छ । बाँकी ८ खेलमा नेपालले पराजय भोगिसकेको छ । नेपालले अझै २४ म्याच खेल्न बाँकी छ । प्रशिक्षक लको लक्ष्य पक्कै शीर्ष चार हुनेछ । त्यसका लागि नेपालले स्कटल्यान्डबाटै केहि सकारात्मक नतिजा निकाल्न सक्नुपर्नेछ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully