ताप्लेजुङ — शनिबार बिहान सम्पन्न सिदिङ्वा हाफ म्याराथनको उपाधि पुरुषतर्फ विविसन लिङ्देन र महिलातर्फ जुही राईले जितेका छन् । प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सव २०८२ का अवसरमा आयोजित खुला म्याराथनतर्फको उपाधि ताप्लेजुङकै सिरिजङ्गा गाउँपालिका–५ पेदाङका लिङ्देनले जितेका हुन् ।
महिलातर्फकी विजेता भोजपुरको रामप्रसाद गाउँपालिका–७ की हुन् । खुलातर्फ फिदिम नगरपालिका–४ पाँचथरका विशाल राई दोस्रो र ताप्लेजुङकै मैवाखोला गाउँपालिका–६ फाकुम्बाका प्रकाश लिम्बू तेस्रो भए । महिलातर्फ मिक्लाजुङ गाउँपालिका–२ पाँचथरकी पुष्पा शेर्मा लिम्बू र रामप्रसाद राई गाउँपालिका–७ भोजपुरकी विनिता राई क्रमश: द्वितीय र तृतीय भए ।
खुला तथा महिला दुवैतर्फका प्रथमलाई ४० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार नगद पुरस्कार वितरण गरिएको छ । महिलातर्फ ७ र खुला तर्फ ५५ प्रतिस्पर्धी गरी ६१ जना सहभागी थिए ।
स्थानीयतर्फको उपाधि भने सिदिङ्वा गाउँपालिका–१ कालीखोलाका भरत बानियाँले जिते । उनले २५ हजार नगद पुरस्कार पाएका छन् ।
३ हजार ५ सय १५ मिटर उचाइ रहेको पर्यटकीयस्थल सिदिङ्वाधाम क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले सिदिङ्वा गाउँपालिकाले पर्यटन महोत्सवको आयोजना गरेको हो । महोत्सव समापनका दिन म्याराथन प्रतियोगिता आयोजना गरिएको थियो ।
