लुम्बिनी प्रदेशस्तरीय यू-१६ टिम घोषणा

जेष्ठ १७, २०८२

सन्जु पौडेल

Lumbini state level U-16 team announced

तिलोत्तमा — समीर अलि मुसलमानको कप्तानीमा यू–१६ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम घोषणा गरिएको छ ।

कर्णाली प्रदेशको सुर्खेतस्थित कालुनचोक क्रिकेट मैदान र वीरेन्द्रनगर क्रिकेट मैदानमा यही जेठ १९ देखि ३१ गतेसम्म यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने प्रतियोगिताका लागि उनीसहित रोजन कुमाल, रौनक श्रीवास्तव, सिद्धार्थ ढकाल, केशव विष्ट, लक्ष्मण कुमाल, शुभव खनाल, प्रिन्स पाल, चन्द्र थापा, दिव्यांश वर्मा, प्रेमसागर यादव, शोएब हसन मुसल्मान, दक्ष ठाकुर र आरिफ खान छनोट भएका छन् । 

यस्तै, टिममा करण घर्ती मगर, आदित्य ढकाल, तुषार चौहान र दिवश अर्याललाई रिजर्भ खेलाडीका रुपमा राखिएको छ । प्रदेशको टिम कोचमा सञ्जु क्षेत्री र टिम म्यानेजरमा सिद्धार्थ श्रेष्ठ छन् ।

संघका प्रदेश सदस्य प्रथम पराजुलीले एक हप्तासम्म रुपन्देहीमा संचालित प्रदेशस्तरीय छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समावेश गरी लुम्बिनीको टिम बनाइएको बताए । 

मुसलमान प्रदेशस्तरीय यू–१६ क्रिकेट छनोट खेलमा रुपन्देहीको टिमको समेत कप्तान थिए । छनोट खेलमा उनले एक शतक प्रहार गर्नुका साथै सबैजसो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully