धनगढी — करिब एक दशकअघि नेपालकै पहिलो फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता आयोजना गर्ने सहर धनगढी । त्यही बेलादेखि क्रिकेटको सहरको उपमा दिन थालिएको हो धनगढीलाई। त्यसैको जगमा ‘ड्रिम फाप्ला’ को सपना सुरु भएको थियो धनगढीमा, सुदूरपश्चिममा ।
०७० चैत र बैशाखमा धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालित एनपीएलले धनगढीलाई क्रिकेटको सहरको उपमालाई थप बलियो बनाइदियो । फाप्लालाई पनि राष्ट्रव्यापी पहिचान दियो ।
धनगढीमा क्रिकेटको चहलपहल ०६६ देखि सुरु भएको हो । शाहीको अगुवाईमा एसपीए अन्तर कलेज राष्ट्रिय प्रतियोगिता सुरु भए । त्यसपछि व्यवसायिक रुपमा धनगढीमै डिसिएल (धनगढी क्रिकेट लिग) र धनगढी प्रिमियर लिग (डिपिएल) सञ्चालनका जमर्को भए । ती प्रतियोगिता सफल पनि हुँदै गए ।
त्यही क्रममा ०७० को धनगढी क्रिकेट लिग (डिसीएल) को पहिलो संस्करण फाप्ला मैदानमै आयोजना गरिएको थियो । खेलाडीहरुलाई बढीभन्दा बढी एक्सोजर दिने उद्देश्यले सञ्चालन गरिएको त्यही बेला त्यो खेल मैदानले ‘फाप्ला’ क्रिकेट मैदानको नाम पायो ।
त्यसपछि ‘ड्रिम फाप्ला’ अभियान नै सञ्चालन भयो । हुन क्रिकेटको सहर धनगढी र ड्रिम फाप्लालाई अभियानकै रुपमा सञ्चालन गर्न धनगढीका अगुवाहरुको डेढ दशकदेखिको मिहिनेत लागेको छ । धनगढीलाई क्रिकेटको शहरका रुपमा परिचित गराउने उद्देश्यले धनगढीका स्थानीय सुवाश शाहीले धनगढी क्रिकेट एकेडमीसमेत स्थापना गरे । विभिन्न प्रतियोगिताहरु सञ्चालन गरेर धनगढी अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न समेत सक्षम रहेको सन्देश प्रवाह गर्ने शाहीको उद्देश्य थियो ।
त्यसपछि सरकारी अग्रसरता पनि देखिन थाल्यो । धनगढी बजारको पश्चिमतर्फ मोहना नदी किनारमा अवस्थित फाप्ला गौचरणलाई फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्रामका रुपमा विकास गर्ने सरकारी निर्णयले सुदूरपश्चिमको समग्र खेल क्षेत्र र त्यसमा पनि क्रिक्रेट पारखीहरुमा आशाको चमक बढाएको थियो ।
०७८ माघ २४ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेलग्रामलाई राष्ट्रिय प्राथमिकताप्राप्त योजनामा समावेश गर्दै योजना कार्यान्वयनका लागि उच्चस्तरीय विकास समिति गठन गर्ने निर्णय गरेको थियो । ०७९ जेठ २३ गते सरकारले गठन आदेशद्धारा शाहीको अध्यक्षतामा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति गठन गरेको थियो ।
विश्वस्तरीय भव्य क्रिकेट स्टेडियमभित्र ५० हजार दर्शक अट्ने क्षमतामा आकर्षक प्याराफिट, फुटबल मैदान, जिमखाना, पौडी पोखरी, तेक्वान्दो तथा इन्डोर हल, होटललगायत अन्तर्राष्ट्रियस्तरका भौतिक पूर्वाधार, पार्किङ, तालिम भवन, व्यवस्थित मिडिया सेन्टरलगायत बनाउने ‘ड्रिम फाप्ला’ अन्तर्गतको सपनालाई तीन वर्षअघि सरकारद्धारा विकास समिति गठन भएपछि अघि बढाइएको थियो । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम परियोजनाअन्तर्गत मोहना नदीमा पर्यटन क्षेत्र, मैदान वरपर व्यापारिक केन्द्र, अतिथि सत्कार तथा पाककला क्षेत्रको रुपमासमेत विकास गर्ने गरि परिकल्पना गरिएको छ ।
डीपीआर तयार गरेर पारित समेत भइसकेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिले जनाएको छ । ‘डीपीआर तयार भएर पारित पनि भइसक्यो । वातावरणीय अध्ययनसमेत पुरा भएर निर्णायार्थ वन तथा वातावरण मन्त्रालयमा पेश गरिसकेका छौं,’ समितिका अध्यक्ष सुवाश शाहीले भने ‘फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्राम बनेपछि धनगढी मात्र होइन, सुदूरपश्चिमकै व्यापार तथा पर्यटन व्यवसाय फष्टाउनुका साथै यस क्षेत्रमा खेलकूलदको विसकामा महत्वपूर्ण योगदान पुग्ने छ ।’
समितिले यस अवधिमा डीपीआर तयार गरेर समितिबाट पारित गरिसकेको जनाएको छ । वातावरणीय अध्ययन मूल्यांकन (ईआईए) समेत पुरा भएर वन तथा वाताावरण मन्त्रालयमा प्रतिवेदन पेश गरिसकेको समितिका लेखा अधिकृत दपिक भण्डारीले बताए ।
अध्यक्ष शाहीका अनुसार खेलग्राम निर्माण गर्न २६ अर्ब बजेट लाग्ने छ । तर ५० हजार दर्शक अटाउने क्षमताको क्रिकेट स्टेडियम निर्माण गर्न ११ अर्ब लागत रहने अनुमान गरिएको छ । त्यसमध्ये पहिलो चरणमा २५ हजार दर्शक क्षमताको स्टेडियम बनाइने खाका तयार गरिएको अध्यक्ष शाहीले बताए।
‘क्रिकेट स्टेडियम पनि दुई चरणमा बनाउने छौं,’ शाहीले भने ‘पहिलो चरणमा २५ हजार दर्शक क्षमताको रंगशाला निर्माण हुनेछ । जसको लागत ६ अर्ब हुने अनुमान छ ।’ फाप्लामा विश्वस्तरीय क्रिकेट प्रतियोगिताहरु सञ्चालन हुनसक्ने गरि पूर्वाधार बनाउने प्राविधिक डिजाइन गरिएको उनको भनाई छ । फाप्लाको ३८ विघा जग्गामा क्रिकेट मैदान निर्माण गर्ने सरकारको यसअघिकै निर्णय हो ।
सुदूरपश्चिम प्रदेश सरकारले फाप्लालाई प्रदेश गौरवको योजनाका रुपमा अघि बढाउने घोषणा सुरुआती चरणमै गरेको थियो । प्रदेशको सामाजिक विकास मन्त्रालयले ०७६/०७७ को बजेट कार्यक्रममा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानलाई प्रदेश गौरवको योजनाका रुपमा घोषणा गर्दै ५० करोड विनियोजन गरेको थियो । तर, त्यस बेला जग्गा नभएर काम अघि बढ्न सकेन ।
‘प्रदेश खेलकुद परिषदले ०७९ मै डीपीआरसमेत बनाएको थियो । तर जग्गा नभएकाले काम गर्न सकिएन,’ प्रदेश खेलकुद परिषदका तत्कालीन सदस्य सचिव दिपक सिंह भन्छन् ‘त्यही बेला संघले प्रदेशबाट उक्त आयोजनालाई आफ्नो मातहत लिएको हो ।’
फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदनको योजना अगाडि बढ्दा सुदूरपश्चिममा क्रिकेटका गतिविधि भने घट्न थालेका छन् । नेपालमै फ्रेन्चाइज क्रिकेट र अक्सनको सुरुवात गरेको सुदूरपश्चिममा क्रिकेटका गतिविधि घट्दा त्यसको असर फाप्लाको निर्माणमा पर्ने तर्क कतिपयको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का प्रदेश सदस्य बाबुराजा श्रेष्ठ पछिल्ला वर्षमा धनगढीमा ठूला प्रतियोगिता हुन छाड्नुका पछाडि निजी क्षेत्रले हात झिक्नु प्रमुख कारण भएको बताउँछन् । ‘विकास समिति गठन भइसकेपछि निजी क्षेत्रले धनगढीमा हुने प्रतियोगिताका लागि हात झिक्यो, खेलकूद मैदान पनि भएन,’ क्यानका सदस्य श्रेष्ठले भने ‘सरकारले गरिहाल्छ नि भन्ने देखियो ।’
क्यानका केन्द्रिय अध्यक्ष चतुरबहादुर चन्द विकास समितिले ‘ड्रिम फाप्ला’ पूरा गर्न कामै सुरुआत गर्न वर्षौ समय गुजार्नुभन्दा विगतजस्तो प्रतियोगिता निरन्तर चलाई राख्नका लागि समन्वयको काम पनि गर्नुपर्ने औल्याउँछन् । ‘सिधै अन्तर्राष्ट्रिय प्रतियोगिता गरौंला भन्ने सोच्नु त्रुटीपूर्ण हुन्छ,’ अध्यक्ष चन्दले भने, ‘दीर्घकालीन रुपमा पूर्वाधार निर्माणका काम पनि गर्दै जाने र प्रतियोगिताहरु पनि जारी राख्न सकियो भने मात्रै ‘धनगढी क्रिकेटको सहरको’ परिचय कायम रहन्छ र दवाव भइरहन्छ ।’
अध्यक्ष चन्दले फाप्लालाई बनाउने भनेर संघले आफ्नो हातमा लिएपछि स्थानीय र प्रदेश सरकारले वास्ता गर्न छाडेकाले पनि प्रतियोगिता गर्न असहज भएको बताए । अहिले राष्ट्रिय क्रिकेट टीममा सुदूरपश्चिमकै खेलाडीको बाहुल्यता रहेकोबाट पनि यस क्षेत्रको क्रिकेटप्रतिको क्रेज तथा सुन्दर भविष्यको आकलन गर्न सकिने उनको भनाई छ ।
