काठमाडौँ — प्रतिष्ठित सिटी रनको रूपमा हरेक वर्ष आयोजना भइरहेको कान्तिपुर हाफ म्याराथनको १३ औं संस्करण केहीबेरमा सुरु हुँदै छ ।
ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा ‘लेट्स रन फर ग्रिनर टुमारो’ हो । आयोजक कान्तिपुर पब्लिकेशन्स लिमिटेडको थापाथलीस्थित कार्यालय सेन्ट्रल बिजनेस पार्क परिसरबाट हाफ म्याराथन सुरु हुनेछ ।
यस संस्करणको कान्तिपुर हाफ म्याराथनमा चार विधामा प्रतिस्पर्धा हुनेछ । दुवैतर्फ महिला र पुरुषको फरक इभेन्ट हुनेछ । हाफ म्याराथन २१.१ किमि, कलेज रन ७ किमि, कर्पोरेट एन्ड सेलेब रन ५ किमि र ह्विलचेयर रेस ३ किमि दुरीमा हुनेछ । सबै विधामा गरी ३ हजार ५ सयभन्दा बढीको सहभागिता रहनेछ । सबैभन्दा बढी सहभागिता कर्पोरेटमा रहेको छ भने हाफ म्याराथनतर्फ पनि झन्डै एक हजार जनाले नाम दर्ता गराएका छन् ।
प्रतियोगिताको शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । हाफ म्याराथनका पुरुष र महिला विजेताले जनही १ लाख ५० रुपैयाँ पुरस्कार जित्नेछन् । हाफ म्याराथनमा कोर्स रेकर्ड बनाउने सके थप २५ हजार जित्नेछन् । दोस्रोदेखि छैटौं हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार जित्नेछन् ।
ह्विलचेयर रेस विजेताले ३५ हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ जित्नेछन् । पुरुषमा हरिकुमार रिमाल र महिलामा कान्छीमाया कोजुको नाममा कोर्स रेकर्ड कायम छ । हरिको १ घन्टा ६ मिनेट ४१ सेकेन्ड र कान्छीमायाको १ घन्टा १९ मिनेट २२ सेकेन्डको रेकर्ड छ । हाफ म्याराथनको कान्तिपुर म्याक्स टेलिभिजन, ई–कान्तिपुर डटकम, कान्तिपुर इभेन्टको युट्युब पेजबाट प्रत्यक्ष प्रसारण गरिने छ ।
