धनगढीमा तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता  सुरु

जेष्ठ १५, २०८२

रञ्जना बिसी

The 3rd Far West Provincial Level Taekwondo Tournament has started in Dhangadhi

कैलाली — धनगढीमा  ‘तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता २०८२’ सुरु भएको छ। तीन दिनसम्म चल्ने प्रतियोगिता चैतन्य पाठशालाको फुटसल मैदान, शिवनगरमा बिहीबारबाट सुरु भएको हो।

चैतन्य तेक्वान्दो डोजाङ’को आयोजनामा  सेन्सर सिस्टममार्फत सञ्चालन भइरहेको छ । प्रतियोगितामा सुदूरपश्चिमका सबै जिल्लाका करिब २ सयभन्दा बढी खेलाडीको सहभागिता छ।

ओलम्पियन तथा राष्ट्रिय खेलकुद परिषद्का राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्ट र नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रमुख प्रशिक्षक जगत टमाटाको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो ।

चैतन्य पाठशालाका निर्देशक कटकबहादुर सिंहले विगतमा नगर तथा जिल्ला स्तरमा सफल प्रतियोगिता आयोजना गरेको अनुभवका आधारमा यस वर्ष प्रदेशस्तरीय प्रतियोगिता ल्याइएको जानकारी दिए। ‘चैतन्य पाठशालाले समाजका विभिन्न क्षेत्रलाई उजागर गर्दै आएकामा यसपछिको कार्यक्रम अझ बृहत् रूपमा आयोजना गरिनेछ,’ उनले भने ।

कार्यक्रममा प्रमुख अतिथि विष्टले वर्तमान समय तेक्वान्दो खेलमा पर्याप्त अवसर रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले खेलाडीलाई थप हौसला प्रदान गर्ने बताए । ‘हाम्रो देशमा विभिन्न स्तरका खेलाडी रहेका छन् र उनीहरूले अवसर नपाउँदा मात्रै समस्या भइरहेको छ । यसरी विद्यालय स्तरमा कार्यक्रम आयोजना गर्न सकेमा खेलाडीमा रहेको क्षमता प्रदर्शन हुनेछ,' उनले भने ।  

चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले चैतन्यलाई शिक्षा र संस्कारको सङ्गम र वेद तथा विज्ञानको संयोजनका रूपमा परिभाषित गर्दै समाजको समग्र विकासमा चैतन्यले उल्लेखनीय योगदान दिँदै आएको बताए। 

कार्यक्रममा तेक्वान्दो क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका वरिष्ठ तेक्वान्दो प्रशिक्षक गोविन्द विष्ट, शेरबहादुर सिंह र मोहनप्रताप गुरुङलाई जनही १० हजारसहित  विष्ट  र  टमाटाले खादा, माला, सम्मान पत्र र नगदसहित  सम्मान गरेका थिए ।

प्रतियोगितामा विजयी हुने टिमले  ५०, हजार, दोस्रोले  ३० हजार र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। साथै, ‘वेस्ट फाइटर’ पुरुष तथा महिला खेलाडीलाई जनही   ५ हजार पुरस्कार प्रदान गरिनेछ।

रञ्जना बिसी

Link copied successfully