विराट कोहलीले ९ वर्षअगाडि कप्तान हुँदा बेहोरको पीडादायी हार भुलाउन सक्ने
नयाँ दिल्ली — इन्डियन प्रिमियर लिग (आईपीएल) बिहीबारदेखि प्लेअफमा प्रवेश गर्दै छ । यसक्रममा विराट कोहलीसामु पहिलो पटक उपाधि जित्ने बलियो अवसर तयार हुन सक्नेछ । उनले ९ वर्षअगाडि आफैं कप्तान हुँदा फाइनलमा बेहोरको पीडादायी हार यसपल्ट भुलाउन सक्ने छन् ।
पहिलो क्वालिफायरमा कोहलीको रोयल च्यालेन्जर्स बेंगलुरुले अंकतालिकाको शीर्षमा रहेको पन्जाब किंग्सविरुद्ध मुल्लानपुरमा खेल्दैछ ।
बेंगलुरुले मंगलबार लखनउ सुपर जायन्ट्सलाई हराएर दोस्रो स्थान हात पारेको थियो । त्यसक्रममा टिमले २ सय २८ रनको लक्ष्य पनि भेट्टाएको थियो । यो खेलको विजेताले सिधै अहमदाबादमा हुने जुन ३ को फाइनलमा प्रवेश पाउने छ । त्यस खेलमा बेंगलुरु पराजित रहे पनि टोलीसामु फाइनल पुग्न एउटा अर्को मौका पाउनेछ ।
शुक्रबार इलिमिनेटरमा गुजरात टाइटन्स र मुम्बई इन्डियन्स भिड्नेछन्, अंकतालिकाको तेस्रो र चौथो स्थानमा रहेको टिमका आधारमा । यसको विजेताले क्वालिफायर–१ पराजित टिमको सामना गर्नेछ ।
आईपीएल प्लेअफ तालिका
जेठ १५ : क्वालिफायर १, मुल्लानपुर (चण्डीगढ)
पन्जाब किंग्सविरुद्ध रोयल च्यालेन्जर्स बेंगलुरु
जेठ १६ : इलिमिनेटर, मुल्लानपुर (चण्डीगढ)
गुजरात टाइटन्सविरुद्ध मुम्बई इन्डियन्स
जेठ १८ : क्वालिफायर २, अहमदाबाद
क्वालिफायर १ पराजित टिम विरुद्ध इलिमिनेटर विजेता
जेठ २० : फाइनल, अहमदाबाद
क्वालिफायर १ विजेताविरुद्ध क्वालिफायर २ विजेता
टेस्ट क्रिकेटबाट भर्खरै संन्यास लिएका कोहली ३६ वर्षका भइसके । भारतले गत वर्ष ट्वान्टी–२० क्रिकेटको विश्वकप जितेपछि कोहलीले त्यसबाट पनि संन्यास लिएका थिए । दुईपल्टको ५० ओभर क्रिकेटको विश्वकप विजेता कोहलीले आईपीएलको उपाधि यसपल्ट आत्मसात् गर्न सके उनको खेलजीवनको एक अर्को उज्यालो पक्ष हुनेछ । यसले कोहलीलाई धेरै राहत दिन सक्नेछ ।
‘सन् २०१६ मा मैले दुईपल्ट दुःख सहनुपरेको थियो, एकपल्ट ट्वान्टी–२० विश्वकपको फाइनल गुमाउँदा । अर्कोपल्ट यही आईपीएलको फाइनलमा पराजित हुँदा,’ कोहलीले स्मरण गरेका छन् । क्रिकेटप्रेमीमाथि ‘किङ कोहली’ नामले चर्चित यी खेलाडी आईपीएल इतिहासमै सबैभन्दा बढी रन बनाउने क्रिकेटर हुन् । अनि अहिलेसम्मका सबै १८ संस्करण खेल्ने एकमात्र खेलाडी । त्यतिमात्र होइन, उनी सुरुदेखि अहिलेसम्म एउटै टिममा छन् ।
उनले आईपीएलको फाइनल गुमाएको पनि एकपल्ट मात्र होइन, तीनपल्ट हो । त्यो सन् २००९, २०११ र २०१६ । यसपल्ट भने उनका समर्थकलाई के विश्वास छ भने कोहलीले उपाधि चुम्ने छन्, किनभने उनको जर्सी नम्बर पनि १८ हो । यसपल्ट प्रतियोगिता १८ औं संस्करण नै चल्दैछ । लखनउविरुद्ध उनले ५४ रन बनाएका थिए । यो उनको यस सिजनको आठौं अर्धशतक हो । उनी यही लय कायम राख्न चाहन्छन् । उनले अहिलेसम्म ६ सय २ रन बनाएका छन्, ६०.२० को औसतले ।
पाकिस्तान र भारतबीचको तनावका कारण यसपल्टको सिजन तय समयभन्दा पछाडि सकिँदै छ । त्यसको अर्थ यसपल्ट केही विदेशी खेलाडीले प्लेअफ चरण गुमाउने छन् । त्यसमा गुजरातका जस बटलर पनि छन् । उनले इंग्ल्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न भारत छाडिसकेका छन् । तर अस्ट्रेलियाली तीव्र गतिका बलर जस हेजउलड भने आइतबार बेंगलुरु फर्केका छन् । उनले आईपीएल रोकिँदा मे ९ मा भारत छाडेका थिए ।
हेजलउड फर्कनेमा दुविधा रहेको थियो, किनभने एक त उनको काँधमा चोट बल्झेको थियो । यस्तै अस्ट्रेलियाले लन्डनको लर्डसमा हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा दक्षिण अफ्रिकाको सामना गर्दैछ । यो टेस्ट जुन ११ मा सुरु हुँदै छ ।
यस्तै पन्जाबका पनि बायाँहाते तीव्र गतिका बलर मार्को जेसन हुने छैनन् । उनी टेस्ट च्याम्पियनसिपको फाइनल खेल्ने तयारी गरिरहेको दक्षिण अफ्रिकी टिममा समावेश हुन घर फर्किसकेका छन् ।
पन्जाबका प्रशिक्षक रिकी पोन्टिङ भन्छन्, ‘सबै टिममा कुनै न कुनै खेलाडी छैन । हाम्रो टिममा राम्रो खेलाडीको कुनै कमी छैन्, त्यसैले मार्कोको ठाउँ लिनसक्ने विकल्प छ । पक्कै पनि उनी नहुनु हाम्रा लागि घाटा नै हो ।’ पाँचपल्टको च्याम्पियन मुम्बई इन्डियन्स हार्दिक पाण्ड्येको नेतृत्वमा खेलिरहेको छ । सम्भवतः मुम्बई नै त्यस्तो अभाग्यशाली टिम रहेको छ, जसलाई प्रतियोगिता पर सर्दा सबैभन्दा बढी घाटा भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेटको कार्यक्रमसँग जुधेपछि मुम्बईले गुजरातविरुद्धको इलिमिनेटरका लागि इंग्ल्यान्डका विल ज्याक र दक्षिण अफ्रिकी खेलाडीद्वय रायल रिकेल्टन र कोरबिन वोचलाई गुमाएको छ । सन् २०२२ मा मात्र प्रतियोगितामा डेब्यु गरेको गुजरात टाइटन्सले त्यही सिजन उपाधि जितेको थियो । बटलरबिना पनि उसको ब्याटिङ क्रम उत्तिकै मजबुत देखिन्छ । कप्तान शुबमन गिलले भर्खरै रोहित शर्माबाट टेस्ट क्रिकेटको कप्तानी पाएका छन् ।
शर्माले संन्यास लिएपछि उनले यो अवसर पाएका हुन् । उनी र आफ्नो टिमका अर्का ओपनर साइ सुदर्शन लयमा छन् । उनीहरू सबैभन्दा बढी रन बनाउने सूचीको शीर्षमा छन् । शुबमनले ६ सय ७९ र सुदर्शनले ६ सय ४९ रन बनाएका छन् । इंग्ल्यान्डविरुद्धको पाँच टेस्ट शृंखलाको पहिलो खेल जुन २० मा लिड्सस्थित हेडिङ्लेमा हुनेछ । सम्भवतः गिलको एक नजर यो शृंखलामाथि पनि हुनेछ । त्यसअघि उनी घरेलु सफलता हात पार्न इच्छुक हुनेछन् ।
