काठमाडौँ — यूडब्लूडब्लू एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपका कांस्य पदक विजेता सुरेश चुनारासहित नेपाली कुस्ती टोली स्वदेश फर्किएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार सुरेशलाई स्वागत गर्नुका साथै भविष्यमा थप सफलताका लागि प्रेरित गरेका छन् । भारतको नयाँ दिल्लीमा मे २१ देखि २६ तारिखसम्म भएको प्रतियोगितामा सुरेशसहित नेपालबाट ३ पुरुष खेलाडीले भाग लिएका थिए । सुजित यादव र रामकिशोर यादव पदकविहीन भए ।
राखेप सदस्य तथा नेपाल कुस्ती संघका अध्यक्ष प्रकाश कुसारी, महासचिव खगेन्द्र बस्नेत, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, कुस्तीका मुख्य प्रशिक्षक मुम्ताज अली इद्रिसीलगायतले बधाई ज्ञापन गरेका थिए ।
