प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता : रुपन्देही र दाङ फाइनलमा

जेष्ठ १४, २०८२

सन्जु पौडेल

State level cricket tournament: Rupandehi and Dang in the final

तिलोत्तमा — रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यू–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा बुधबार दाङले जित हात पारेको छ । उसले बाँकेलाई ६ विकेटले पराजित गरेको हो । 

सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बाँकेले निर्धारित ३५ ओभरमा सबै विकेट गुमाएर १ सय ४५ रन बनायो । उसका लागि भुवन शाहीले २९ र फर्दिन अली भाटले २२ रन बनाए ।

बलिङमा दाङका शुभम खनालले ३, करण जीएमले २ तथा दक्ष ठाकुर र सन्दीप थापाले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको दाङले २२ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ४७ रन बनाउँदै जित निकाल्यो । उसको जितमा शुभम खनालले अविजित ३३, मनोज केसीले नटआउट २७, अमिस सेन्चुरीले २७, योगेश्वर कुँवरले १६ र करण जीएमले १० रन बनाए ।

बलिङमा बाँकेका दिव्यान्स बर्माले ३ तथा निखिल धनकुट्टाले १ विकेट लिए । 

खेलमा दाङका शुभम खनाल प्लेयर अफ दी म्याच भएको खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए । लिग चरणको १ खेल बाँकी रहँदै दाङ फाइनलमा प्रवेश गरेको छ । उसले शुक्रबार हुने फाइनलमा समूह ए को विजेता रुपन्देहीसँग प्रतिस्पर्धा गर्नेछ ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully