मैले टेनिस खेल्न छाडेर धेरै ठूलो गुमाए जस्तो लाग्दैन, किनभने जतिबेलासम्म मैले खेलें, मैले यो खेलका लागि सबथोक दिएँ, यहाँ निकै खुसी र शान्त रहेर आइरहेको छु
पेरिस — स्पेनिस स्टार राफेल नडाललाई लाग्छ, टेनिस खेल्न छाडेपछि आफूले केही ठूलै चिज गुमाए जस्तो लाग्दैन । २२ ग्रान्ड स्लाम जितेका नडालले गत वर्ष टेनिसबाट संन्यास लिएका थिए । फ्रेन्च ओपनले आइतबार उनलाई भावनात्मक बिदाइ गरेको छ । यो त्यही प्रतियोगिता हो, जहाँ उनी कीर्तिमानी १४ पल्ट विजेता रहे । प्रतियोगिताको पहिलो दिन रोलान्ड ग्यारोसमा उनलाई औपचारिक रूपमा बिदाइ गरिएको छ हो । उनले अन्तिम पटक खेलेको ६ महिनापछि यो अवसर जुरेको छ ।
‘मैले टेनिस खेल्न छाडेर धेरै ठूलो गुमाए जस्तो लाग्दैन, किनभने जतिबेलासम्म मैले खेलें, मैले यो खेलका लागि सबथोक दिएँ । आज यहाँ निकै खुसी र शान्त रहेर आइरहेको छु । यो त्यस्तो स्थिति थियो, जुन खेल्दा सम्भव थिएन । अब त मेरो शरीरले पनि पहिले जस्तो खेल्न छुट दिंदैन । त्यसैले म साँच्चै शान्त छु । मैले आफ्नो खेलजीवनमा त्यो सबै गरें, जुन मलाई लागेको थियो गर्नुपर्छ भनेर । अहिले म नयाँ जीवनमा रमाइरहेको छु ।’
नडालले थपे, ‘अहिलेको जीवनमा त्यो रोमाञ्चकता छैन, जुन कोर्टमा हुने गर्थ्यो । म के भन्छु भने खेलकुदले कोही कसैलाई जे जस्तो खुसी र सुखद दिनसक्छ, त्यो अरू कसैले पनि दिन सम्भव छैन । तर त्यसको अर्थ यो होइन कि अहिले म कम खुसी छु ।’ नडाल अहिले ३८ वर्षका भए । उनले नोभेम्बरमा संन्यास लिएका थिए । त्यसयता एकपल्ट पनि टेनिस र्याकेट समातेका छैनन् । त्यसको स्थानमा उनी आफ्नै टेनिस एकेडेमीमा केन्द्रित छन् ।
सँगै उनी आफूले चलाएका च्यारिटी फाउन्डेसन र व्यावसायिक कारोबारमा पनि व्यस्त छन् । ‘मैले साँच्चै संन्यास लिएपछि र्याकेट पनि छोएको छैन । त्यसैले म पछिल्लो ६ महिनादेखि कोर्ट पनि उत्रेको छैन । तर, म कुनै न कुनै दिन फेरि कोर्टमा फर्कने छु । त्यतिबेला मेरो उद्देश्य प्रदर्शनी खेलमा सहभागी हुनुमात्र हुनेछ ।’ अचेल नडाल गल्फ कोर्सतिर बढी देखिन्छन् । टेनिस कोर्टमा उनी जति प्रतिस्पर्धात्मक खेलाडी हुन्थे, गल्फमा त्यसको छेउछाउ पनि छैनन् ।
‘यस्तो किन हुन्छ, मलाई थाहा छैन । मेरो विचारमा गल्फ खेल्दा म हार्छु भने पनि त्यसले मलाई खासै प्रभावित गर्दैन । म जित्छु भने मलाई यतिमात्र लाग्छ, आज मैले राम्रो खेलें । मेरा लागि यो अनौठो अनुभव हुनेछ । खासमा म यस्तो अनुभव कहिल्यै पनि होस् भन्ने चाहन्न थिएँ । खासमा मैले बुझेको खेलकुद अर्कै रूपको थियो । तर यो इतिहास भइसकेको छ ।’ नडाललाई दिइएको बिदाइलाई हेर्ने फिलिप–कार्टियर कोर्टमा हजारौं समर्थक भेला भएका थिए ।
तिनीहरूलाई सम्बोधन गर्दै नडालले भने, ‘मलाई त कुरा गर्न पनि गाह्रो भइरहेको छ । कुरा कहाँबाट सुरु गर्ने हो त्यो पनि थाहा छैन । मैले यो कोर्टमा पछिल्लो २० वर्ष लगातार खेलिरहें भन्दा हुन्छ । मैले त्यस क्रममा जित पनि हात पारें, हार पनि आत्मसात् गरें । तर जतिबेला मौका पाएँ, खेल्न उत्रिएँ ।’ फ्रेन्च ओपनमा नडालले हारभन्दा धेरै बढी जित नै देखे । फ्रेन्च ओपनमा उनको प्रदर्शन यस्तो छ, १ सय १२ जित अनि चार हार ।
अझ उनले १४ पटक फाइनल खेले । सबैमा विजयी रहे । ‘यो तथ्यमा कुनै दुविधा छैन कि यो नै मेरो खेल जीवनको सबैभन्दा महत्त्वपूर्ण कोर्ट हो,’ उनले भने । यसक्रममा नडालले आफ्ना प्रशिक्षक, अभिवावक, पत्नी सबैलाई धन्यबाद दिए । उनको प्रत्येक वाक्यमा समर्थकले ताली बजाउन बिर्सेनन् । यो बिदाइको अवसरमा उनको खेलजीवनका सबैभन्दा ठूला प्रतिद्वन्द्वी पनि उपस्थिति थिए । ती थिए स्विट्जरल्यान्डका रोजर फेडेरर, सर्बियाका नोभाक जोकोभिच र बेलायतका एन्डी मरे ।
