एनभीए लिग फाइनलमा गण्डकी

जेष्ठ १४, २०८२

कान्तिपुर संवाददाता

Gandaki in the NVA League Finals

पोखरा — गण्डकी प्रदेशले डिफेन्डिङ च्याम्पियन टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई स्तब्ध पार्दै नवौं प्रधानमन्त्री कप एनभीए लिग भलिबलको फाइनलमा स्थान बनाएको छ ।

पोखरा रंगशालास्थितको कभर्डहलमा मंगलबार घरेलु टोली गण्डकी प्रदेशले ३–२ को प्रतिस्पर्धात्मक सेटमा जित पाएको थियो । गण्डकीले २५–१८, १९–२५, १४–२५, २५–२०, १५–११ ले नतिजा निकालेको थियो । गण्डकीको छैटौं खेलमा छैटौं जित हो । पाँचौं सेटमा जित निकालेकाले २ अंक पाएको गण्डकी १७ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । 

पहिलो हार भोगेको हेल्प नेपाल छैटौं खेलमा १६ अंकसहित दोस्रो स्थानमा झर्‍यो । यद्यपि एक खेलअगावै हेल्प नेपाल फाइनल पुग्यो । मंगलबार अन्तिम खेलमा आर्मीले पुलिसलाई पराजित गरेपछि हेल्प नेपालले फाइनलमा स्थान बनाएको हो । तेस्रो स्थानको पुलिस हार बेहोरेपछि १२ अंकमा सीमित भयो । बुधबार हेल्प नेपाल र पुलिसबीच खेल हुनेछ । पुलिसले सोझो सेटमा जिते पनि फाइनल पुग्ने छैन । त्यस्तै एपीएफ र मणिमुकुन्द भलिबल क्लब विजयी भएका छन् । एपीएफले कोशी प्रदेशलाई ३–२ को सेटमा हरायो । 

महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब फाइनलमा पुगेका छन् । एपीएफलाई २५–१८, २५–२२, २५–१६ ले सोझो सेटमा हराएपछि न्यु डायमन्डले फाइनलमा स्थान बनाएको हो । न्यु डायमन्डको जितले साबिक विजेता पुलिस क्लबले पनि फाइनलमा स्थान बनायो । डायमन्ड १२ अंक र पुलिस ११ अंकसहित पहिलो र दोस्रो स्थानमा रहेर फाइनलमा पुगे । मंगलबारै त्रिभुवन आर्मी क्लबले सान्त्वना जित पायो । कर्णाली प्रदेशविरुद्ध आर्मी ३–० को सोझो सेटमा विजयी भयो । आर्मी ४ अंकसहित पाँचौं स्थानमा रह्यो ।

कान्तिपुर

Link copied successfully