यू-१६ क्रिकेट : रुपन्देही र बाँकेको जित

जेष्ठ १३, २०८२

सन्जु पौडेल

U-16 Cricket: Victory of Rupandehi and Banke

तिलोत्तमा — रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यू–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा मंगलबार रुपन्देही र बाँके विजयी भएका छन् ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको कपिलवस्तुले निर्धारित ३५ ओभरमा २८ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । उसका लागि सुरज यादवले ४६ र रौनक श्रीवास्तवले २३ रन बनाए ।

बलिङमा रुपन्देहीका प्रिन्स पालले ३, सोइब हसन मुसलमान र सुरज रानाभाटले २–२ तथा तुषार चौहानले १ विकेट लिए । जवाफी ब्याटिङ गर्दै रुपन्देहीले १ सय १२ रनको लक्ष्य १० ओभर ५ बलमा पुरा गर्‍यो । उसले जम्मा ३ विकेट गुमाउँदै १ सय १३ रन बनाई जित निकाल्यो । 

रुपन्देहीका लागि कप्तान समीर अली मुसलमानले अविजित ७० रन बनाए । ३७ बलको सामना गरेका उनले १२ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, आरिफ खानले २१ र सिद्धार्थ ढकालले ११ रन जोडे । बलिङमा कपिलवस्तुका सुरज यादवले २ र कमरन अहमदले १ विकेट लिए । खेलमा रुपन्देहीका समीर अली मुसलमान प्लेयर अफ द म्याच भए ।

त्यस्तै, अर्को खेलमा बाँकेले बर्दियालाई १९ ओभरमै रन स्कोर पूरा गरी जित हासिल गरेको थियो । तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बर्दियाले २५ ओभर २ बलमा सबै विकेट गुमाउँदै जम्मा ९६ रन बनायो । उसका लागि केशव विष्टले १७ तथा हेमन्त आचार्य र निराजन थापाले समान १४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा बाँकेका निखिल धनकुट्टा र आशीष नाउले ३/३, भुवन शाहीले २ र निराजन चन्दले १ विकेट लिए ।

बाँकेले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर ९७ रन बनाउँदै जित निकाल्यो । उसको जितमा दियान्स बर्माले ४७ र निराजन चन्दले अविजित १२ रन जोडे । बलिङमा बर्दियाका सक्षम बुढाथोकीले ३ तथा हेमन्त आचार्य, संयक जंग थापा र आयुष न्यौपानेले समान १/१ विकेट लिए । खेलमा बाँकेका निखिल धनकुट्टा प्लेयर अफ दी म्याच भएको खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

बुधबारको १ खेल मात्र हुनेछ । सिद्धार्थ क्रिकेट मैदानमा हुने खेलमा दाङ र बाँके भिड्नेछन् ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully