हाउन्ड्सले छैटौं खेल जित्दा सामाखुसी पहिलो

जेष्ठ १३, २०८२

कान्तिपुर संवाददाता

Samakhusi's first as the Hounds won their sixth game

काठमाडौँ — हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा हाउन्ड्स एकेडेमीले छैटौं जित निकाल्दा सामाखुसी युथ क्बलले सातौं खेलमा पहिलो जित आत्मसात गरेको छ ।

कीर्तिपुर कभर्डहलमा मंगलबार हाउन्ड्सले कीर्तिपुरमाथि ८८–८३ को रोमाञ्चक जित पायो । जितपछि १३ अंक जोडेर हाउन्ड्स शीर्षस्थानमै छ । कीर्तिपुर पाँचौं स्थानमा छ ।

पहिलो क्वाटर कीर्तिपुरले २४–२३ ले अग्रता लिएको थियो । तर दोस्रो क्वाटरमा हाउन्ड्सले पुनरागमन गर्दै २४–२० ले आफ्नो पक्षमा पा‍र्‍यो र ४७–४४ को अग्रता बनायो । हाउन्ड्सले तेस्रो क्वाटर पनि २४–१८ ले आफ्नो पक्षमा पारेपछि ७१–६२ को अग्रता बनाएको थियो ।

चौथो तथा अन्तिम क्वाटर कीर्तिपुरले २१–१७ ले आफ्नो पक्षमा पारे पनि हार टार्न पर्याप्त भए ।

हाउन्ड्सका सौरभ श्रेष्ठ मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । कीर्तिपुरबाट निश्चल महर्जनले २८ स्कोर गरे । हाउन्ड्सका विजय बुर्जाले २२ स्कोर बनाए ।

मंगलबारै सामाखुसीले रोयललाई ८७–८० ले पराजित हरायो । यो टोलीको पहिलो जित हो ।

पहिलो क्वाटरमा सामाखुशी र रोयल दुवैले समान १८ स्कोर गरे । दोस्रो क्वाटर रोयलले २५–२३ ले आफ्नो पक्षमा पर्दा ४३–४१ को अग्रता बनायो । तर त्यसपछि दुई क्वाटरमा सामाखुसीले पुनरागमन गरी खेल जित्यो । तेस्रो क्वाटर २०–१४ ले आफ्नो पक्षमा पारेको सामाखुशीले चौथो क्वाटर २७–२३ ले आफ्नो पक्षमा पारेको थियो ।

सामाखुसीका लागि २३ स्कोर गरेका प्रज्वल महर्जन मोस्ट भ्यालुएबल प्लेयर भए । रोयलका प्रसन्नध्वज मास्केले २६ स्कोर गरे । सामाखुसीले ७ खेलबाट ८ अंक जोडेको छ । सामाखुसी अन्तिम स्थानम छ । 

कान्तिपुर

Link copied successfully