काठमाडौँ — टोखा नगरपालिका स्तरीय क्रिकेट कपको उपाधि सत्यसाई शिक्षासदन र सरस्वती हाइस्कुलले संयुक्त रूपमा जितेका छन् ।
सेभ एन्ड सस्टेन र टोखा नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल वर्षा कारणले सम्भव नभएपछि उपाधि भिडन्तमा पुगेका दुई टोली सत्यसाई र सरस्वती हाइस्कुललाई संयुक्त विजेता घोषित गरिएको थियो ।
टी–१० फर्म्याटमा आयोजित प्रतियोगिता टोखा नगरपालिकास्थित खुलामञ्च भूतखेलमा भएको थियो । वर्षाले गर्दा फाइनल खेलाउन सम्भव नभएपछि दुवैलाई संयुक्त विजेता घोषणा गरिएको प्रतियोगिताका संयोजक एवं राष्ट्रिय क्रिकेट खेलाडी खुशी डंगोलले बताइन् ।
प्रतियोगितामा टोखाका १० विद्यालयको सहभागिता थियो । प्रतियोगिताको उद्घाटन र समापन दुवैमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं नेपाल क्रिकेट संघका सचिव पारस खड्काको आतिथ्यता रहेको थियो । सचिव खड्काले यस्ता प्रतियोगिताबाट भविष्यका राष्ट्रिय खेलाडी जन्मिने विश्वास लिएको बताउँदै टोखाले झैं हरेक पालिकाले क्रिकेट प्रतियोगिता यसरी आयोजना गरेको खण्डमा क्रिकेट विकासमा सहयोग पुग्ने बताए ।
उत्कृष्ट खेलाडी सौरभ गोइत भए भने उत्कृष्ट ब्याटर अनिश खड्का र उत्कृष्ट बलर आशिष मण्डल चुनिए । उदीयमान खेलाडी प्रतिश केसी भए ।
