आठ वर्षमा १० राष्ट्रिय खेलाडी उत्पादन गर्ने गण्डकी प्रदेश टेनिस संघको लक्ष्य, एक खेलाडीलाई लाग्ने १२ लाख रुपैयाँ प्रायोजकले व्यहोर्ने
पोखरा — नेपाली टेनिस इतिहासमै पहिलोपल्ट गण्डकी प्रदेश टेनिस संघले खेलाडी उत्पादन गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ । संघले ‘ग्रो टेनिस’ कार्यक्रम अन्तर्गत विपन्न बालबालिकाबाट १० जना छनोट गरी ८ वर्षसम्म निःशुल्क टेनिस प्रशिक्षणमार्फत राष्ट्रिय खेलाडी उत्पादनको लक्ष्य लिएको हो ।
आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संघका प्रदेश अध्यक्ष विनोद कायस्थले असारबाट छनोट प्रक्रिया सुरु गर्ने बताए । उनका अनुसार पहिलो चरणको छनोटमा ८ देखि १२ वर्षका तीन सय बालबालिकालाई सहभागी गराउने योजना छ ।
पहिलो चरणमा बालबालिकाको आर्थिक अवस्था, खेलप्रतिको रुची, शारीरिक बनोट लगायत मानवशास्त्रीय मापनमार्फत छनोट गरिने उनले बताए ।
मानवशास्त्रीय मापनको लागि गण्डकी विश्वविद्यालयका खेलकुद विज्ञानका उपप्राध्यापक सोनाम लामालाई जिम्मा दिइएको छ । प्राविधिक समितिका सह–संयोजक एवं नेपालका पूर्व एक नम्बर वरियताका टेनिस खेलाडी कुमार अधिकारीका अनुसार सुरुआतमा ३ सयजनाबाट ४० बालबालिका छनोट गरिने छ ।
उनीहरुलाई ६ महिना टेनिस प्रशिक्षण दिइने छ । त्यसपछि उत्कृष्टताको आधारमा ३० खेलाडी छनोट हुनेछन् । छनोट भएका ३० खेलाडीबाट थप तीन महिनाको प्रशिक्षणपछि २० जना छनोटमा पर्नेछन् । यी २० खेलाडीको प्रशिक्षण अवधि एक वर्षको हुनेछ ।
एक वर्षपछि अन्तिममा ८ बालक र २ बालिका गरी १० खेलाडी छनोट हुनेछन् । खेलाडीको प्रशिक्षण पोखरा रंगशाला टेनिस कम्प्लेक्समा हुने छ ।
सुरुवाती छनोटदेखि ८ वर्षसम्म खेलाडीले टेनिस प्रशिक्षण लिनेछन् । सुरुआतमा ४० जना छनोट भएदेखि नै खेलाडीका लागि आवश्यक खेल सामग्री, आहार र यातायात खर्च संघले व्यहोर्ने छ । अन्तिम छनोटमा परेका १० खेलाडीको ८ वर्षसम्मको खर्च प्रति खेलाडी १० देखि १२ लाख रुपैयाँसम्म हुने छ ।
यस्तो खर्च संघले ‘एक खेलाडी, एक प्रायोजक’ मोडेलमा विभिन्न व्यापारिक प्रतिष्ठानबाट जुटाउने छ । अन्तिम छनोटमा परेका १० खेलाडीलाई पोखराका उत्कृष्ट विद्यालयमा छात्रवृत्तिसहित अध्ययनको व्यवस्था गरिने संघका प्रदेश अध्यक्ष विनोद कायस्थले बताए ।
‘यस्तो अभ्यास भारतमा गरिन्छ, नेपालमा पहिलोपल्ट हो,’ उनले भने, ‘विपन्न परिवारका बालबालिका भोलि टेनिस खेलाडी भएर निस्कँदा आफू मात्रै प्रगति गर्दैनन्, आफ्नो परिवारलाई पनि उकास्न मद्दत गर्छन् ।’ पोखरामा टेनिसमार्फत चिनाउने पनि यो कार्यक्रमको लक्ष्य रहेको उनले सुनाए ।
संघका प्रदेश महासचिव नविन चालिसे यो योजना नेपाली टेनिसको दीर्घकालीन आधारशिला बन्ने बताउँछन् । ‘यो कार्यक्रम केवल खेलाडी उत्पादन मात्र नभई नेपाली टेनिसको दीर्घकालीन भविष्य सुनिश्चित गर्ने दिशामा लिइएको ठोस कदम हो,’ उनले भने ।
गण्डकी विश्वविद्यालयका उपप्राध्यापक सोनाम लामाले ‘ग्रो टेनिस’ योजनालाई नेपाली खेलकुद व्यवसायिक बनाउने महत्त्वपूर्ण कदमको संज्ञा दिए । ‘खेलकुदमा भविष्य छ, तर त्यसलाई व्यवहारमा उतार्न सक्नुपर्छ,’ उनले भने, ‘यो कार्यक्रम नेपाली खेल क्षेत्रमा एउटा प्रेरणादायी मोडल बन्न सक्छ ।’
यसअघि तीन वर्षदेखि संघले ‘ग्रास रुट’ टेनिस कार्यक्रम सञ्चालन गरी विपन्न बालबालिकालाई निःशुल्क प्रशिक्षणको व्यवस्था गरिरहेको छ । संघले उत्पादन गरेका १५ टेनिस खेलाडीमध्ये ८ खेलाडी प्रशिक्षकको रुपमा माल्दिभ्स पुगिसकेका छन् । अन्य खेलाडी काठमाडौं, बुटवल र पोखरामै प्रशिक्षक भएर आर्थिक उपार्जन गरिरहेका छन् ।
