टोखा नगरद्वारा भगवती क्लबलाई एक करोड

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

1 crore to Bhagwati Club by Tokha Nagar

काठमाडौँ — सहिद स्मारक ‘बी डिभिजन’ लिगमा उपविजेता बनेर ‘ए डिभिजन’मा बढुवा भएको टोखा भगवती क्लबलाई टोखा नगरपालिकाले एक करोड रुपैयाँ आर्थिक सहयोग र अभ्यासका लागि भूतखेल मैदान उपलब्ध गराउने घोषणा गरेको छ ।

सोमबार नगरपालिकाद्वारा क्लबका खेलाडी, प्रशिक्षक र पदाधिकारीको सम्मानमा आयोजित कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले आर्थिक सहयोगको घोषणा गरेका हुन् ।

नगर प्रमुख अधिकारीले क्लबको सफलताले टोखा नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाएको बताउँदै भगवती क्लबलाई आवश्यक पर्ने सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

उपप्रमुख मुरारी तामाङले क्लबलाई भूतखेल खुला मञ्च प्रयोग गर्न दिने तथा एकेडेमी सञ्चालनको व्यवस्था मिलाउने घोषणा गरिन् ।

१३ खेलमा ७ जित, ५ बराबरी र १ हारसहित २६ अंक बटुल्दै भगवती क्लब ‘बी डिजिजन’मा दोस्रोमा रहेको थियो । नगरपालिकाले क्लब टिमलाई मायाको चिनो र पोसाक पनि वितरण गरेको थियो ।

कान्तिपुर

Link copied successfully