यू–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट : नवलपरासी र रूपन्देही विजयी

जेष्ठ ११, २०८२

सन्जु पौडेल

U-16 Lumbini state level cricket: Nawalparasi and Rupandehi won

तिलोत्तमा — नवलपरासीले आइतबार लीला सेन्चुरी मेमोरियल यू–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कपिलवस्तविरुद्ध ११ रनको जित हात पारेको छ ।

सिद्धार्थ क्रिकेट मैदानमा नवलपरासीले दिएको ८८ रनको सामान्य लक्ष्य पछ्याएको कपिलवस्तु २०.२ ओभरमा अलआउट हुँदै ७६ रनमा समेटियो । कपिलवस्तुका आर्यन पाण्डेको १९ रननै ठूलो स्कोर रह्यो । सुरज यादव १४ बनाए । नवलपरासीका तिलक सापकोटाले सर्वाधिक ६ विकेट लिए । उनले ६.२ ओभरमा २४ रनमात्र खर्चिए । अजय चाईले ३ र प्रेमसागर यादवले १ विकेट लिए ।

त्यसअघि टस जितेको नवलपरासीले १८.१ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो । अजय चाईले ३२ रनको योगदान गरे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कपिलवस्तुका रौनक श्रीवास्तवले ४ विकेट र कामरन अहमदले ३ विकेट लिए । नवलपरासीका तिलक सापकोटा म्यान अफ द म्याच भए ।

आइतबारै अर्को खेलमा रूपन्देहीले पाल्पालाई २ सय ६१ रनले हराएको छ । तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा टस हारेपछि रूपन्देहीले ब्याटिङ गर्दै पूरा ३५ ओभरमा सबै विकेट गुमाएर ३ सय ३ रन बनाएको थियो । रोजन कुमालले ९६, लक्ष्मण कुमालले ६०, सुजन रानाभाटले २९ रन जोडेका थिए । 

पाल्पाका विल्सनविक्रम जीसीले ३, दिवस अर्यालले २, हिमाल कँडेल, अमृत अर्याल र उप्सन पाण्डेले १–१ विकेट लिए । जवाफमा ३ सय ४ रनको लक्ष्य पाएको पाल्पा २०.२ ओभरमा ४२ रनमै समेटियो । पाल्पाका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । रूपन्देही प्रिन्स पालले ५, तुसार चौहानले ३, आर्यनसिंह यादव र सुजन रानाभाटले १–१ विकेट लिए । शतक बनाउन थोरैले चुकेका रोजन कुमाल प्लेयर अफ द म्याच भए । 

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully