पर्सा — मधेश क्रिकेट लिग सिजन–१ मा पर्साले गृहमैदानमै लगातार तेस्रो हार व्यहोरेको छ । आइतबार वीरगन्जको नारायणी क्रिकेट रंगशालामा भएको खेलमा बाराले पर्सालाई ५ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको पर्साले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो । उसका लागि सफवान अन्सारीले ५२ र वासिम मन्सुरीले २६ रनको योगदान गरे । बाराका बलहरूमा अरनिको यादवले ३ र निकेश गुप्ताले १ विकेट लिए ।
जवाफमा बाराले १४ ओभर ४ बलमा ५ विकेटको क्षतिमा १ सय ३० रन बनायो । उसका लागि आदिल अन्सारीले बिस्फोटक व्याटिङ गर्दै ३७ बलमा ७३ रन बनाए । उनी नटआउटसमेत रहे । निरजकुमार यादवले ३१ रन बनाए । पर्साका चन्दन रामले २ र रन्जित कुमारले १ विकेट लिए । बाराका आदिल अन्सारी ‘म्यान अफ द म्याच’ रहे ।
दोस्रो खेलमा सप्तरीले महोत्तरीलाई ३४ रनले पराजित गर्यो । टस जितेर पहिले व्याटिङ गरेको सप्तरीले ८ विकेटको क्षतिमा ९९ रनको सामान्य योगफल तयार पारेको थियो ।
उसका लागि रोहन विकले ३३, राहुल विकले २० र वसन्त यादवले ११ रनको योगदान गरे । महोत्तरीका बलरहरू आकाश मण्डलले ३, रमेश सहनीले २ र विनोद सहनीले १ विकेट लिए ।
जवाफी व्याटिङ गरेको महोत्तरी १६ ओभर २ बलमा ६५ रनमै समेटियो । उसका लागि नवीनकुमार यादवले सर्वाधिक १४, प्रणय साहले ११ र विनोद सहिनीले १० रन बनाए । सप्तरीका बलरहरू पप्पु यादवले ३, अजय यादव र मोहम्मद सकिम आलमले २/२ विकेट लिए । सप्तरीका पप्पु यादव ‘म्यान अफ द म्याच’ भए ।
