वन रनमा सुशील र निशा विजयी

जेष्ठ १०, २०८२

कान्तिपुर संवाददाता

Sushil and Nisha win in one run

काठमाडौँ — ललितपुरको पाटन दरबार स्क्वायरमा भएको वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनमा आर्मीका खेलाडी सुशीलकुमार शाही र निशा सार्की विजयी भएका छन् ।

पुरुषतर्फ सुशीलले १ घण्टा ५ मिनेट ५८ सेकेन्डबाट उपाधि जित्दा आर्मीकै विनोद रोकाया (१ घन्टा ६ मिनेट ११ सेकेन्ड) दोस्रा र नरेन्द्र रावत (१ घन्टा ८ मिनेट ६ सेकेन्ड) तेस्रो भए ।

महिलातर्फ निशाले १ घन्टा २८ मिनेट ४७ सेकेन्डमा दुरी पार गरिन् । विश्वरुपा बुढा (१ घन्टा ३० मिनेट ५२ सेकेन्ड) दोस्रो र गीता मर्हजन (१ घन्टा ५८ मिनेट ५४ सेकेन्ड) तेस्रा भए ।

हाफ म्याराथन मास्टर्सतर्फ किरणसिंह बोगटी रजवार (१:०९:००), धर्म महर्जन (१:१९:५५) र मिजुकी मात्सुजाकी (१:२८: ३१) शीर्ष तीन स्थानमा विजयी भए ।

१० किमि खुला पुरुषमा आर्मीका सन्जय श्रेष्ठ, रामजी बस्नेत र अर्जुन बुढा तथा महिलामा सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने र सिर्जना पाण्डे क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

१० किमि मास्टर्स पुरुषतर्फ मनिन महर्जन, देव महर्जन र राजेश महर्जनले शीर्ष तीन स्थान कब्जा गर्दा ५ किमि खुला पुरुषमा रुपेश कार्की, गणेशसिंह रावत र अखुलबहादुर पाल तथा महिलातर्फ आशा रावत, सरस्वती भटराई र रजिना दुलाल शीर्ष तीन स्थानमा विजयी भए ।

५ किमि स्कुलको पुरुषतर्फ अजय पाण्डे, दिनेश यादव र हरिचन्द्र तामाङ तथा महिलातर्फ अस्मिता भुजेल, गायत्री श्रेष्ठ र सांग्रीला श्रेष्ठ शीर्ष तीन स्थानमा विजयी भए ।  

विश्वकै ठूलो अन्तर्राष्ट्रिय हाफ म्याराथन वन रन नेपालसहित विश्वभरका ११० सहरमा एकै दिन मे २४ मा आयोजना भएको हो ।

नेपालमा यो दौड काठमाडौं म्याराथनका आयोजक एनआरएस स्पोर्ट्स फाउन्डेसनले आयोजना गरिएको हो । दौडमा बालबालिकादेखि ज्येष्ठ नागरिकसहित सबै उमेरका मानिसलाई सहभागी हुने मौका प्रदान गरेको थियो ।  

दौडको रुट ललितपुरको प्रमुख ऐतिहासिक तथा सांस्कृतिक स्थल हुँदै पार भएको थियो । दौड पाटन दरबार क्षेत्रबाट सुरु भएर, मंगलबजार हुँदै पुल्चोक, जावलाखेल, एकान्तकुना, सातदोबाटो हुँदै बल्खु, कलंकी, सीतापाइलाबाट पुनः कृष्ण मन्दिर आइपुगेर समापन भएको थियो ।  

खेलाडीलाई ललितपुर महानगरपालिकाका उपमेयर मन्जली शाक्य बज्राचार्यलगायतले पुरस्कृत गरे ।

कान्तिपुर

Link copied successfully