सन भन्छन्– पछिल्लो सात दिन त मैले यही खेलको मात्र सपना बुनिरहेको थिएँ
लन्डन — यो त परम्परा नै बनिसकेको थियो । उनले सबैभन्दा पहिले ट्रफीलाई चुम्बन गरे अनि आफ्ना साथीहरूसँगै त्यसलाई अपार खुसीसाथ उचाले । यो त सन ह्युङ–मिनका लागि सपना पूरा भएजस्तै थियो । दक्षिण कोरियाली फुटबल स्टारले अन्ततः युरोपमा पहिलो उपाधि जितेका छन् । युरोपा लिगको बिलबाओमा भएको फाइनलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई हराएको थियो ।
‘म त असाध्यै धेरै दबाबमा थिएँ, म यसलाई कुनै पनि मूल्यमा जित्न चाहन्थें,’ सनले भने । उनी थप्छन्, ‘पछिल्लो सात दिन त मैले यही खेलको मात्र सपना बुनिरहेको थिएँ । अन्ततः यो पूरा भएको छ । अब म आरामले सुत्न सक्छु ।’
एक साताअगाडि मात्र सनले टोटनहमका पूर्व साथी ह्यारी केनलाई पहिलो उपाधिका लागि बधाई दिएका थिए । स्पर्स छाडेर बायर्न म्युनिक गएका केनले पनि खेलजीवनकै पहिलो उपाधिका रूपमा बुन्डेसलिगा जितेका थिए । यसअघि दुवै टोटनहममा सँगै खेल्थे ।
उनीहरूको जोडी प्रिमियर लिगमै सबैभन्दा आक्रामक थियो । एकले अर्कोका लागि गोलको अवसर सिर्जना गर्थे । यस्तो जोडी प्रिमियर लिगमा थिएन । पहिलो उपाधि जित्न केनलाई टोटनहम मै छाड्नुपर्यो । सन टोटनहममै रहे र यहीं बसेर उपाधि पनि जिते । सन् २००८ यता टोटनहमले जितेको यो नै पहिलो उपाधि थियो । ‘अब भने म लिजेन्ड भएँ कि ? पक्कै पनि भएँ । तर आजै मात्र भएँ,’ सनको भनाइ थियो, ‘पछिल्लो १७ वर्षमा यस्तो काम कसैले गर्न सकेको थिएन ।’
‘तर अहिले भएको छ, त्यसैले मैले अब आफूलाई लिजेन्ड भन्न सक्छु । यो समय भनेको यसमै रम्ने र आनन्द मनाउन हो । यसको अनुभव नै बेग्लै तरिकाले बेजोड छ । म यस्तो एउटा उपलब्धिका लागि प्रतीक्षा गरिरहेको थिएँ । आजै हो यो सपना पूरा भएको । अहिलेका लागि यो विश्वमै म जत्तिको खुसी कोही छैनन् होला,’ सनले थपे ।
सन् २०१९ मा सन र केनको जोडीले युरोपेली च्याम्पियन्स लिगको उपाधि गुमाएको थियो । त्यतिबेला एउटा अर्को इंग्लिस क्लबीचको फाइनलमा टोटनहम लिभरपुलसँग हारेको थियो । त्यो खेल टोटनहमका लागि जसले सुरुदेखि खेले, त्यसमध्ये सन मात्रै अहिले क्लबमा छन् । अहिले भर्खरै जसो उनी खुट्टाको चोटमुक्त भएर मैदानमा फर्केका हुन् । युनाइटेडविरुद्धको फाइनलमा पनि उनी ६७ औं मिनेटमा मात्र मैदान प्रवेश गरेका थिए, सब्स्टिच्युट खेलाडीका रूपमा । खेल सकेको ह्विसल बजेपछि सबैभन्दा धेरै खुसीयाली मनाउने उनी थिए ।
पछि उनले आफूलाई दक्षिण कोरियाली झण्डाले पनि बेरे र आफ्ना समर्थकलाई सलाम गरे । टोटनहमका लागि यो सिजन धेरै अर्थमा निराशाजनक नै रह्यो । प्रिमियर लिगमा १७ औं स्थानमा छ । टोलीका लागि अर्को सिजन युरोपमा खेल्नुको एक मात्र अवसर यही फाइनल जितेर मात्र सम्भव हुन्थ्यो । यो कति ठूलो जित थियो भने यसले टोटनहमलाई अर्को सिजनको च्याम्पियन्स लिग खेल्न योग्य बनाएको छ, युरोपेली क्लब फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता ।
‘अहिलेको सिजनलाई पछाडि फर्केर हेर्ने हो भने समस्या नै समस्या देखिन्छ । परिस्थिति निकै नाजुक छ । यस्तै गाह्रो स्थितिमा पनि हामी खेलाडी एकजुट रह्यौं,’ ३२ वर्षीय सनले भने, ‘युवा खेलाडी जति सबैले अगाडि आएर आफूलाई स्थापित गरे । म उनीहरूलाई सधैं सल्लाह दिइरहेको हुन्छु, सधैं सकारात्मक रहनुपर्छ भनेर भन्छु । त्यसैले म आफैलाई निकै भाग्यमानी मान्छु, किनभने मैले यस्ता साथीहरूको बलियो साथ पाएको छु ।’
यो सफलताले एउटा अर्को तथ्य पनि स्थापित गरेको छ । यो हो, साँच्चै दक्षिण कोरियाली फुटबल बलियोचाहिँ छ । उनी कुनै पनि टिमलाई युरोपेली सफलता दिलाउने पहिलो एसियाली कप्तान भएका छन् । टोटनहमको सफलताको खुसीयाली उत्तर लन्डन र बिलबाओमै मात्र सीमित रहेन, यत्तिकै खुसी दक्षिण कोरियामा पनि देख्न पाइएको थियो । दक्षिण कोरियाली फुटबल संघले भनेकै छ, सनको उपलब्धि ऐतिहासिक कोसेढुंगा नै हो ।
सन् २०१५ मा सन बायर लेभरकुजनबाट टोटनहम गएका थिए । सन् २०२१–२०२२ मा उनी प्रिमियर लिगकै उच्च गोलकर्ता थिए । संयुक्त रूपमा लिभरपुलका मोहमद सलाहसँगै । उनीहरूले त्यो सिजन २३–२३ गोल गरेका थिए । चुनछेनमा जन्मेका सनले १६ वर्षकै उमेरमा ह्याम्बर्ग एसभीसँग अनुबन्ध गरेका थिए । सन् २०१० मा बुन्डेसलिगामा डेब्यु पनि गरे । उनले दक्षिण कोरियका लागि सन् २०१४, २०१८ र २०२२ को विश्वकप खेलिसकेका छन् ।
उनले सन् २०१८ को एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण जितेका थिए । एक समय के–पप गायिका बाङ मिन–आ उनको प्रेमिका थिइन् । सन् २०१९ यता पनि उनी एक्लै छन् । कोभिड–१९ संक्रमण महामारीको बेला उनले दक्षिण कोरियाली सेनाको अनिवार्य सेवा पूरा गरेका थिए । त्यो सामान्य सैनिक अभ्यासमात्रै थियो । एसियाली खेलकुदमा जितेको स्वर्णका कारण उनले लामो समय त्यो सेवा भने पूरा गर्नुपरेको थिएन । त्यस सैनिक अभ्यासमा पनि सन उत्कृष्ट पाँचभित्र परेका थिए ।
