इंग्लिस क्लब टोटनहम सन् १९८४ यता पहिलो युरोपेली उपाधिको रूपमा युरोपा कप जित्न सफल
काठमाडौँ — बिलबाओ (एएफपी)– टोटनहमले १७ वर्ष लामो उपाधिविहीन यात्रामा पूर्णविराम लगाएको छ । युरोपा लिग फुटबल जितेपछि टोलीका लागि नयाँ युग सुरु हुन सक्नेछ र त्यसमा अहिलेका प्रशिक्षक एन्गे पोस्टेकोग्लु हुन पनि सक्छन्, नहुन पनि सक्छन् । यी अस्ट्रेलियाली प्रशिक्षकको नेतृत्वमा स्पर्सले सन् १९८४ यता पहिलो युरोपेली उपाधि पनि जितेको छ । भलै, क्लब घरेलु प्रिमियर लिगको १७ औं स्थानमा छ । सन् १९७८ यता घरेलु लिगमा टोटनहमको यो अहिलेसम्मकै सबैभन्दा खराब प्रदर्शन हो ।
त्यतिबेला टोटनहम माथिल्लो डिभिजनमा बढुवा भएको थियो । म्यानचेस्टर युनाइटेडमाथि प्राप्त १–० को जितले टोटनहमलाई आर्थिक रूपमा १३ करोड ४० लाख डलर फाइदा पनि भएको छ । यो अबको सिजन टिम बलियो बनाउन प्रयोग हुनसक्छ । टोलीले अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछ । टोटनहममा अझै केही यस्ता स्थान छन्, जहाँ व्यापक सुधार आवश्यक छ । केही प्रमुख खेलाडीको चोटले पनि दुःख दिएको छ । नतिजामा समग्र प्रदर्शन नै प्रभावित रहेको छ ।
तर टोटनहमका लागि युरोपा लिग सफलतासँगै प्राप्त सबैभन्दा ठूलो उपलब्धि हो, टिमले अब मानसिक रूपमा जित्ने सक्ने आत्मविश्वास बोक्न सक्छ । टोटनहमले अन्तिम पटक केही ठूलो जितेको भनेको सन् २००८ मा हो । त्यतिबेला टोलीले लिग कप जितेको थियो । पोस्टेकोग्लु आफैं मान्छन्, अबको सिजन म आफू हुन पनि सक्छु, नहुन पनि सक्छु, तर अहिले जुन प्रकारको अनुभव खेलाडीले बटुलेका छन्, त्यसले टिमलाई अत्यधिक फाइदा हुनेछ ।
‘कुनै टिमले लामो समयसम्म केही जित्न सकेन भने त्यो समय झन झन लामो हुँदै जान्छ । यो प्रवृत्ति तोड्न निकै गाह्रो हुन्छ,’ प्रशिक्षकले भने, ‘अहिलका लागि धेरैलाई यो सफलताको अर्थ थाहा नहुन सक्छ ।’ उनी के मान्छन् भने टिमका युवा खेलाडीले चाखेको यो सफलताले यस्तो उपलब्धि हात पार्न कति धेरै मिहिनेत गर्नुपर्छ भन्ने प्रस्ट भएको छ । उनी भन्छन्, ‘हामीसँगै अहिले नै निकै प्रतिभाशाली खेलाडी छन् ।’
उनी थप्छन्, ‘अब उनीहरूसँग यस्तै सफलता कसरी हात पार्ने हो भनेर कुराकानी गर्न सकिन्छ । मलाई पूरा विश्वास छ, अहिलेको सफलताले सबै खेलाडीलाई अझ बढी मिहिनेत गर्न र यस्तै सफलता दोहोर्याउन प्रेरित गर्नेछ । यसका लागि सबै खेलाडीले त्याग गर्न सक्नुपर्छ । खेलाडीले अहिले सफलतापूर्वक पहाड चढेका छन् । तिनलाई थाहा भएको छ, पहाड कसरी चढ्ने भनेर । यसले टिमलाई अझ बलियो बनाउन मदत गर्नेछ । यो क्रम आउने वर्षमा पनि कायम राख्नुपर्छ ।’
युनाइटेडलाई गाह्रो
पराजित म्यानचेस्टर युनाइटेडका लागि भने यो नतिजाले टोलीलाई अँध्यारो भविष्यतर्फ धकल्ने सक्नेछ । युनाइटेडसामु अर्को सिजन युरोपेली फुटबल हुने छैन । त्यसमाथि लिगमा टोलीको प्रदर्शन क्लब इतिहासमै ५ दशकयता सबैभन्दा खराब छ । रुबेन एमोरिमको टिमले खराब घरेलु प्रदर्शनलाई ओझेलमा पार्दै बिलबाओमा सफलता हात पार्ने योजना बनाएको छ । तर, अन्त्यमा युनाइटेडको हातमा केही पनि नभएर शून्य परेको छ, यसै सिजन मात्रै टोटनहमले टोलीलाई लगातार चौथोपल्ट पराजित गरेको हो ।
टोटनहमको जितमा निर्णायक गोल ब्रेनन जोन्सनको नाममा रह्यो । यो गोल पनि युनाइटेडकै खराब प्रदर्शनले सम्भव भएको थियो । यो गोल आफैंले पूरा सिजन युनाइटेडको प्रदर्शन कस्तो रह्यो, त्यो छर्लङ्ग पार्छ । सर एलेक्स फर्गुसन प्रशिक्षक छँदा सफलताको शिखरमा पुगेको युनाइटेड इंग्लिस फुटबलको मात्र नभएर युरोपकै शक्ति थियो, तर अहिले झरेर भुईंमै खसेको छ । सन् २०१४/०१५ यता पहिलो पटक युनाइटेडले अबको सिजन युरोपमा खेल्ने छैन ।
यो यस्तो बेला सत्य साबित भएको छ, जतिबेला प्रिमियर लिगमा ६ टिमले अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछन् । नोभेम्बरमा एरिक टेन ह्यागबाट एमोरिमले टिम सम्हाल्ने अवसर पाएका थिए । स्पोर्टिङ लिस्वन छाडेर उनी युनाइटेड आएका थिए र उनीमाथि ठूलो विश्वास थियो । तर उनले टिमलाई माथि उकास्न सकेनन् । टिम अंकतालिकाको १६ औं स्थानमा छ । टोलीसँग ६ जितमात्र छ । त्यसबाट टोलीले बटुलेको अंक भनेकै ३९ मात्रै हो ।
यो सिजन युनाइटेडले सबैखाले प्रतियोगितामा गरेर २१ हार आत्मसात् गरेको छ । सन् १९७३/१९७४ यता यो युनाइटेडको सबैभन्दा खराब प्रदर्शन हा । त्यतिबेला युनाइटेड २२ खेलमा पराजित भएको थियो र रेलिगेसनमा समेत परेको थियो । युरोपा लिगमा अगाडि बढ्दै गएपछि प्रशिक्षक एमोरिमले प्रिमियर लिग छाडेर यसलाई मात्र महत्त्व दिन थालेका थिए । तर युनाइटेडविरुद्धको फाइनलमा युनाइटेडको कमजोरी मात्रै खुलेन, एउटा असाध्यै खराब सिजनले पूर्णता पाएको छ ।
