लुम्बिनी प्रदेशस्तरीय क्रिकेट सुरु : रुपन्देहीलाई २७१ रनको फराकिलो जित

जेष्ठ ९, २०८२

कान्तिपुर संवाददाता

Lumbini state level cricket starts: Rupandehi wins by 271 runs

तिलोत्तमा — रुपन्देहीमा शुक्रबारदेखि लिला सेन्चुरी मेमोरियल लुम्बिनी प्रदेशस्तरीय यू–१६ छनोट क्रिकेट प्रतियोगिता सुरु भएको छ । खेलअन्तर्गत पहिलो खेलमा रुपन्देहीले पश्चिम नवलपरासीलाई २ सय ७१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ३५ ओभरको खेलमा ३३.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर ३ सय १६ रनको स्कोर खडा गरेको थियो । रुपन्देहीका लागि कप्तान समीर अली मुसलमानले शतकीय इनिङ खेल्दै १ सय १८ रन बनाएका थिए । त्यस्तै, सिद्धार्थ ढकालले ५५ रन, आरिफ खानले ४३ रन र रोजन कुमालले ३८ रनको उल्लेखनीय योगदान दिएका थिए ।

प्रतिउत्तरमा ३ सय १७ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको नवलपरासीको टोली फितलो प्रदर्शन गर्दै केवल १६ ओभरमै ४५ रनमा सीमित हुन पुगेको थियो । नवलपरासीका प्रेम सागर यादवले १३ रन र आरोन जङ गिरीले १२ रनको योगदान दिएका थिए ।

बलिङतर्फ नवलपरासीका विष्णु थाथरले ४ विकेट, पञ्चङ मिश्रा र सगर पाण्डेले २/२ विकेट तथा आर्यन अलीले १ विकेट लिएका थिए । रुपन्देहीका लागि लक्ष्मण कुमाल, प्रिन्स पाल र तुषार चौहानले २/२ विकेट तथा सोहेब हसन मुसलमान र सुप्रीम कंडेलले १/१ विकेट लिएका थिए ।

खेलको प्लेयर अफ द म्याच रुपन्देहीका समीर अली मुसलमान घोषित भएका थिए । शनिबारको खेलमा पाल्पा र कपिलवस्तुबीच प्रतिस्पर्धा हुने जानकारी प्रतियोगिता संयोजक प्रथम पराजुलीले दिएका छन् ।

यसअघि खेलको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाकी उप–प्रमुख उमा अधिकारीले क्रिकेट खेलमा नेपाली खेलाडीले राम्रो प्रदर्शन गरिरहेका कारण थप लगानी र खेलाडी उत्पादन आवश्यक रहेको बताएकी थिइन् । उनले क्रिकेटको हब बन्दै गएको लुम्बिनी प्रदेशले सम्भावना बोकेका धेरै खेलाडी उत्पादन गर्ने र देशका लागि खेल्ने विश्वास लिएको उल्लेख गरेकी थिइन् ।

कान्तिपुर

Link copied successfully