मुम्बई — मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । मुम्बईले बुधबार निर्णायक खेलमा दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गर्यो । १३ खेलमा मुम्बईको १६ अंक भएको छ । १ खेल खेल्न बाँकी रहेको अवसमा मुम्बईले दिल्लीलाई ३ अंकले पछाडि पारेको छ ।
गुजरात टाइटन्स १८ तथा रोयल च्यालेन्जर्स बेङलुरु (आरसीबी) र पञ्जाब किंग्स समान १७ अंक बटुल्दै यसअघि नै प्लेअफमा पक्का भइसकेका छन् ।
सूर्यकुमार यादवले ४३ बलमा अविजित ७३ रन बनाएपछि पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ८० रन बनायो । सूर्यकुमार र नमन धीरले अन्तिम २ ओभरमा ४८ रन जोडे । सूर्यकुमारले ७ चौका र ४ छक्का तथा धीरले ८ बल खेली समान २ चौका र छक्का प्रहार गरी अविजित २४ रन बनाए ।
जबाफमा आएको दिल्ली १८.२ ओभरमा १ सय २१ रनमा अलआउट भयो । मिचेल सान्टनर र जस्प्रित बुमराहले ३–३ विकेट लिए । दिल्लीबाट समीर रिज्भीले ३५ बलमा ६ चौका र १ छक्का प्रहार गरी ३९ तथा विपराज निगमले २० रन बनाए ।
